
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रले आगामी फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएको छ।
- अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि चुनाव समयमै सम्पन्न गर्न पार्टीले भूमिका खेल्नुपर्ने प्रस्ताव राखेका छन्।
- केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव अगाडि अध्यक्ष प्रचण्डले नेतृत्व छाड्नुपर्ने मत राखेका छन्।
९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र चुनावको पक्षमा उभिएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले समयमै चुनाव गर्न पार्टीले भूमिका खेल्नुपर्ने मत प्रकट गरेका छन् ।
सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । उनले लोकतन्त्रको रक्षाको लागि आगामी फागुन २१ मै चुनाव हुनुपर्ने बताए । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने उनको प्रस्ताव छ ।
प्रचण्डले भनेका छन्, ‘लोकतन्त्रको रक्षाको लागि फागून २१ को निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’
प्रचण्डपछि बोलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव शर्माले पनि समयमै चुनाव हुनुपर्ने मत प्रकट गरे । बरु चुनाव अगाडि अध्यक्ष प्रचण्डले नेतृत्व छाड्नुपर्ने मत वरिष्ठ उपाध्यक्ष श्रेष्ठको छ ।
भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् ।
उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा अन्य नेताहरूले समेत समर्थन जनाएका हुन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले आफ्ना असहमति समेत राखिसकेपछि प्रदेशगत रुपमा छलफल सुरु भएको छ ।
प्रतिक्रिया 4