
७ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ सोङले भेटवार्ता गरेका छन् ।
मंगलबार दुवै राजदूतबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए ।
खनालले नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याए ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले दुई मुलुकबीच रहेको विशेष सम्बन्ध कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गरे ।
उनले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रममा तीव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउन आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गरे ।
नेपाल–भारतबीचको व्यापार सहजीकरणका लागि दुवै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी चीनका राजदूत सोङसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
भेटमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गरे । सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने उनले बताए ।
मन्त्री खनालले नेपाल र चीन बैंकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बनाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्नसमेत चिनियाँ राजदूतलाई अनुरोध गरे ।
भेटमा राजदूतले चीनले नेपाली जनताको छनोटलाई सधैं सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए ।
चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधीन परियोजना सन्तोषजनक रूपले अगाडि बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँगको छुट्टै अन्तर्क्रिया गरिने जानकारी गराए ।
प्रतिक्रिया 4