
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनको दोस्रो दिनमा नख्खु कारागारबाट बाहिरिनु रास्वपाका लागि भारी पर्दै गएको छ । रास्वपा सभापति रवि कारागारबाट बाहिरिएसँगै पार्टीभित्र नेतृत्वको कार्यशैलीमाथि प्रश्न नेता कार्यकर्ताले प्रश्न उठाएका छन् ।
उक्त घटनापछि रास्वपाका सीमित नेताले सभापति रविको सुरक्षाको कारण निस्कनै पर्ने बाध्यात्मक अवस्था भनेर प्रतीरक्षा गरेका छन् ।
सभापति रविको जेल बहिर्गमनबाट पार्टी प्रतीरक्षात्मक अवस्थामा पुगेको छ । त्यही घटनाबाट असन्तुष्टि बढ्दै गएपछि पार्टी पुनर्गठनको माग जोडतोडका साथ रास्वपामा उठ्न थालेको छ ।
२४ भदौमा नख्खु कारागारबाट निस्कने क्रममा विजयीभावमा सभापति रवि निस्किएका थिए ।
रवि कारागारबाट निस्कँदा स्वागत गर्नका लागि उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्यहरू गणेश पराजुली, हरि ढकाल र ज्वाला संग्रौला लगायत पुगेका थिए ।
रवि नख्खु कारागारबाट निस्किएपछि त्यहाँका सबै कैदी निस्किए देशभरिका कारागारमा तनावको अवस्था बन्यो । कतिपय कारागारमा आगजनी र तोडफोड गरे ।
सभापति रवि फर्जी कागजातको आधारमा कारागारबाट निस्किएको र उनलाई स्वागत गर्न केन्द्रीय नेताहरूको लर्को लागेको भन्दै पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ ।
नख्खु कारागारमा प्रदर्शनकारीको भिडसँगै देखिएको भन्दै प्रवक्ता झाको आलोचना भइरहेको छ ।
नख्खु कारागारबाट कैदी निस्किएपछि त्यसको प्रभाव देशभर परेको थियो । देशभरिबाट १३ हजार बढी कैदी फरार भएका थिए भने तीन हजार मात्रै फर्केका छन् ।
कारागारबाट फर्केका एक व्यक्तिले काभ्रेमा श्रीमतीको हत्या गरेका छन् । आपराधिक पृष्ठभूमिका व्यक्ति निस्कँदा सुरक्षा चिन्ताको समेत थपिएको छ ।
जेनजी आन्दोलनकै बेला सभापति रविको व्यवहारले रास्वपाभित्र उकुसमुकुसको अवस्था देखिएको छ ।
मूल नेतृत्वसँगै केन्द्रीय नेताहरूको शैलीमा रोष प्रकट गर्दै प्रदेश तहबाट केन्द्रलाई सुझावहरू पठाइएको छ ।
वर्तमान शैलीले पार्टी सञ्चालन हुन नसक्ने ठहर गर्दै पुनर्गठनको माग सहितको पत्र लुम्बिनी प्रदेशले केन्द्रलाई पठाएको छ ।
लुम्बिनी प्रदेश समितिले ४ असोजमा भर्चुअल बैठक गरेर केन्द्रलाई प्रेषित गरेको सुझावहरू अनलाइनखबरले प्राप्त गरेको छ ।
प्रदेश समितिको बैठकमा सहभागी २५ जनाले नेतृत्वको शैली सच्याउन र पार्टी पुनर्गठनको माग गरेका छन् ।
जेनजीको आन्दोलनमा उछृङ्खल गतिविधि गरेको भन्दै तल्लो तहका नेता कार्यकर्तालाई कारबाही गरिएको प्रति उनीहरू रुष्ट देखिएका छन् । दुई दिने आन्दोलमा पार्टीको निर्देशन अनुसार परिचालन भएको र कारबाही हुँदा केन्द्रदेखि तलसम्म समान व्यवहार हुनुपर्ने उनीहरूको माग छ ।
लुम्बिनीका प्रदेश महामन्त्री नीलराज अधिकारीले केन्द्रलाई पठाएको पत्रमा भनिएको छ, ‘हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तल्लो तहका साथीहरू मात्र निसानामा परेको कुराले हामी गम्भीर भएका छौं । पहिलो कुरा त आन्दोलनमा सक्रिय सहभागी बन्न आग्रह गर्दै अपिल गर्ने पार्टी नेतृत्वले घटनालाई उत्तेजित बनाउन भूमिका खेलेकाहरूलाई कारबाही गर्ने हो भने कारबाही र अनुसन्धानको सुइमाथिबाट तल चलाउनुपर्छ भन्ने कुरामा लुम्बिनी प्रदेश समिति एकमत रहेको छ ।’
महामन्त्री अधिकारीले बैठकमा प्रदेश तहका नेताहरूले राखेका धारणाहरू कसले के विचार राखे ? सबै उल्लेख गरेर केन्द्रलाई पठाएका छन् ।
जेनजीको आन्दोलन पार्टीभित्रबाट घुसपैठ भएको भए आन्तरिक छानबिन समिति गठन गर्न माग गरिएको छ ।
उक्त समितिले दिएको सुझावका आधारमा निलम्बन वा कारबाही गर्न सुझाव दिइएको छ ।
जेनजीको आन्दोलन पश्चात् पार्टी संकटमा रहेको उल्लेख गर्दै केन्द्रदेखि वडासम्मका समिति पुनर्गठन गरेर मात्रै निर्वाचनको तयारीमा जुट्नुपर्ने राय दिइएको छ ।
पुनर्गठनको आवाज उठे पनि नयाँ नेतृत्व चयनका लागि रास्वपामा तयारी भने देखिँदैन ।
२१ फागुनमा निर्वाचनको मिति तय भएको हुँदा त्यही महिना आयोजना गर्ने भनिएको प्रथम महाधिवेशन अनिश्चित बनेको छ ।
केन्द्रमा पठाइएको सुझावमा समावेश गरिएका प्रदेश तहका सबैजसो नेताले २४ भदौमा नख्खुको घटनाको छानबिनको माग गरेका छन् ।
लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सिंगो सचिवालय नख्खु जाँदा पार्टीलाई ब्याक फायर भएको उल्लेख गरेका छन् ।
सभापति रवि कारागारबाट निस्कनका लाग उपलब्ध पत्रको आधिकारिता माग गर्दै पाठकले भनेका छन्, ‘केन्द्रीय पदाधिकारी नै आगजनी स्थलमा देखिने भिडियो भाइरल भइरहेको छ । यो विषयमा तत्काल तत्काल छानबिन होस्, पुराना दलमा जस्तै सानालाई ऐन र ठूलालाई चैन नहोस् ।’
नख्खु कारागारमा आगजनीको बेला प्रवक्ता मनिष झा देखिएको भन्दै उनको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।
प्रदेश समितिका एक सदस्यले प्रवक्ता झाको विषयमा आन्तरिक छलफल हुनुपर्ने विचार राखेका छन् ।
उनले बैठकमा भनेका छन्,‘पहिला मैदानमा आउ भनियो, पछि संलग्नताको आधारमा कारबाहीको कुरा गरियो । कारबाही गर्ने हो भने नख्खुको छानबिन गरी केन्द्रका साथीहरू कारबाहीको दायरामा आउनुपर्छ ।’
अर्का एक प्रदेश नेताले प्रवक्ता झाको नामै किटेर भनेका छन्,‘मनिषले देखाएको नख्खुको क्रियाकलाप ठिक भएन । तीन सदस्यीय टोली बनाएर छानबिन गर्नुपर्छ ।’
प्रदेश तहका नेता शंकर भण्डारीले केन्द्रीय सदस्य ज्वाला संग्रौलालाई कारबाहीको माग गरेका छन् । उनले सभापति रविको सचिवालय विघटन गर्नुपर्ने माग समेत गरेका छन् ।
जेनजीको आन्दोलनमा सहभागी हुने केन्द्रका नेतालाई कारबाहीको दायरामा नल्याउने तर तलका कार्यकर्तालाई अराजक गतिविधिमा लागेको भन्दै पार्टीबाट निस्कासन सह्य नहुने प्रदेश तहका नेताहरूको जोड छ ।
लुम्बिनीका प्रदेश नेता हरिप्रसाद भुसालले भनेका छन्, ‘आन्दोलनमा सहभागी भएकै आधारमा साथीहरूलाई कारबाहीको पक्षमा पार्टी उभिनु गलत छ, यदि कारबाही गर्ने हो भने आन्दोलनमा सहभागी हुनु भनेर विज्ञप्ति जारी गर्ने पार्टी नेतृत्व, आन्दोलनमा सहभागी केन्द्रीय नेताहरूलाई कारबाही गर्दै तल्लो तहसम्म झर्नुपर्दछ म कारबाहीको विपक्षमा छु ।’ वैकल्पिक भनि आएको रास्वपाले जेनजी आन्दोलनको अपनत्व लिन नसकेको भुसालको भनाइ छ ।
रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका डा. बुद्धि शर्माले आन्दोलनमा सहभागी भएकै आधारमा पार्टी सदस्यहरूलाई तर्साउने काम नगर्न चेतावनी दिएका छन् ।
शर्माले भने,‘आजसम्मका नितिगत साथै व्यवहारिक अस्पष्टताको केन्द्रले कमजोरी स्वीकार गर्दै तल्ला निकायबाट गएका सुझावका आधारमा पार्टी पुनर्गठनमा लाग्नुपर्यो ।’
रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले २४ भदौको प्रदर्शनमा अराजकतालाई प्रश्रय दिने व्यक्तिलाई पार्टी छोड्न सुझाव दिएका थिए ।
रास्वपा नीति र विधि व्यक्तिहरू हेरेर बनेको भन्दै प्रदेश नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
दलले अंगिकार गरेको विधि र नीति प्रति लुम्बिनी प्रदेश महामन्त्री अधिकारीले असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय समिति विघटनको माग गरेका अधिकारी भन्छन्, ‘अहिलेको केन्द्रीय समिति पूरै विघटन गरी विस्तारित बैठक बस्नुपर्छ । अनि मात्र फ्रेस समितिले फ्रेस एजेन्डा लिएर चुनावमा जानुपर्छ ।’
रास्वपाको केन्द्रीय समिति बैठकपछि विस्तारित बैठक बस्ने भएको छ । मंगलबार बिहान बस्ने केन्द्रीय समिति बैठकले विस्तारित बैठकका एजेन्डा र मिति तय गर्ने रास्वपाका नेताहरूले जानकारी गराएका छन् ।
जेनजीको आन्दोलनपछि पार्टीप्रति नागरिकको झुकावमा कमि आएको प्रदेश तहका नेताहरूको बुझाइ छ ।
पार्टीको यही शैली भए निर्वाचनमा कसैले नजित्ने दाबी विनय घिमिरेले गरेका छन् । उनले भनेका छन्, ‘रिफर्ममाथिबाट तल गर्ने हो । यही पारा रहे, जिल्लातिर कसैले जितिन्न, आस नगरौं ।’
केन्द्रले तल्लो तहका संरचनाले उठाएका विषयहरू सुनेको नसुन्यै गरेको एक नेताले गुनासो गरेका छन् ।
प्रदेशको बैठकमा ती नेताले भनेका छन्, ‘हाम्रा कुरा केन्द्रले सुन्दैन भने सामूहिक राजीनामा दिऔं ।’
प्रदेश तहका नेता विकास पोखेलले केन्द्रले आफूहरूले उठाएका विषयमा नसुनेको दु:खेसो व्यक्त गरे ।
उनी भन्छन्, ‘केन्द्रले अभिभावकत्व देखाउन सकिरहेको छैन । हाम्रा कुराको मतलबै नगर्ने हो र सुन्दै नसुन्ने हो भने सामूहिक राजीनामा दिने हो भनेपनि तयार छु ।’
रुपन्देही–३ मा प्रारम्भिक मतदान गरिएको तर प्राप्त सार्वजनिक नगरिएको भन्दै प्रदेश नेताहरूले जानकारी माग गरेका छन् ।
सभापति रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले गरेको अभियानमा संकलित रकम खर्चको पारदर्शीताको माग समेत उनीहरूले गरेका छन् ।
२४ भदौको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको भेटिएपछि कतिपयले आफैं रास्वपा छोडेका छन् ।
तल्लो तहको समितिमा रहेकाले केन्द्रीय नेताहरू आन्दोलनमा संलग्न भएको तर आफूहरू मात्रै कारबाहीको भागिदार हुनु परेको भन्दै असन्तुष्टि राखेका छन् ।
कास्कीमा मादी गाउँपालिकाका संयोजक भोजराज पौडेल र पोखरा महानगरपालिका–१० का सभापति चन्द्रबहादुर थापालाई रास्वपाले कारबाही गरेको छ ।
प्रतिक्रिया 4