६ असोज, काठमाडौं । सरकारले २३ भदौको जेनजी प्रदर्शनका क्रममा राज्यबाट भएको दमन र भोलिपल्टको आगजनी तथा तोडफोडका घटनाको छानबिन गर्न आइतबार उच्चस्तरीय जाँचबुझ आयोग गर्यो ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन् । अब आयोगले औपचारिक पत्र प्राप्त गरेपछि काम सुरु गर्ने बताइएको छ ।
आयोग गठन भएसँगै मुख्यगरी राज्यतर्फबाट प्रदर्शनकारीमाथि चलाइएको गोलीका सम्बन्धमा कसरी छानबिन हुन्छ भनेर चासोका साथ हेरिएको छ । २३ भदौमा विद्यार्थीहरूले गरेको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर काठमाडौंमा १९ र सुनसरीमा २ गरी २१ जनाको ज्यान गएको थियो ।
ज्यान गुमाएका अधिकांशको टाउको र छातीमा गोली लागेको भेटिएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा भएको पोस्टमार्टम रिपोर्टमा पनि यी विषय उल्लेख छन् ।
फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएका अधिकांशको कम्मरभन्दा माथिको भाग र टाउकामा गोली लागेको बताए । उनका अनुसार विशेषगरी मृतकको छाती र टाउकामा गोली लागेको छ ।
पोस्टमार्टम रिपोर्टको जानकारी दिँदै उनले भने, ‘कतिपयको टाउको र मुटु नै छेडिएर गोली बाहिर निस्केको थियो भने कतिपयको शरीरका विभिन्न भागमा गोली बसेका थिए ।’
पहिलो दिन २१ जनाको गोली लागेर मत्यु भएको थियो भने भोलिपल्ट जलेर र अन्य कारणले ५३ जनाको ज्यान भएको थियो । अहिलेसम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियारबाट ती गोली नचलेको दाबी गरे । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले प्रहरीसँग हुँदै नभएका हतियारबाट गोली चलेको बताएका छन् ।
त्यसमाथि टाउको र छाती ताकेर प्रहरीले गोली नचलाउने भन्दै अनेक आशंका गरिँदै आएको छ । अर्थात् घुसपैठ भएर अरू कसैले गोली चलाएको दाबी गर्नेसम्मका काम भएका छन् । यी सबै आशंकाको निवारण गर्न अब जाँचबुझ आयोगले ब्यालेस्टिक परीक्षण गर्नुपर्ने नेपाल प्रहरीका पूर्वएआईजी उत्तमराज सुवेदी बताउँछन् ।

‘आशंका जे गरे पनि ब्यालेस्टिक परीक्षण गरेको अवस्थामा यी सबै तथ्य बाहिर आउँछ । अब ब्यालेस्टिक परीक्षण गरेर अनुसन्धान अघि बढाउनुपर्छ,’ उनले भने ।
यो आयोगले जाँचबुझ ऐन २०२६ अनुसार म्यान्डेट प्राप्त गर्ने हुनाले त्यसकै परिधिभित्र रहेर छानबिन गर्छ । त्यसपछि रायसहित कारबाही सिफारिस गर्ने बताइएको छ ।
अहिलको अवस्था हेर्दा घुसपैठ हो भनेर पत्याइहाल्ने अवस्था नरहेको सुरक्षाका जानकारहरू बताउँछन् । घुसपैठ तथा सार्प सुटर वा स्नाइपरहरूबाट गोली चलाइएको हो/होइन वा कुन हतियारबाट गोली चलाइयो भन्ने ब्यालेस्टिक परीक्षणपछि यकिन हुन्छ ।
अहिले आशंका उठेका यी कुराहरूलाई जाँचबुझ आयोगले प्रमाणबाट आश्वस्त पार्ने काम गर्नुपर्ने जानकारहरू बताउँछन् । ‘जनु आशंका अहिले गरिएको छ, यसलाई आश्वस्त पार्न र प्रमाणले पुष्टि गर्न आयोगले यसको वैज्ञानिक परीक्षण गर्नुपर्छ,’ नेपाल प्रहरीका अर्का पूर्वएआईजी प्रद्युम्न कार्की भन्छन् ।
यसका लागि बरामद खोका, सार्वजनिक भिडिओ फुटेजहरूको अध्ययन, घाउको प्रकृति, मृतकको पोस्टमार्टम रिपोर्ट, ब्यालेस्टिक परीक्षण लगायतमा केन्द्रित भएर छानबिन गर्नुपर्ने जानकारहरूको बुझाइ छ ।
अहिलेसम्म बाहिर आएका विवरणहरू हेर्दा भने घुसपैठ भएर अरू कसैले गोली चलाएको भन्ने अवस्था नरहेको बुझाइ सुवेदीको छ । जसरी अहिले टाउका र छातीमा प्रहरीले गोली हान्दैन भन्ने छ, त्यो बुझ्नका लागि त्यहाँ खटिएको फोर्सका बारेमा पनि बुझ्न आवश्यक हुने उनी बताउँछन् ।
कहिलेकाहीँ भिड उत्तेजित भएपछि यस्तो किसिमको घटना हुने गरेको सुवेदीको अनुभव छ । कतिपय अवस्थामा सुरक्षाकर्मी पनि उत्तेजित हुने, हड्बडाउने गर्दा यस्तो किसिमको घटना हुनसक्ने उनी बताउँछन् ।
गोली लागेको प्रकृति हेर्दा एसएलआर र इन्सास जस्ता राइफलबाट लागेको हुनसक्ने आशंका गरिएको छ । ती हतियार नेपाली सेनाले पटकपटक नेपाल प्रहरीलाई दिँदै आएको छ ।
योसँगै अर्कोतर्फ संसद् भवनमा सुरक्षार्थ खटिएको नेपाल प्रहरीको विशेष कार्यदल (स्पेसल टास्क फोर्स, एसटीएफ)को भूमिका बारेमा बुझ्नेपर्ने हुन्छ ।
‘अधिकृतको कमान्डमा संसद् भवनमा खटिएका एसटीएफ नेपालकै कानुनअनुसार पनि विशिष्ट तथा महत्वपूर्ण प्रतिष्ठानमा सुरक्षामा खटिने गरेको छ । एसटीएफका हवल्दारभन्दा माथिल्लो दर्जाका प्रहरीले बिना आदेश गोली चलाउनसमेत पाउँछन्,’ पूर्वएआईजी सुवेदी भन्छन्, ‘आफ्नो सुरक्षामा रहेको महत्वपूर्ण प्रतिष्ठानलाई क्षति पुर्याएको भन्ने लागेमा एसटीएफले यो अधिकार प्रयोग गर्नसक्छ ।’
एसटीएफले सर्ट मेसिन गन (एसएमजी, इन्सास जस्ता स्वचालित हतियार बोक्छन् । अहिले अन्य प्रहरीले चाहिँ एसएलआर बोक्दै आएका छन् । अब यी गोली कुन हतियारबाट चले, कुन फोर्सले चलायो भन्ने चाहिँ आयोगले निर्क्योल गर्नुपर्ने सुरक्षा मामलाका जानकारहरू बताउँछन् ।
प्रतिक्रिया 4