+
+
Shares

जेनजीको मनोविज्ञानअनुसार माओवादीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसक्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १४:२३

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीको मनोविज्ञानअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।

हिन्दू धर्मावलम्बीको चाड विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’ शुभकामना सन्देशमा उल्लेख छ ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेनजीसहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको प्रचण्डले स्मरण गरेका छन् । वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तघुलनका पर्वहरूले प्रेरणा दिने उनको विश्वास विश्वास छ ।

प्रचण्डले नेपाली जनताका महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नेपर्ने जटिल राजनीतिक परिस्थितिमा रहेको समेत बताएका छन् ।

जेनजीको आन्दोलनपछि विगतमा आफूहरूले संविधान जारी गर्दा राखेका फरकमत र पूरा गर्न नसकिएका मुद्दा पूरा गर्ने समय आएको पनि उनले बताएका छन् ।

‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्’ प्रचण्डले लेखेका छन्, ‘यो परिस्थितिमा महान जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा माओवादी केन्द्र प्रतिबद्ध रहेको छ ।’

दशैंले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने पनि प्रचण्डको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?