+
+
Shares

विपद प्रतिकार्य : सरकारको तयारी के छ ?

गृहमन्त्री अर्यालले भने- विगतका कमीकमजोरी नदोहोरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते २२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अत्यधिक वर्षाको प्रक्षेपणसँगै चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ।
  • गृह मन्त्री ओमप्रकाश अर्यालले विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यमा सक्रिय हुन निर्देशन दिएका छन्।
  • जिल्ला प्रशासन कार्यालयहरूले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।

१६ असोज, काठमाडौं । अत्यधिक वर्षाको प्रक्षेपणसँगै सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ ।

बंगालको खाडीमा विकसित प्रणालीको प्रभावले नेपालमा पनि भारी वर्षाको पूर्वानुमान गरिएकाले गृह मन्त्रालयले चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको हो ।

आज विहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित क्षति रोक्नका लागि आपसी समन्वय गरी विपद व्यवस्थापन, राहत तथा उद्धार कार्यमा सक्रिय हुन निर्देशन दिए ।

‘विगतका कमीकमजोरी नदोहोरियोस्,’ मन्त्री अर्यालले उच्च सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै भने, ‘विपद व्यवस्थापनमा कुनै पनि कसर बाँकी नराख्नु होला ।’

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २१ गतेसम्म मनसुन सक्रिय हुने र त्यसले कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म प्रभाव पार्ने प्रक्षेपण गरेको छ । यसक्रममा कुनै कुनै ठाउँमा अति भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएकाले जनधनको क्षति हुन सक्ने आशंका छ ।

सम्भावित विपद्लाई मध्यनजर गरेर गृहमन्त्री अर्यालको प्रमुख आतिथ्य र गृह सचिव रामेश्वर दंगालको विशिष्ट आथित्यमा गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु, चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थितिमा भर्चुअल बैठक आयोजना गरिएको थियो ।

भर्चुअल बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत ।

सो बैठकमा पछिल्लो अवस्थाको जानकारी लिएपछि मन्त्री अर्यालले भने, ‘यो जनतासँग जोडिने बेला पनि हो । त्यसैले सरोकारवाला निकायबीच समन्वय, सहकार्य र प्रभावकारीरुपमा सूचना आदानप्रदान हुनु जरुरी छ ।’ उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने बताए ।

गृहसचिव रामेश्वर दंगालले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्लामा जिल्ला सुरक्षा समिति/विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको नेतृत्व गर्दै एकद्वार नीति अनुसार पूर्वतयारी, खोज तथा उद्धार सम्बद्ध कार्य गर्नुपर्ने कुरामा जोड दिए । केन्द्र र जिल्लामा मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरुलाई सक्रिय बनाई सम्भावित विपद् व्यवस्थापन गर्न पनि गृहसचिव दंगालले निर्देशन दिए ।

बैठकको अध्यक्षता गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार जिम्मेवार सबै निकाय क्रियाशील बनाइएको जानकारी दिए । साथै उनले प्रभावकारी समन्वयका लागि असोज १७ गते शुक्रबार पनि सरोकारवालासँग छलफल राखिएको जानकारी गराए ।

बैठकका क्रममा पूर्वानुमान अनुसार जोखिमपूर्ण क्षेत्रमा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको थियो। साथै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र चौविसै घण्टा पूर्णरुपमा क्रियाशील रहँदै आपत्कालीन गोदामघरहरु तत्काल प्रयोगमा आउन सक्ने गरी तयारी हालतमा राख्ने पनि निर्णय भएको छ।

अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन निर्देशन

सोही अनुसार विपद प्राधिकरणले प्राकृतिक विपदको सम्भावना रहेकाले आगामी सोमबारसम्म अत्यन्त जरुरी काम नपरेसम्म घरबाट बाहिर ननिस्किन र रातिको समयमा यात्रा नगर्न आह्वान गरेको छ । बाढी पहिरोको जोखिमयुक्त स्थानका बासिन्दालाई चनाखो भएर बस्न र सुरक्षित स्थानमा जान पनि प्राधिकरणले भनेको छ ।

प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिन र सो निर्णय पालना गराउने व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई भनिएको छ । सोही अनुसार ललितपुर, मकवानपुर, काभ्रे, रामेछाप लगायतका जिल्ला प्रशासन कार्यालयहरुले रातिको समयमा गाडी चलाउन रोक लगाइएको सूचना जारी गरेका छन् ।

बीपी र कान्ति लोकपथ रातिको समयमा बन्द

जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गमा असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन चलाउन रोक लगाएको छ ।

गत वर्षको असोज ११  र १२ गतेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्ग क्षतविक्षत बनाएको थियो । क्षति पुगेका ठाउँमा अहिलेसम्म पनि पुनर्निर्माणको काम नसकिएकाले यसपालिको वर्षामा क्षतिको जोखिम कायमै छ । त्यसैले बीपी र अरनिको राजमार्गका आयोजनाहरु (सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजना) ले तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्ने, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू अलर्टमा रहने लगायतका निर्णय जिल्ला विपद व्यवस्थापन समितिले गरेको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि असोज १७ गतेदेखि २१ गतेसम्म कान्ति लोकपथमा रातिमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । मकवानपुर जिल्लाबाट ललितपुर जिल्लाको प्रवेश बिन्दु बागमती गाउँपालिका वडा नम्बर २  बगुवाबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र साना सवारी साधनहरु (चार चक्केसम्म) चलाउन पाइने छ ।

यसैगरी ललितपुरबाट मकवानपुर जिल्ला प्रस्थान बिन्दु गोदावरी नगरपालिका वडा नम्बर ६ टीकाभैरवबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सवारी साधन सञ्चालन गर्न पाइने छ ।

ठूला सवारी साधन (चार चक्केभन्दा बढी)लाई भने कान्ति लोकपथमा चलाउन रोक्ने निर्णय जिल्ला प्रशासन कार्यालय ललितपुरले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?