
५ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशबाट नेपाल पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश प्रवाह गरेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न १२औं एसियाली पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकाले भ्रमणका लागि आग्रह गरियो ।
२ देखि ४ असोज (१८–२० सेप्टेम्बर) सम्म ढाकास्थित अन्तर्राष्ट्रिय कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा पर्यटन बोर्डले नेपाल पर्यटक स्वागतका लागि पूर्णतया तयार रहेको सन्देश प्रवाह गरेको हो ।
हालैको जेनजी आन्दोलन क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय मेलामा नेपालका पर्यटन व्यावसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो ।
यसले नेपाल सामान्य अवस्थामा फर्किएको र पर्यटकहरूको सुरक्षित स्वागतका लागि तयार रहेको सन्देश बंगलादेशका पर्यटन व्यवसायी र पर्यटकहरूलाई दिइएको छ ।
बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालको पर्यटन उद्योगले विभिन्न चुनौतीबीच पनि छिटो पुनरुत्थान गर्न सक्ने क्षमता रहेको उल्लेख गरे । उनले नेपाल–बंगलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउन पहल भइरहेको बताए ।
सोही मेलामा राखिएको नेपाल स्टलमा ठूलो संख्यामा आगन्तुकहरूको उपस्थिति थियो । स्टल मार्फत सहभागी नेपाली कम्पनीले नयाँ अवसर पहिचान गर्न, पुराना सम्बन्ध नवीकरण गर्न र आफ्ना प्याकेज तथा सेवा प्रस्तुत गरेका थिए ।
कयौँ बंगलादेशी आगन्तुकले हालैको जेनजी आन्दोलनपछिको नेपालको अवस्थाबारे जिज्ञासा राखे पनि उनीहरूले नेपाल छिटो सामान्य अवस्थामा फर्किएको देखेर सन्तुष्टि व्यक्त गरे ।
उनीहरूले बंगलादेशमै विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका छन् । बंगलादेश नेपालका लागि तीव्र रूपमा बढ्दो पर्यटक बजार बन्दै गएको छ ।
सन् २०२४ मा नेपालले करिब ४९ हजार बंगलादेशी पर्यटक स्वागत गरेको थियो भने २०२५ को आठ महिनामै बंगलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।
भौगोलिक निकटता, समान जीवनशैली र बंगलादेशको बढ्दो आर्थिक क्षमता नेपालका लागि ‘अवसर’ साबित भएको छ । यस वर्षको मेलामा आठ विभिन्न देशका १ सय ५० संस्था सहभागी थिए । १ सय ८० स्टल मार्फत पर्यटन सम्बन्धी सेवा र प्याकेजहरू प्रस्तुत गरिएको थियो ।
पर्यटन बोर्डसँगै नेपालका हिमालयन क्लब टुर्स एन्ड ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, द ट्रेक नेपाल, गो नेपाल ट्राभल टुर्स एन्ड ट्रेकिङ सहभागी थिए ।
यसैगरी स्नोवी होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन, क्लासिकल एडभेन्चर नेपाल, हिमालगिरी ट्राभल एन्ड टुर्स, फिमेल गाइड काठमाडौं, काठमाडौं स्विट होम र रेगुलस ट्रेक्स एन्ड एक्सपिडिसन गरी १० कम्पनी सहभागी थिए ।
पर्यटन बोर्डका अनुसार बंगलादेशमा भएको यस सहभागिताले नेपाल सुरक्षित र आतिथ्यताका लागि उपयुक्त गन्तव्य रहेको स्पष्ट सन्देश प्रवाह भएको छ । जसले दुवै देशबीचको पर्यटन सम्बन्ध अझ मजबुत बनाउन सहयोग गर्ने छ ।
प्रतिक्रिया 4