+
+
Shares

मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन

नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ । नाका सञ्चालनले यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई सातामा रु दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ।
  • कोरला नाकाबाट एक हजार १०९ विद्युतीय सवारीमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए।
  • नाकाको पूर्ण सञ्चालनपछि मुस्ताङमा व्यापारिक चहलपहल बढेको र स्थानीय युवाले राम्रो आम्दानी गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए।

१५, असोज, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा रु दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ ।

गत ३१ भदौमा पूर्णरूपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको हो । यहाँ दैनिक औसत भन्सार राजस्व रु १३ करोड ६६ लाख बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ ।

यसअघि यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व रु १० देखि १५ लाखमै सीमित रहन्थ्यो ।

यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो ।

सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो ।

यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका एक हजार १०९ विद्युतीय सवारी साधनमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।

भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँचपाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।

यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गरे । यहाँको भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन् ।

असोज १८ गते अर्थात पूर्णिमासम्म दसैँको सार्वजनिक बिदा भएको र दसै मनाएर कार्यस्थलमा फर्किन दुई दिन समय लाग्ने भएकाले सम्भवत २१ गतेदेखि पुनः भन्सारका नियमित कार्यसम्पादन सुरु हुने भन्सारका नायब सुब्बा उत्तम राईले जानकारी दिए ।

नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ । नाका सञ्चालनले यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

यसैगरी नाकामा स्थानीय नागरिक र सवारी चलाउन जान्ने युवाहरूले राम्रो आम्दानी गरेको अध्यक्ष गुरुङको भनाइ छ ।

नाकाको सीमापारी भन्सारमा लोड अनलोड गर्ने तथा त्यहाँ चीनको भन्सारमा ल्याएका विद्युतीय सवारी साधन चलाएर बाहिर निकाल्ने युवाहरूले मनग्ये आम्दानी गर्ने बाटो खुलेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?