३ असोज, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा आन्दोलनको मर्म र भावनाको सम्बोधन पनि संविधानभित्रै रहेर गर्नुपर्नेमा जोड दिएका छन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन तथा अन्तरिम सरकारको गठनको प्रसंगले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुन: पुष्टि गरेको उनको सन्देशमा उल्लेख छ ।
मौलिक हकहरूको अक्षरश: कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् ।
संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न ती प्रयासहरू निर्णायक हुने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भनेका छन्, ‘नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो, यो दस्तावेजले हाम्रो राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसालेको छ ।’
‘संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ, यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ’, उनले भनेका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू र पछिल्लो समय ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूप्रति श्रद्धाञ्जली, घाइते तथा अंगभंग भएकाहरूप्रति सम्मान र परिवर्तनका अग्रदूतहरूप्रति प्रशंसा प्रकट गरेका छन् ।
प्रतिक्रिया 4