+

साफ यू-१७ च्याम्पियनसिप : सेमिफाइनलमा भारतको सामना गर्दै नेपाल

२०८२ असोज  ९ गते ६:५४ २०८२ असोज ९ गते ६:५४
साफ यू-१७ च्याम्पियनसिप : सेमिफाइनलमा भारतको सामना गर्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दै छ।
  • नेपाल समूह ए को उपविजेता र भारत समूह बी को विजेता भएर सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
  • ६ पटकको विजेता भारतविरुद्ध पछिल्ला ६ खेलमा नेपालले एक खेल मात्र जितेको छ ।

९ असोज, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा आज सेमिफाइनल खेल हुँदैछ । जहाँ नेपालले साविक विजेता भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३:४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

तीन टोली मात्र रहेको समूहमा मिश्रित नतिजा निकालेको नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएको थियो ।

उता भारतले भने समूह विजेता बन्ने क्रममा तीन वटै खेल जितेर अपराजित रह्यो । पहिलो खेलमा माल्दिभ्सलाई ६-० को फराकिलो अन्तरले हराएको भारतले त्यसपछि भुटानलाई १-० र पाकिस्तानलाई ३-२ ले पराजित गरेको थियो ।

नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए ।

अर्कोतर्फ भारतले भने १० गोल गर्दा जम्मा दुई गोल मात्र व्यहोरेको छ । भारतका डाललमुओन गाङ्गटेले ३ गोल गरेका छन् । यस्तै गुनलेइबा र राहान अहमदले समान २ गोल गरेका छन् ।

यू-१७ उमेर समूहमा अहिलेसम्म ९ संस्करण आयोजना हुँदा सर्वाधिक ६ संस्करणको विजेता भारत यस पटक पनि उपाधिको बलियो दाबेदारको रुपमा देखिएको छ । भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ ।

अर्कोतर्फ नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन । पछिल्लो पटक सन् २०२२ मा श्रीलंकामै भएको यू-१७ साफमा नेपाल फाइनल पुगेपनि भारतसँगै पराजित भएको थियो । त्यसबेला नेपालले समूह चरणमा भारतमाथि जित हात पारेपनि फाइनलमा भने त्यो लय कायम राख्न नसक्दा पराजित भएको थियो ।

सन् २०१९ यता नेपाल र भारत यस उमेर समूहमा ६ पटक भिडेका छन् । जसमा नेपालले जम्मा एक पटक मात्र भारतलाई हराउन सफल भएको छ ।

सन् २०१९ मा नेपाल भारतसँग लिग चरणमा ५-० र फाइनलमा ७-० ले पराजित भएको थियो । सन् २०२२ मा नेपालले भारतलाई समूह चरणमा ३-१ ले हराएपनि फाइनलमा ४-० ले पराजित भएको थियो ।  सन् २०२३ मा समूह चरणमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो भने सन् २०२४ मा नेपाल र भारत सेमिफाइनलमै भेट हुँदा भारतले ४-२ को जित निकालेको थियो ।

यस पटक फेरि सेमिफाइनलमा नेपालले भारतको सामना गर्दा त्यो हारको बदला लिने अवसर समेत हुनेछ ।

नेपाल यू-१७ टोलीका मुख्य प्रशिक्षक सन्जित सिंहले खेलाडीहरुमा केही चोट रहेको र त्यही अनुसार सेमिफाइनलमा भारतविरुद्ध रणनीति बनाएर मैदान उत्रने बताएका छन् ।

भारत विरुद्ध बल पोसेसन राखेर खेल्ने सिंहले बताए । ‘जुन किसिमले भुटानले भारत सँग खेलेको थियो । हाङ्गी पनि बल पोसेसन बढी राखेर त्यही अनुसार खेल्छौँ ।’ उनले भनेका छन् ।

बंगलादेश विरुद्धको कमीकमजोरीपछि टिम सेट हुन पाथेन । त्यसैले सुरुमा टिम सेट गरेर भारत विरुद्ध आफ्नो पकड बनाएर खेल्ने सिंहले बताए ।

उनले फाइनल पुग्नेमा आशावादी रहेको बताए । ‘आशावादी नै छु । फुटबल हो जुन टिमले गोल गर्छ उसैले जित्छ त्यसकारणले हामीले गोल गर्नुपर्छ । खेल जित्नै फाइनल पुग्ने लक्ष्यमा छौँ ।’ सिंहले भने ।

यस्तै कप्तान प्रशान्त मोक्तानले भारत विरुद्ध उच्च मनोबल लिएर खर्ल्ने बताए । उनले भारत कठिन प्रतिद्वन्दी रहेको र जितकै लागि खेल्ने बताए ।

भारत यू-१७ का मुख्य प्रशिक्षक बिबियानो फर्नान्डेजले पाकिस्तानलाई समूह चरणमा हराउनु राम्रो भएको र महत्वपूर्ण खेलमा खेलाडीले दबाबलाई सामना गरेको खेलेको बताउँदै त्यसले सेमिफाइनलमा कन्फिडेन्स दिने बताएका छन् ।  उनले नेपाल विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेका छन् । ‘उनीहरु (नेपाल) कठिन टिम हो र व्यक्तिगत क्षमतासहितका केही राम्रा खेलाडी छन् । मेरो विचारमा हामी प्रतिस्पर्धात्मक खेलको अपेक्षा राख्न सक्छौँ । हामी अर्गानइज्ड भएर आफ्नो क्षमता अनुसार खेल्नेछौँ ।’ फर्नान्डजले एआईआईएफसँग भनेका छन् ।

साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय