+
+
Shares

सुपथ मूल्य पसल : उपभोक्तालाई राहत, दिनहुँ सवा करोडको कारोबार

चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको देखिन्छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असोज ३ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले दशैं, तिहार र छठ पर्वका लागि देशभरि १ सय ११ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसल सञ्चालन गरेको छ।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दैनिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै उपभोक्तालाई चामल, दाल, तेलमा छुटसहित सामान उपलब्ध गराइरहेको छ।
  • साल्ट ट्रेडिङ कर्पोरेसनले ४० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दै नुन, चिनी, दाल र तेलमा छुट उपलब्ध गराएको छ।

३ असोज, काठमाडौं । बिहीबार बिहान साढे ११ बजेतिर काठमाडौं तारकेश्वरका शिव घिमिरे थापाथलीस्थित खाद्य तथा व्यापार कम्पनी लिमिटेडको सुपथ मूल्य पसलमा खाद्यान्न मूल्यसूची हेर्दै थिए ।

‘बाहिरभन्दा मूल्य त कम रहेछ, सामान लैजान ठूलो झोला चाहिँ ल्याउन भुलेछु,’ उनले भने । त्यहाँ नजिकै रहेकी कम्पनीकी अधिकृत ज्योति नेपालीले भनिन्, ‘सामान लैजाने झोला यहीँ पाइन्छ ।’

छुट मूल्यमा दैनिक आवश्यक सामान किन्न २ वटा गाडी फेरेर ४० रुपैयाँ भाडा खर्च गर्दै यहाँ आएको घिमिरेले बताए ।

‘मलाई अलि बढी नै सामान लैजानु पर्ने छ, छुटमा पाइने भनेपछि टाढाबाटै भए पनि यहाँसम्म आएको,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘चामल, चिनी, तेल र चिउरा लैजान्छु ।’

सोही पसलमा भेटिएकी सर्जिना गौतमले चाडबाडमा सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउनु उपभोक्ताका लागि राहतको विषय भएको बताइन् ।

‘सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलको प्रतीक्षा नै रहन्छ,’ उनले भनिन्, ‘वर्षैपिच्छे मैले दसैंतिहारमा यही पसलबाट सामान लैजान्छु । चाडबाडमा बाहिर दैनिक उपभोग्य वस्तु किन्दा चर्को मूल्य तिर्नुपर्छ । यहाँ किन्दा धेरै नै राहत मिल्छ ।’

अघिल्लो वर्ष पनि उनले खाद्यको सुपथ मूल्य पसलबाट बासमती चामल लगेकी थिइन् । यसपालि पनि सोही चामल लिन आएको बताइन् । बासमती चामलमा किलोको १० रुपैयाँ छुट दिइएको छ ।

अरू बेला महँगीको मारमा परेका र उपभोक्ता चाडबाडका समयमा सहुलियत पाइने भन्दै टाढा–टाढादेखि सुपथ मूल्य पसल पुग्ने गर्छन् । यस्ता पसलमा चामल, चिनी, दाल, तेल, चिउरा, आटाजस्ता खाद्यान्नमा उपभोक्ताको विशेष आकर्षण रहन्छ ।

चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको देखिन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले ३० भदौदेखि देशभरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् ।

दशैं, तिहार र छठ पर्वका लागि देशभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थान र साल्ट ट्रेडिङले न्यूनतम ४० स्थानमा बिक्री स्थल राख्ने छ । डीडीसीले उपत्यकामा २ वटा र उपत्यका बाहिर भएका प्रत्येक आयोजनाबाट छुट दिइएको जनाएको छ ।

बढ्दैछन् उपभोक्ता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री शाखा प्रमुख भीमबहादुर थापा सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको र दैनिक संख्या पनि बढ्दै गएको बताउँछन् ।

उनका अनुसार कम्पनीले देशव्यापी दैनिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ ।  ‘बिहीबार साँझसम्म कम्पनीको व्यापार १ करोड १३ लाख पुगिसकेको छ,’ उनले भने, ‘कारोबार बढ्दो गतिमा छ ।’

उनले कम्पनीको आपूर्ति व्यवस्थामा सुधार आएको र दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्ने क्रम जारी रहेको बताए ।

आपूर्ति र वितरणमा सुधार

केही समयअघि देशमा देखिएको विषम परिस्थिति र पश्चिमी क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण आपूर्ति प्रणालीमा केही चुनौती आएको थापाको भनाइ छ ।

‘विषम परिस्थितिका कारण दुर्गममा पुग्न अलि कठिन भयो,’ उनले भने, ‘सदरमुकाममा त सेवा सहज छ, त्यसबाहेक ठाउँमा पुर्‍याउन पनि हाम्रो प्रयास जारी छ ।’

कम्पनीले आसन्न दशैंसम्म धेरै ठाउँमा नियमित सेवा सुचारु गर्ने लक्ष्य लिएको छ । ‘दशैंसम्म अझ धेरै ठाउँमा पसल खुलिसक्छ,’ उनले भने ।

बिदाका दिनमा पनि सेवा निरन्तर

आगामी सार्वजनिक बिदाका दिनहरूमा समेत कम्पनीले आफ्नो सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

‘संविधान दिवस र शनिबार सार्वजनिक भए पनि हाम्रो बिदा हुँदैन,’ बिक्री प्रमुख थापाले भने, ‘हामी कन्टिन्यु चलाउँछौं ।’

कम्पनीले देशभरिको सुपथ मूल्य पसलका अवस्थाको नियमित अनुगमन गरिरहेको र सोही अनुसार आवश्यक व्यवस्थापन गरिरहेको थापाले बताए ।

‘हामी यहीँ बसिरहेका छौं, तर कुन ठाउँ कस्तो छ, कुन पसलमा सामान पुग्यो, पुगेन हेरिरहेका हुन्छौं,’ थापाले भने, ‘हाम्रो अनुगमन प्रणाली निरन्तर काम गरिरहेको छ ।’

थापाथलीको सुपथ मूल्य पसलमा दैनिक ११ लाखको कारोबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयका सहायक विभागीय प्रबन्धक तथा सूचना अधिकारी ज्ञानु थापाले सहुलियत पसलको तामझाम सहित सुरुवात नगरे पनि चौथो दिनसम्म आइपुग्दा उपभोक्ता संख्या दैनिक बढ्दै गएको बताइन् ।

‘अहिलेको विषम परिस्थितिले गर्दा पहिले जस्तो औपचारिक कार्यक्रम नगरी पनि उपभोक्तालाई सूसुचित गराइएको छ,’ थापाले भनिन्, ‘बजारभन्दा सस्तो र गुणस्तरीय सामग्रीहरू पाइने भएकाले हरेक वर्ष चाडपर्वमा सहुलियत मूल्य पसल खुल्ने छ भन्दै उपभोक्ताहरू प्रतीक्षामा बस्ने गरेका छन् । यहाँ आउने उपभोक्ताले भने जस्तै र खोजे जस्तै सामान छुटमा पाइएको प्रतिक्रिया दिएका छन् ।’

उत्साहजनक व्यापार र उपभोक्ता विश्वास

हालको परिस्थिति पहिलेजस्तो उत्साहजनक नभए पनि नकारात्मक भन्न नमिल्ने थापाको भनाइ छ । कार्यालयबाट दैनिक १० देखि ११ लाखसम्मको व्यापार भइरहेको उनले बताइन् ।

चाडपर्वमा बाहिरी बजारमा खाद्यान्नको मूल्य आकाशिन सक्ने भएकाले मूल्य स्थिरीकरण गर्न यस पसलले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

उनका अनुसार दैनिक २ सयदेखि ३ सय उपभोक्ता पसलमा आउने गरेका छन् । कम्पनीले दाल, चामल, तेल लगायत ५१ थरी वस्तु बिक्री गरिरहेको छ ।

खाद्यका यी सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि सबै खाद्य वस्तुमा आकर्षक छुटको व्यवस्था गरिएको छ । खाद्य कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट छ । यस्तै बासमती र मार्सी चामलमा किलोको १० रुपैयाँ छुट दिइएको छ ।

त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो, चिउरा र मैदामा किलोको ७ रुपैयाँले सस्तो पर्ने छ ।

बढ्दो अनलाइन अर्डर र डेलिभरी सेवा

कम्पनीले आफ्नो अनलाइन पोर्टल नेपालफुड्स डट जीओभी डट एनपीमार्फत पनि सेवा दिइरहेको छ । अनलाइन अर्डर गर्दा पसलमा जस्तै समान मूल्यमा सामान उपलब्ध हुन्छ र डेलिभरी चार्ज पनि नलाग्ने सूचना अधिकारी थापाले बताइन् ।

‘अनलाइनमा आएका अर्डरकोे घर–घरमा सामान पुर्‍याउने व्यवस्था छ,’ उनले भनिन्, ‘अनलाइन डेलिभरीका लागि चार जना कर्मचारी खटिएका छन् र उनीहरूले अहिलेको काम सजिलै भ्याइरहेका छन्, अहिले दैनिक १ लाख रुपैयाँभन्दा बढीको अनलाइन अर्डर आउने गरेको छ ।’

अनलाइन अर्डर न्यूनतम ५ हजारदेखि अधिकतम १५ हजार रुपैयाँसम्मको गर्न सकिन्छ । उनका अनुसार यो सीमा ग्राहकलाई अनुचित रूपमा धेरै सामान किन्नबाट रोक्नका लागि राखिएको हो ।

‘कहिलेकाहीँ एकै व्यक्तिले तीन–चार वटा आईडीबाट धेरै मात्रामा एउटै सामान अर्डर गर्ने गरेका छन्,’ सूचना अधिकारी थापाले भनिन्, ‘यो सामान्य परिवारको आवश्यकता भन्दा बढी हो ।’

डिलर सञ्जाल र विस्तार योजना

कम्पनीसँग डिलर सहकारीहरू पनि जोडिएका छन्, जसले कम्पनीबाट छुटमा कमिसन लिएर आफ्नै मूल्यमा उपभोक्तालाई सामान उपलब्ध गराइरहेका छन् ।  भक्तपुर, कलंकी, कोटेश्वरका डिलरहरूले पनि सहुलियत मूल्यमा नै सामान उपलब्ध गराइरहेका उनले बताइन् ।

काठमाडौं उपत्यकामा कम्पनीका हाल चार वटा आउटलेट छन् । बागमती प्रदेशमा ललितपुर, भक्तपुर, रसुवा र नुवाकोटमा १० वटा आउटलेट खोल्ने लक्ष्य भए पनि देशको पछिल्लो अवस्थाले खोल्न नसकिएको उनले बताइन् ।

परिस्थिति सामान्य भएपछि गोदावरी र नुवाकोटमा पनि क्रमश: सहुलियत मूल्य पसल खोल्ने तयारी रहेको उनको भनाइ छ ।

कम्पनीका काठमाडौंमा उपत्यकामा रहेका सहुलियत पसल बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहन्छ । जसले उपभोक्तालाई कार्यालय समयअघि वा पछि पनि सेवा लिन सहज बनाएको उनको भनाइ छ ।

साल्ट ट्रेडिङका पसलमा पनि भिड

साल्ट ट्रेडिङले पनि दसैं लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको भिड लागेको जनाएको छ । कम्पनीका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार देशभरि करिब ४० वटा यस्ता पसल सञ्चालनमा छन्, जसमध्ये १२ वटा काठमाडौं उपत्यकाभित्र छन् ।

उनले विषम परिस्थितिमा पनि पसल सञ्चालनमा कुनै विशेष कठिनाइ नभएको र विगतका वर्षहरू झैं यस पटक पनि सहज रूपमा सेवा प्रवाह भइरहेको बताए ।

उपभोक्ताले यी पसलबाट विभिन्न खाद्य सामग्रीमा छुट प्राप्त गर्न सक्नेछन् । राजभण्डारीका अनुसार नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी ५ तथा दाल र तेलमा प्रतिकिलो वा प्रतिलिटर ५ देखि ७ रुपैयाँसम्मको छुट दिइएको छ ।

चामलमा भने साल्ट ट्रेडिङले सिधा छुट दिन नपाउने जनाएको छ । चामल सम्बन्धी कारोबारको मुख्य जिम्मेवारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भएकाले कर्पोरेसनले प्रत्यक्ष छुट घोषणा गर्न नसकेको हो ।

यद्यपि, उपभोक्तालाई केही राहत पुर्‍याउन सकेसम्म छुट दिएर चामल बिक्री गर्ने प्रयास भइरहेको सूचना अधिकारी राजभण्डारीको भनाइ छ ।

कम्पनीका बजार प्रबन्धक प्रज्ज्वल प्रधानले काठमाडौं उपत्यकाका बिक्री कक्षहरूबाट पछिल्लो चार दिनमा करिब ८० लाख रुपैयाँ बराबरको कारोबार भएको बताए ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?