
३ असोज, सुर्खेत । जेनजी प्रदर्शन उग्र बनेपछि नेपाली सेनाको सुरक्षामा बसेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल नियमित गतिविधिमा फर्किएका छन् । नियमित गतिविधिमा फर्के पनि उनीमा जेनजी विद्रोहप्रतिको आक्रोश साम्य भएको देखिंदैन ।
आइतबार पत्रकार सम्मेलन गरेरै जेनजी विद्रोहप्रति उनले खिसीट्यूरी गरे । ‘एउटा सुसंगठित र प्रशिक्षित पार्टीले शासन सत्ता चलाउँदा त यो हालत छ । भद्रकालीमा प्रधानमन्त्री हुने मान्छे को हो ? भनेर बोलाएर, छलफल गरेर शासन चल्छ ?’ उनको तर्क थियो ।
जेनजी आन्दोलनको पहिलो दिन नै मुख्यमन्त्रीको कार्यालय निशानामा परेको थियो । २३ भदौको आन्दोलनमा मुख्यमन्त्री कार्यालय अगाडि करिब २ घण्टा प्रदर्शन गरेका थिए । प्रर्दशनकारीहरुले भदौ २४ गते सुरुमै हटियास्थित एमाले जिल्ला र प्रदेश कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
प्रदर्शनकारीले पार्टी कार्यालयहरू, सरकारी कार्यालयहरू र नेताहरूका व्यक्तिगत घरहरूमा एकपछि अर्को गर्दै तोडफोड, लुटपाट र आगजनी गरिरहेका थिए । आन्दोलन उग्र बनेपछि मुख्यमन्त्री कँडेल सहित केही नेताहरू सेनाको कपासे ब्यारेकमा गएर सुरक्षित बसे ।
आन्दोलन शान्त भएपछि मुख्यमन्त्री कँडेलले शनिबार र आइतबार क्षति भएका संरचनाहरूको निरीक्षण गरे । वीरेन्द्रनगर–४, भैरवस्थानमा रहेको निजी निवासमा पुगे, जहाँ उनका ९० वर्षीय बुबा मणिराम कँडेल बस्दै आएका छन् । आगजनीको दिन संयोगले घर बाहिर निस्किएकाले बुबा सुरक्षित छन् ।
मुख्यमन्त्री कँडेल ध्वस्त भएको आफ्नो घरको आँगनमा पुग्दा उनका पिता मणिरामले छोरालाई अँगालो हालेर रोए । कँडेलले ढाडस दिँदै भने, ‘बुबा, तपाईंको छोराले गल्ती गरेको छैन, कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि यस्तो हुन्छ ।’ जलेको घर र बुबासँगको भेटपछि मुख्यमन्त्री कँडेलले पत्रकार सम्मेलन गरे ।
‘२४ गते अज्ञात समूहले मेरो घर तोडफोड, आगजनी र लुटपाट गरेको छ । क्षतिको मूल्याङ्कन र कारबाहीका लागि अनुरोध गर्दै व्यक्तिगत रूपमा निवेदन दर्ता गर्दै छु’, उनले भनेका थिए । घर आफ्नै नाममा रहेकाले आफूले नै निवेदन दर्ता गर्न लाएको उनले बताए ।
जेनजी आन्दोलनलाई प्रयोग गरी केही व्यक्ति तथा समूहले प्रतिशोध साध्ने काम गरेको उनले आरोप समेत लगाए । आन्दोलनकारीको वास्तविक उद्देश्य थाहा नभए पनि व्यावसायिक लाभका लागि केही तत्व सक्रिय देखिएको उनको दाबी छ ।
देशैभर पार्टी र सबै खाले संरचनाहरूमा रिर्फमको कुरा चलिरहेका बेला मुख्यमन्त्री कँडेलले भने तीन ठुला पार्टी मिलेर जेनजीहरुलाई ठेगान लगाउन सकिने तर्क गरिरहेका छन् । ‘अहिले पनि सचेत जनमतको ठूलो हिस्सा तीन ठुला पार्टीले नै प्रनिधित्व गर्छन् । तीन पार्टी फेरि मिल्नु पर्ने बेला आएको छ,’ कँडेलले भने, ‘त्यसरी मिल्यो भने यी जेनजी भन्नेहरू सुर्खेतमा वा कर्णालीमा देखिएकाहरू कोही पनि देखिंदैन् ।’
जेनजी प्रदर्शनका क्रममा भदौ २३ मा १९ जना युवाहरूको ज्यान गएको थियो । ‘बिचरा सरकारको सावधानी पुगेन वा पूर्वानुमान भएन । तर ती विद्यार्थी भाइबहिनीहरूलाई उमेरका नाममा प्रयोग गरियो । भावना कट्काइयो’, पत्रकार सम्मेलनमै उनले भने ।
लुटपाट गर्नेलाई कारबाही गर्न निर्देशन
जेनजीको आन्दोलनपछि उत्पन्न अवस्थाबारे मुख्यमन्त्री कँडेलले प्रदेशस्थित सुरक्षा निकायहरूसँग छलफल गरेका छन् । छलफलमा कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेको बताए । यस्तो अवस्थामा सबैलाई आश्वस्त पार्ने गरी काम गर्न चार वटै सुरक्षा निकायलाई आग्रह समेत गरे ।
उनले आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझै पनि भयवित रहेकोले जनजीवन सामान्यकृत बनाउने तर्फ गतिविधि सञ्चालन गर्न सुरक्षा निकायलाई निर्देशन दिए । ‘आन्दोलनमा भएका हिंसात्मक कामहरूको अनुसन्धान र कारबाहीका कामहरू हुन्छन् नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन् । यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईंहरू लाग्नुस्,’ कँडेलले भने ।

मुख्यमन्त्री कँडेलले यति बेला आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा संयम र धैर्यताको खाँचो भएकोले सुरक्षाकर्मी संयमका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । कँडेलले आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेरै अनुसन्धान गर्न समेत आग्रह गरे । ‘आवश्यक अनुसन्धान र कानुनबमोजिम कारबाही गर्न तपाईंहरुलाई माथिको आदेश पर्खनु पर्दैन, पूर्वाग्रह नराखेर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुस्,’ उनले भने ।
कँडेलले भदौ ३१ गते उत्पन्न पछिल्लो अवस्थाबारे प्रदेशस्थित सुरक्षा निकायहरूसँग छलफल गरेका थिए । उनले शान्तिपूर्ण प्रदर्शन बाहेक हिंसात्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिन नसकेको सुरक्षा निकायसँग गुनासो गरेको थिए । माथिल्लो तहको आदेशको अन्योलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए । ‘नहुनुपर्ने क्षति भयो, सीमित जनशक्तिले आफ्नो मिहिनेतले थप क्षति रोक्नु पनि भयो । तर जसले तपाईंहरुलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्व छाडेपछि तपाईँहरूको नियन्त्रणमा रहेन,’ उनले भने ।
‘व्यवस्था मासिँदैछ, सचेत बनौं’
मुख्यमन्त्री कँडेलले जेनजीलाई देखाएर व्यवस्था नै मासिन् लागेको भन्दै सचेत बन्न आग्रह गरे । आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सिङ्गो देश र व्यवस्थाविरुद्ध भएको निष्कर्ष सुनाए । एमाले सुर्खेतले आयोजना गएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन र त्यसयता विकसित घटनाक्रमले त्यो पुष्टि गरेको बताए ।
उनले जेनजी आन्दोलन कांग्रेस–एमाले गठबन्धनको सरकारविरुद्ध थियो भनेर बुझ्न थालिए धेरै उपलब्धि गुम्दै जाने दाबी समेत गरे । ‘दलका कार्यालय, सरकारी कार्यालय, नेताका घर मात्र जलेका छैनन्, संविधानको धारा मिचिए,’ मुख्यमन्त्री कँडेलले भने, ‘अब पनि होसियार नबने मुलुकको अस्तित्व नै सङ्कटमा पर्दै जानेछ ।’
एमाले स्थायी कमिटी सदस्य कँडेलले पार्टी कमिटी, पार्टी सदस्यलाई मुलुकमा उत्पन्न परिस्थितिबारे बुझाउन समेत नेताहरूलाई आग्रह गरे । आन्दोलन अघि यो त सरकारविरुद्धको प्रदर्शन हो भनेर केही दल र केही नेता चुप लाग्दा प्रतिगामी तत्वले तिनीहरूलाई समेत नछोडेको दृष्टान्त प्रस्तुत गरे ।
कँडेलले २०७२ को संविधान अर्धमुर्छित अवस्थामा पुगिसकेको टिप्पणी गरे । ‘सामान्य अवस्थामा हुन्थ्यो भने अदालतले ब्युँझाउन सक्थ्यो । तर आज अदालतले के गर्छ भन्न सकिने अवस्था छैन’ कँडेलले भने, ‘बरु हामी आफ्ना कमी–कमजोरी सच्याउनतर्फ ध्यान दिऔँ । जनविश्वास जित्न आआफ्नो ठाउँबाट राम्रो काम गरौँ ।’
‘आन्दोलनले प्रदेश गति रोकिँदैन’
मुख्यमन्त्री कँडेलले पदमा रहुन्जेल जिम्मेवारीबाट नभाग्ने भन्दै प्रदेशका नियमित काम–कारबाहीमा विलम्ब नगर्ने बताए । उनले यथाशीघ्र क्षतिग्रस्त संरचनाको व्यवस्थापन गरिने बताएका छन् । ‘प्रदेशसभा र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय पूर्ण रूपमा क्षति भएको पाइयो, अरू कार्यालयमा छिटपुट क्षति भएको रहेछ, ती कार्यालयको व्यवस्थापनका सम्बन्धमा योजना पेस गर्न प्रमुख सचिवलाई निर्देशन दिइएको छ,’ उनले भने ।
जेनजी आन्दोलनलाई देखाएर बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न समेत प्रदेशका सचिवहरूलाई निर्देशन दिइसकेको मुख्यमन्त्री कँडेलले बताएका छन् । परिस्थिति साम्य भएसँगै प्रदेश सरकारका मन्त्रीहरू समेत प्रदेश राजधानी फर्कन थालेको बताए ।
मुख्यमन्त्री कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरू उल्टाउन लागिरहेकाले नागरिक सचेत हुनुपर्ने बताउन थालेका छन् । अहिलेको राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएकाले नागरिक स्तरबाटै सबै जना सचेत हुनुपर्नेमा उनले जोड दिए ।
मङ्गलवार वीरेन्द्रनगरमा एमाले नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै कँडेलले संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको दाबी गरे । ‘संविधान आज धरापमा परेको छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ’, उनले भने ।
उनले सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरू कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको टिप्पणी गरे । कँडेलले कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र सङ्गठनलाई बलियो बनाउन आह्वान समेत गरे ।
प्रतिक्रिया 4