
एक जुगमा एक दिन एक चोटि आउँछ
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ
गोपालप्रसाद रिमालद्वारा रचित यो गीत यसपटक पनि सडकमा निकै घन्कियो। विशेषत: भदौ २३ गते। समाजको पछिल्लो पुस्ता आफ्ना माग लिएर शान्तिपूर्वक सडकमा भेला भएको थियो। सुशासन र संविधानका केही प्रावधान बदल्ने मनसायले यही गीत घन्काइरहेको थियो। तर, राज्यले बर्बर आतंक मच्चायो र २१ भन्दा बढी अबोध किशोर र युवाको हत्या गर्यो। अन्य सयौंमाथि गोली बर्साइयो।
सरकारले २३ भदौमा यसरी आन्दोलन दबायो, उसलाई लाग्यो अब जेनजी पुस्ताको आवाज बन्द भयो। तर, २४ गते अकल्पनीय बनेर आयो। प्रदर्शनकारीले राजधानी कब्जामा लिए। कलिला किशोर र युवाको आन्दोलनमा घुसपैठ गरी आततायीहरुले आगजनीका बर्बर घटना गराए। म पछिल्लो समयमा नेपालमा भएको यही जेनजी आन्दोलन, दुर्भाग्यपूर्ण आगजनी र यसबाट सृजित नेपालको अनिश्चित भविष्य तथा अन्योलबारे लेख्दैछु। किनकि, यति ठूलो परिघटनालाई म कसरी टुलुटुलु हेरीबसूँ ? म मणि हराएको भिल्लहरूको देशबाट यी हरफहरू कोरिरहेको छु, जुन प्रत्येक सचेत नेपालीले हृदयदेखि नै हृदयंगम गर्नैपर्नेछ।
नेपालको इतिहासमा एक राजा थिए महिन्द्र मल्ल जो दैनिक आफ्नो दरबारको कौशीबाट चियाउने गर्दथे कि जनताको घरमा चुल्हो बल्यो कि बलेन? घरको छतबाट धुँवा निस्कियो कि निस्किएन? त्यसपछि मात्र उनी भोजन ग्रहण गर्दथे। महिन्द्र मल्ल कान्तिपुर राज्यका राजा थिए। नेपालको इतिहासमा प्रजावत्सल मल्ल राजाको रूपमा उनलाई चिन्ने गरिएको छ।
त्यो इतिहास रहेको देशको वर्तमान सरकारले कथित मानव तस्कर र सङ्गठित अपराधको कुबाटो रोज्यो। नेताहरू पथभ्रष्ट हुँदै गए। चरम भ्रष्टचारले सीमा नै नाघ्यो। जनताले नेताहरूलाई पटक–पटक खबरदारी गरेकै हुन्, कहिले सामाजिक सञ्जाल, कहिले साङ्केतिक विरोध त कहिले सडक आन्दोलन मार्फत। तर सरकार कानमा तेल हालेर बस्यो। जनताको माग र खबरदारीलाई नजरअन्दाज गरियो। हुक्का तानेको सम्झियो। उखान र टुक्कामा सीमित गरियो। जसले गर्दा जनताको मुक्का (रामधुलाइ) खाने दिन आयो।
नेपालमा यो दिन पक्कै आउनु नै थियो, आयो पनि। एउटा आम भनाइ नै छ- अति गर्नु, अत्याचार नगर्नु। एक दिन पाप धुरीबाट कराउँछ। नभन्दै पाप धुरीबाट करायो/कराएरै छाड्यो। देशले एउटा जंगबहादुरको माग गरेको थियो। समयले साथ दिएको पनि थियो तर यसपालि पनि त्यो अभीष्ट पूरा हुन सकेन। राजसंस्था पुनर्स्थापना गरी नेपाली सेनाको अभिभावकत्वमा जेन्जी युवाहरूको आवाजलाई यथाशक्य सम्बोधन गर्न सकेको भए नेपालका सारा समस्याहरू एक झट्कामै समाप्त हुनेथिए। तर भइदियो उल्टो। जसका कारण समस्या ज्यूँका त्यूँ रहने भए।
यद्यपि देश विदेशीहरूको ठाडो हस्तक्षेप र चङ्गुलबाट भने बच्यो। यतिबेला कैयौं बौद्धिक बुज्रुक, राजनीतिक दल र तिनका मतियार तथा अवसरवादीहरू सलबलाइरहेका छन्। फँडा उठाउँदै छन्। विना लज्जाबोध शिर उठाउने प्रयत्न गर्दैछन्। मानौं सिनो लुछ्न नपाएर गिद्ध, स्याल, हुँडार र ब्वाँसाहरू जसरी र्याल काढ्दछन् वा मुख बाउँछन्। यस्तो लाग्दछ- तिनीहरूको अझै धीत मरेको छैन।
समाजमा सधैं एउटा असल नेताको खोजी भइरहन्छ। इतिहास र समयले असल मान्छेको खोजी आफैं गर्दछ। यसैक्रममा सुशीला कार्की नेपालको पहिलो प्रधानन्यायाधीश मात्र बनिनन् अन्तरिम सरकारको बागडोर सम्हाल्ने नेपालकै प्रथम महिला प्रधानमन्त्री बन्न सफल भइन्। यो उपलब्धिबीच मुलुकले धेरै ठूलो क्षति व्यहोर्यो। इतिहासको लामो विरासत बोकेका सिंहदरबार, संसद् भवन र न्यायालय एकैसाथ जले। ती जलेको देखेर पनि कैयौंले आनन्द लुटे। सेल्फी खिचे। कैयौंले रमिता हेरिरहे, टुटुटुलु। हजारौं मानिसहरूको आँखा अगाडि ती ऐतिहासिक भवन निरीह बन्दै जले र क्षणभरमै खरानी भए। जसरी एउटा ज्यूँदो मानिस इँटाभट्टीमा जल्न विवश हुन्छ। म यति मात्र भन्न सक्दछु कि यो कृत्यका साक्षी ती खलनायकहरूलाई अवश्य नै थाहा होला ज-जसले निर्ममतापूर्वक आँगो झोसे। प्रतिशोधको भावनाले अभिप्रेरित भौतिक संरचनामाथिको तामसिक आक्रमण र आगजनी गर्नमा अभ्यस्त तिनका हातहरूलाई कसरी नेपाली हात भन्नु! अब इतिहास र बीभत्स सिंहदरबारको आँशुले तिनलाई माफ गर्ला र?
आन्दोलनका क्रममा देशभरका महत्वपूर्ण सरकारी तथा गैरसरकारी भवनहरू लगायत निजी घर, उद्योग तथा अन्य संघ–संस्थाहरू समेत चरम घुसपैठको शिकार भए। यसले के स्पष्ट सङ्केत गर्दछ भने नेपथ्यमा एउटा अदृश्य गिरोह सक्रिय छ जसले शृंखलाबद्ध रूपमा षड्यन्त्रको तानाबाना बुनिरहेको छ र हरिण जाल ओछ्याएर नेपाल र नेपालको अस्तित्व नै समाप्त पार्न चाहन्छ। उसले नेपालको राष्ट्रिय एकता र स्वाभिमानरूपी गोलामा लुकेर बारम्बार ढुंगा प्रहार गरिरहेको छ। सामाजिक सञ्जाल मार्फत स्वार्थको सुरुङ विस्तार गरिरहेको छ। तर हामी आपसमा लडेर मरिरहेका छौं। आफ्नै देशको सम्पत्ति तोडफोड गरिरहेका छौं। आफ्नै घरमा आगो झोसेर खरानी तापिरहेका छौं। योभन्दा ठूलो वीरता प्रदर्शन अरू के हुन सक्दछ? जेनजी युवाहरूको बलिदान, निष्ठा र भ्रष्टचारमुक्त समाजको परिकल्पना सराहनीय छ, जसको कारण वर्षौंदेखि जनताको दु:ख, पसिना र आलो रगत चुसेर बाँचेका परजीवीहरूको सातो गयो। ती भागाभाग भए। तर, तिनले पुन: टाउको उठाउन खोज्दैछन्। ती पथभ्रष्ट नेताहरूबाट मुलुकलाई मुक्त गर्न अझै ढुक्क भएर बस्ने बेला आइसकेको छैन। सबै सजग हुन जरूरी छ ।
प्रतिक्रिया 4