
News Summary
Generated by OK AI. Editorially reviewed.- देशका ७३ जना युवा एकै दिन शहीद भएका छन् जसले सम्पूर्ण नेपालीको हृदय जलाएको छ।
- २००७ सालदेखि नेपालमा प्रजातन्त्र स्थापनाका लागि अनेकौं शहीद भएका छन् र देशमा बारम्बार सहादतको पुनरावृत्ति भएको छ।
- भदौ २३ गते 'जेनेरेशन जेड' ले देशव्यापी भ्रष्टाचार विरोधी आन्दोलन गरेको छ जसले सुशासन र दिगो विकासको आशा जगाएको छ।
एकै दिनको घटनामा मेरो देशका ७३ जना युवा शहीद भएको यस अत्यन्तै दुःखद् घडीमा, ती शहीदहरूको बलिरहेको चिताबाट उठेको आगोको मुस्लोले प्रत्येक नेपालीको हृदय जलिरहेको छ । देश जलेको धुवाँले हाम्रो दृष्टि धमिलो बनेको छ । यिनै धमिलिएका आँखाले म भूपि शेरचनको कविताका यी पङ्तिहरूमा नजर दौडाइरहेकी छुः
‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।’
भूपिको यो दशकौं पुरानो कविता आज पनि उत्तिकै सान्दर्भिक हुनु हाम्रो दुर्भाग्य हो । उनले यो कविता ती वीर शहीदप्रति श्रद्धाञ्जलिस्वरूप लेखेका थिए— जसले देशको लागि आफ्नो जीवन उत्सर्ग गरे । न कविले, न ती शहीदहरूले कल्पना गरेका थिए होलान् कि देशले आफ्नै सन्तान मार्फत पटक–पटक आमाको काख रित्याउनुपर्नेछ।
२००७ सालमा जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाका लागि रक्तपात भयो । ती सपुतहरूले पक्कै सोचेका थिए— अब यो देशको लागि बगाइएको रगत पर्याप्त भयो होला । अब आमाको काख रित्याउनु नपरोस् । तर इतिहास हेर्दा यो देशमा हरेक दशकमा सहादतको पुनरावृत्ति भएको देखिन्छ।
विगतदेखि वर्तमानसम्मको दूरी पार गर्दा लाग्छ— यो देशको माटोलाई स्थायी रूपमा रगतको तिर्खा छ । लाग्छ हाम्रो चेतन वा अवचेतनमा आफ्नै दाजुभाइ, दिदीबहिनीको रगतले रङ्गिएको शरीर हेर्ने तृष्णा अझै मरेको छैन । सर्वसाधारणले आफ्नै जीवन देशको निम्ति उत्सर्ग गर्ने क्रम अझै पनि रोकिएको छैन।
जब–जब यो मुलुक विश्वको चामत्कारिक विकास र उपलब्धिको साक्षी भयो, तब–तब यसले परिवर्तनको चाहना राख्यो । जब–जब देशले परिवर्तनको चाहना गर्यो, तब–तब यहाँका नागरिकले शासकहरूको अकर्मण्यता, कुशासन र भ्रष्टाचारको विरोधमा आन्दोलन गरे ।
उनीहरूले देखे— एकै महादेशका सिंगापुर, दुबई जस्ता देशहरू छलाङ हानिरहेका छन्; तर नेपाल भने अशिक्षा, गरिबी र भ्रष्टाचारको दलदलमा फसिरहेको छ । भारत र चीन जस्ता छिमेकी देश विकासमा द्रुत गतिमा हुइँकिंदा नेपाल भने बिग्रिएको घडी झैं एउटै ठाउँमा अड्किएको देख्दा युवा रगत उम्लिनु स्वाभाविक हो ।
जनताले महसुस गरे— देशमा भएको बेथिति, शासकको भ्रष्ट प्रवृत्तिले नागरिकलाई कुपोषण लागेको बालकसरह बनाएको छ । स्वतन्त्रताको घाँटी आफन्तकै हातबाट निमोठिएको महसुस भएपछि, पुनः क्रान्तिको बिगुल बज्यो ।
कवि गोपालप्रसाद रिमालले उनको कवितामा– ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ भने झैं हाम्रो देशमा क्रान्तिको त्यो दिन एक दिन एकचोटि मात्र आएन पटक–पटक आयो । प्रत्येक क्रान्तिले विशाल हुरी ल्यायो-हामीले सोचेका थियौं हुरी विनाश मात्र होइन, प्रगतिको बीउ पनि ल्याउँछ । तर प्रायः हुरीपछि मलिलो माटो होइन, केवल खरानी बाँकी रह्यो । हामी आफूलाई बालुवाको थुप्रो सावित गर्यौं, जहाँ इमानदारी र कर्तव्यनिष्ठता उम्रनै सक्दैन ।
हामी त्यस्ता स्वार्थी छौं कि कोही व्यक्ति केही राम्रो गर्ने प्रयास गर्छ भने, हाम्रो मनमा सलबलाउने नकारात्मकताको कीराले त्यो प्रयासलाई ध्वस्त पार्न उद्यत हुन्छौं । अनि फेरि भन्न थाल्छौं यो देशमा केही हुन सक्दैन । यो देशका सबै कुरा खराब छन् ।
हाम्रो स्मरणशक्ति कति कमजोर छ भने अरूको गल्ती इङ्गित गर्दै गर्दा आफू पनि यही समाजको एक अंश हो भन्ने बिर्सिन्छौं । यो पनि बिर्सिन्छौं कि जुन समाजमा हामी हुर्किएका हुन्छौं त्यस समाजमा अन्तर्निहित गुण हामीमा अवश्य प्रवाह भएको हुन्छ– वंशाणुगत गुण सरे झैं ।
आफ्नो कमि–कमजोरी देख्न सक्ने दृष्टि नभएका हामी हरदम कुनै चमत्कारको आशामा आँखा विछ्याइरहन्छौं । अनि फेरि अर्को हुरीको प्रतीक्षा गर्छौं । यही हुँदै आएको छ, आठ दशकदेखि ।
२००७ सालमा प्रजातन्त्र आयो, २०४७ मा बहुदलीय प्रजातन्त्र, २०६३ मा गणतन्त्र । जनताले प्राप्त गरेका यी उज्यालोहरू हजारौं शहीदको बलिदानबाट आर्जित थिए । तर, हामीले यो कुरा बिर्सियौं— त्यो घाम उनीहरूको रगतबाट ऋण लिएको प्रकाश थियो ।
त्यो घाम जगमगाउनको निम्ति हजारौं योद्धाको घरको बत्ती निभेको थियो । अनि पो जगमगाएको थियो यो देशमा प्रजातन्त्रको उज्यालो । उज्यालो ल्याउन अँध्यारो भएका जीवनको कदर हामीले गर्दै गरेनौं । हामीलाई छिट्टै उज्यालोको मात जो चढ्छ ।
हामी कहिल्यै आफ्ना सन्ततिको निम्ति सजग नागरिक बन्न सकेनौं । त्यसैले, सत्ताको उन्मादमा विवेक बन्द गर्ने नेतालाई देश सुम्पियौं । ती नेताले आफ्ना सुख–सुविधा मात्र हेरे, मुलुकलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउन सकेनन् । जब दुनियाँ द्रुत गतिमा अघि बढ्दै थियो, हाम्रो देश भने राजनीतिक दलहरू बीचको आन्तरिक कलहमा अल्झिरह्यो ।
हिजोआज म सोचिबस्छु — आखिर को–को जिम्मेवार छन् यो देशलाई बारम्बार शहीदको रगत बगाउनुपर्ने अवस्थासम्म ल्याइपुर्याउन ? अनि विस्तारै अरूतिर सोझिंदै गरेको औंला आफैंतर्फ सोझिएको पाउँछु । मेरो पुस्ताको कायरता, गैर–जिम्मेवारीपन र अवसरवाद नै देशको प्रगतिको बाधक रहेछ।
म अहिले घोत्लिइरहेछु— के त्यो मभित्र विकास भएको कायरता थियो, जसलाई मैले सहनशीलताको आवरणमा लुकाएर आफ्नै सन्ततिलाई बारम्बार देशको निम्ति रगत बगाउन बाध्य बनाएँ ।
म सम्झिरहेछु त्यो क्षण— जब राजनीतिक नियुक्ति मेरिटको आधारमा नभई पहुँचको आधारमा हुन्थ्यो, म चुपचाप हुन्थें । सम्झिरहेछु त्यो क्षण जब डाक्टरको सामान्य चेक–जाँच गर्न पनि सिफारिस खोज्थें । म नै थिएँ त्यो, जसलाई ट्रायल नदिई लाइसेन्स चाहिन्थ्यो ।
विद्यालयमा अर्काको भाग खोसेर आफ्ना सन्तानलाई भर्ना गराउने— म नै थिएँ । अर्काको बच्चाको भविष्यमा पानी खन्याएर आफ्नो बच्चाको जीवनमा घाम उदाएको हेर्ने नि म नै थिएँ ।
म नै थिएँ— भन्सार नतिरी दुई किलो चिनी ल्याउँदा सन्तुष्टि लिने, भ्रष्ट नेतृत्वको गल्ती टुलुटुलु हेर्ने अनि तिनको गलत निर्णयलाई ढाकछोप गर्ने । उसको गलत निर्णय लिने प्रवृत्तिलाई आफ्नो स्वार्थको कम्पोष्ट मल हालिकन झ्याङ्गिन दिने ।
गरे अल्थेनले ‘अमेरिकन भेल्युज एण्ड एजम्सन’ निबन्धमा भने झैं, अमेरिकी समाजमा सुसंस्कृति र मूल्यले सुशासन कायम गर्न मद्दत गरेको छ । त्यहाँका नागरिक समयको मूल्य, आत्मनिर्भरता र निर्णय क्षमता बाल्यकालदेखि सिक्छन् । मिहिनेतको मूल्यमा विश्वास राख्छन्, पहुँचमा होइन । यस्तो संस्कृतिले तिनलाई भ्रष्टाचारबाट बचाउन मद्दत गर्छ ।
हाम्रो देशमा भने नेताहरू सन्तानप्रति अत्यधिक आसक्त हुन्छन् । तिनका लागि सम्पत्ति थुपार्ने प्रवृत्तिले आम नागरिकमा शासनप्रति घृणा उत्पन्न भएको छ । समाजले हाम्रो मस्तिष्कमा भरिदिएका विकृत संस्कारका कारण हामीले कहिल्यै गलत विरुद्ध बोल्ने साहस गर्न सकेनौं ।
तर, सामाजिक सञ्जालसँगै हुर्किएको ‘जेन जेड’ पुस्तामा भने ती विकृतिहरू सरेनन् । बरु तिनमा अन्तर्राष्ट्रिय रूपमा फैलिएको भ्रष्टाचार–विरोधी चेतनाले प्रभाव पार्यो । परिणामस्वरूप, सन् १९९७–२०१२ को बीचमा जन्मेका युवाहरू— ‘जेनेरेशन जेड’— ले भदौ २३ गते देशव्यापी आन्दोलनको नेतृत्व गरे ।
यी युवाहरूको आन्दोलनले आशा दिलाएको छ— अब भ्रष्टाचारको अन्त्य हुनेछ, र देशमा दिगो विकास, सुशासन सुवासिलो भएर नेपाली हावामा विचरण गर्नेछ । पारदर्शिता कायम हुनेछ ।
अघिल्ला पुस्ताहरूले पनि आफ्ना समयमा त्यस्तै आशाका साथ क्रान्ति गरेका थिए । उमेर र जिम्मेवारीले थिचिएपछि ती ऊर्जा हरायो होला । तिनको जोसको दियो मधुरो भयो होला । तर ती सधैं निकम्मा थिएनन् । क्रान्तिले परिवर्तन ल्यायो, तर स्थायित्व ल्याउन सकिएन ।
हरेक आन्दोलनले आशाको बतास ल्यायो । तर बतासको स्थायी ठेगाना हुँदैन यो केवल क्षणिक हुन्छ, बाछिटामा भिजाउने सामथ्र्य हुँदैन भने झैं नेपालमा भएका आन्दोलनले आजसम्म स्थायी शान्ति, दिगो विकास, सुशासनयुक्त समाज ल्याउन असफल भएको देखिन्छ ।
‘जेनेरेशन जेड’ को आन्दोलन नेपाली इतिहासमै छोटो समयमा ठूलो परिवर्तन ल्याउने आन्दोलन बन्यो । यस आन्दोलनले देशमा भएका भौतिक संरचनामा क्षति पुर्याएको छ । यसले भ्रष्टाचार खडा रहेको जमिनमा केही कम्पन पनि ल्याएको छ । तर भूकम्प नै ल्याइहालेको भने छैन ।
जेनेरेशन जेड आन्दोलनको एउटा अध्याय, इतिहासमा कस्तो रूपमा अंकित हुने हो त्यो भविष्यले बताउला । तर पनि यसले हामी बीच आशाको सञ्चार अवश्य गराएको छ । सुशासन, न्यायपूर्ण समाजको सपना देखाएको छ ।
यो आन्दोलन अग्निकाण्डमा परिणत हुँदा यसले हाम्रो राजनीतिक परिदृश्य मात्र होइन हाम्रो संस्कृति, इतिहास र जीवन–लय नै भत्काइदिएको छ । यसले हाम्रो मनस्थिति खल्बल्याएको छ । मानव मात्र होइन पारिस्थितिक प्रणाली नै संकटमा पारेको छ ।
अहिले मेरो देशमा मानिसहरू तनाव पोतिएको अनुहार बोकेर अन्योल र अनिश्चितताले धमिलो भएको ऐनामा आफ्नो भविष्यको मुहार हेर्न खोज्दैछन् । मानिसहरू भत्किएको संरचनामा आफ्नो भविष्य नियाल्न खोजिरहे झैं देखिन्छन् । तर आँसु भरिएको आँखाले धमिलो धुवाँ बाहेक केही देख्न सकिरहेको छैन ।
कुनै दिन आँशु सुक्नेछ अनि फेरि आँखाहरूमा सपना भरिनेछन् । विश्वास छ अझै–खण्डहर बनेका शहरहरू पुनर्निर्माण हुनेछन् । र एकदिन अवश्य सुन्दर स्वरूपमा फर्किनेछन् । अब उपरान्त नेपालमा कुनै आमाले सन्तान शहीद भएको पीडाबाट गुज्रनुपर्ने छैन । यो पटक नेपाली आँगनमा घाम दिगो प्रकाश बोकेर अनन्तकालसम्म उदाइरहनेछ ।
प्रतिक्रिया 4