
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र परिवर्तन आवश्यक रहेको बताएका छन्।
- उनीले पार्टीभित्र बहस \'टप–टू–डाउन\' र \'डाउन–टू–टप\'बाट हुनुपर्ने उल्लेख गरेका छन्।
- पार्टी परिवर्तन विधिभित्र र विधिलाई सम्मान गर्दै गर्नुपर्ने आचार्यको भनाइ छ।
१५ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र परिवर्तन आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘नेपाली समाजले खोजेको परिवर्तनको सारथी बन्न रास्वपाभित्र पनि परिवर्तन आवश्यक छ भन्ने तथ्य स्वीकार्न हामी सबै तयार हुनैपर्छ।’
जेनजी आन्दोलनपछि नागरिक अपेक्षा र राजनीतिक मनोविज्ञानमा ठूलो परिवर्तन आएको तथ्य सबैभन्दा पहिले सबैले स्वीकार्नुपर्ने उनको आग्रह छ। अगाडि लेख्छन्, ‘सबैले बुझ्नुपर्छ गतिशील राजनीतिमा विश्वास गर्ने पार्टीभित्र पार्टी निर्माणका विविध आयाममा बहस हुनु सहभागितामूलक लोकतन्त्रको सूचक पनि हो।’
बहस ‘टप–टू–डाउन’ मात्र नभई ‘डाउन–टू–टप’बाट पनि हुनुपर्छ भन्नेमा कुनै विमति हुन नहुने पनि उनको आग्रह छ।
तर, रास्वपाले सुसंस्कृत राजनीतिक अभ्यास र चरित्रसहितको दल निर्माणको यात्रा सुरु गरेको जम्मा तीन वर्ष मात्र भएको ख्याल गर्न उनको सुझाव छ।
पुराना दलहरूले पूर्ण सुधार गरेपछि पुग्ने स्तरभन्दा पनि धेरै अगाडिको बिन्दुबाट रास्वपाले यात्रा आरम्भ गरेको स्मरण गर्दै उनी लेख्छन्, ‘त्यसैले, अब पार्टीले तय गर्ने परिवर्तनको यात्राको आधार स्तम्भ अहिलेसम्मको अनुभव, आजको अवस्थाको तथ्यपरक मूल्यांकन, भविष्यको यथार्थपरक आकलन र सबैले अपनत्व लिन सक्ने गहन छलफल हुनुपर्छ।’
परिवर्तनको यात्रा लहडमा नभई कार्ययोजना र कार्यान्वयन योग्य विकल्पसहित अघि बढ्नुपर्ने उल्लेख गर्दै उनी यो विषय रास्वपाका नेता/कार्यर्क्ताले यो बुझ्नैपर्ने बताउँछन्।
पार्टी परिचालन र नेतृत्व चयनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विधान परिमार्जन, महाधिवेशन मिति, सचिवालय वा पदाधिकारी संरचना, केन्द्रीय समिति वा अन्य संयन्त्रमा आवश्यक हेरफेर वा पुनर्गठन जे आवश्यक भए पनि त्यसका लागि गतिशील पार्टी सदैव तयार हुने उनको विश्वास छ।
‘तर, हरेक परिवर्तन विधिभित्र रहेर र विधिलाई सम्मान गर्दै गर्नुपर्छ भन्ने मूल सिद्धान्तलाई भने हामीले कहिल्यै बिर्सन हुँदैन,’ उनी लेख्छन्, ‘विधिको विकल्प नियत होइन र नियत र विधि सधैं एक अर्काको परिपूरक हुनुपर्छ भन्ने कुरा यस्तो विषम परिस्थितिमा अझ बढी सान्दर्भिक तथ्य हो।’
पार्टी त्याग गर्नेहरूप्रति सम्मानको संस्कृति पार्टीमा विकास हुनुपर्छ भनेर पछिल्लो केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमार्फत स्पष्टसँग कुरा राखेको उनले स्मरण गरेका छन्।
उनी लेख्छन्, ‘पार्टी छोडेर जाने साथीहरूप्रति दुराभाव पार्टीभित्रको कसैले कहिल्यै पनि राख्नु हुँदैन। तर, नियतभन्दा पनि नियतिले गराएका सम्भावित गल्तीहरू र केहीको आलोचना वा मिडिया ट्रायलकै कारण कुनै समय आफ्नो यात्राको अभिन्न अंग रहेको पार्टीलाई तुच्छ बनाउँदै गर्दा त्यसले नयाँ पुस्ताको राजनीतिलाई लाभ गर्छ कि हानी भनेर जाने साथीहरूले सोच्नुपर्छ।’
आफू रहँदा प्रशंसा र छोडेर जाँदा सम्भव भएसम्म बदनाम गर्ने प्रवृत्ति नेपाली राजनीतिज्ञहरूको पुरानो चरित्र भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘रास्वपा छोडेर जाने विद्वान साथीहरूको अन्तर्वार्ता हेर्ने हो वा स्टाटसहरू पढ्ने हो भने त्यो रोग हामीमा पनि अझै रहेछ भन्न अप्ठ्यारो मान्नु पर्दैन। यस्तो लाग्छ, यो देशमा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा खराब पार्टी अर्को कुनै छैन र यो देशका सबै खराब नेताहरू यही पार्टीभित्रै छन्।’
एकातिर देश बनाउन सबै वैकल्पिक वा नयाँ शक्तिहरू एक ठाउँमा नआई सुखै छैन पनि भन्ने अनि अर्कोतिर देश नै विषम परिस्थितिमा रहेको अवस्थामा विभिन्न आरोह–अवरोह देखेको फगत तीन वर्ष लामो यात्रा तय गरेको पार्टीलाई आक्रमण गर्नु न्यायसंगत पक्कै नभएको उनको तर्क छ।
कन्स्ट्रक्टिभ क्रिटिसिजम भन्दा पर गएर गरिने विषबमन, चाहे पार्टी छाडेर जानेहरूबाट होस् वा पार्टीभित्र रहनेहरूबाट, त्यसले सूसंस्कृत राजनीतिलाई कहिले पनि सहयोग नगर्ने उनको आग्रह छ।
पार्टी छाडेकाहरूलाई अनुरोध आचार्यको अनुरोध छ, ‘कृपया आफ्नो ऊर्जा कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्नुहोस्, रास्वपाको आलोचनामा मात्र होइन।’
नयाँ भनिएको रास्वपा पुरानो भयो भन्ने लागेर अझ नयाँ बन्न खोज्नेहरूको नोकझोक पुरानालाई मात्र फाइदा पुर्याउने हो भन्ने हेक्का राखिदिन पनि उनको अनुरोध छ।
प्रतिक्रिया 4