
१७ असोज, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने दुवै सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठकाअनुसार हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिमा गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।,
कान्तिलोकपथमा आज असोज १७ गतेदेखि असोज २० गते अपराह्न ४ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । यसैगरी हेटौंडा–भैंसे–काठमाडौं सडकमा बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जल तथा मौसम विभागले असोज १७ गतेदेखि २० गतेसम्म मकवानपुर जिल्लामा पनि मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरेकाले दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न, खोला तथा नदी किनारमा उच्च सतर्कता अपनाउन, विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन समेत दिएको छ ।
बंगालको खाडीमा विकसित प्रणालीको प्रभावले नेपालमा पनि अत्यधिक वर्षाको प्रक्षेपण गरिएको छ । त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ ।
साथै जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गमा असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन चलाउन रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि असोज १७ गतेदेखि २१ गतेसम्म कान्ति लोकपथमा रातिमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । मकवानपुर जिल्लाबाट ललितपुर जिल्लाको प्रवेश बिन्दु बागमती गाउँपालिका वडा नम्बर २ बगुवाबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र साना सवारी साधनहरु (चार चक्केसम्म) चलाउन पाइने छ ।
यसैगरी ललितपुरबाट मकवानपुर जिल्ला प्रस्थान बिन्दु गोदावरी नगरपालिका वडा नम्बर ६ टीकाभैरवबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सवारी साधन सञ्चालन गर्न पाइने छ ।
प्रतिक्रिया 4