+
+
Shares

युक्रेनको पक्षमा मोडिए ट्रम्प, रूसविरुद्ध आक्रामक अभिव्यक्ति   

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ८:२७

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई ‘कागजी बाघ’को संज्ञा दिँदै युक्रेनले युद्धमा गुमेको आफ्नो भूमि फिर्ता लिन सक्ने बताएका छन् ।

ट्रम्पको यस भनाइलाई रूस–यूक्रेन युद्धको विषयमा उनको धारणामा आएको ठूलो परिवर्तनको रूपमा अर्थ्याइएको छ ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको एक पोस्टमा उनले युरोप र नेटोको समर्थन तथा रूसको अर्थतन्त्रमाथि बढ्दो दबाबका कारण यूक्रेनले युद्ध सुरु भएको प्रमुख सीमा फिर्ता पाउन सक्ने बताएका हुन् ।

ट्रम्पले भने, ‘यूक्रेन र रूसको सैन्य तथा आर्थिक स्थिति पूर्ण रूपमा बुझिसकेपछि मेरो सोच बदलिएको छ ।’

रूसलाई ‘कागजी बाघ’ भन्दै उनले थपे, ‘पुटिन र रूस ठूलो आर्थिक समस्यामा छन् र यो युक्रेनले उचित कदम चाल्ने समय हो ।’

उनी यो टिप्पणी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछिको गरेका हुन् । ट्रम्पले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेपछि उनीहरूबीच मंगलबार भेट थियो।

ट्रम्पले पटक–पटक यो युद्ध समाप्त गर्ने आफ्नो चाहना व्यक्त गर्दै आएका छन् । यसअघि उनले सम्भवतः युद्धविराम वा कुनै सम्झौतासम्म पुग्न युक्रेनले आफ्नो केही भूमि छोड्नुपर्ने हुन सक्ने बताएका थिए।

यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन आफ्नो भूमि कहिल्यै नछोड्ने दोहोर्‍याउँदै आएका छन् ।

जेलेन्स्कीले के भने  

ट्रम्पको धारणा परिवर्तन भएको देखिएपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको व्यवहारमा आएको ‘ठूलो परिवर्तन’ लाई सराहना गरेका छन्। संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अब अमेरिका युद्ध समाप्तिपछि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार छ भन्ने देखिन्छ।’

उनले भनेअनुसार त्यस्तो सुरक्षा कस्तो प्रकारको हुनेछ भन्ने प्रश्नमा जेलेन्स्कीले भने, ‘म झूट बोल्न चाहन्न, हामीसँग यसबारे ठोस जानकारी छैन।’

यद्यपि, जेलेन्स्कीले युक्रेनलाई अझ बढी हतियार, हवाई सुरक्षा प्रणाली र ड्रोन प्राप्त हुने सम्भावनाको उल्लेख गरे।

पछि फक्स न्यूजसँगको अन्तर्वार्तामा ज़ेलेन्स्की ट्रम्पले ट्रुथ सोसलमा लेखेको पोस्ट देखेर आफू अचम्मित भएको बताए । उनले यसलाई ट्रम्प र अमेरिका युद्धको अन्त्यसम्म युक्रेनसँगै रहने ‘सकारात्मक संकेत’ का रूपमा अर्थ्याए ।

फक्स न्यूजसँगको कुराकानीमा जेलेन्स्कीले भने, ‘म पुटिनले राष्ट्रपति ट्रम्पलाई धेरै पटक झूट बोलेको कुराले पनि केही प्रभाव पारेको म विश्वास गर्छु ।’

यसअघि मंगलबार, संयुक्त राष्ट्रमा आफ्नो सम्बोधनपछि ट्रम्पले यो नेटो देशहरूले आफ्नो हवाई सीमामा प्रवेश गर्ने रूसी विमानहरू खसाल्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए ।

पछिल्लो समय रूसी लडाकु विमानहरू र ड्रोनहरू नेटो सदस्य राष्ट्रहरूको हवाई सीमाभित्र देखिएका सन्दर्भमा ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?