News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २६४८ जना भित्रिएका छन् भने २२६४ जना बाहिरिएका छन्।
- सरकारले बीपी राजमार्गबाहेक अन्य राजमार्गमा गाडी चलाउन दिने तयारी गरेको छ र पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने जानकारी जल तथा मौसम विज्ञान विभागले दिएको छ।
- बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले वर्षा रोकिएको र ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् ।
१९ असोज, काठमाडौं । मौसम केही अनुकूल भएसँगै काठमाडौंको जनवीवन सामान्य बन्दै गएको छ । यात्रुहरू पनि काठमाडौं भित्रिने र बाहिरिनेक्रम सुरु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताका नरेशराज सुवेदीका अनुसार, काठमाडौंका विभिन्न नाकाबाट पछिल्लो २४ घन्टामा २ हजार ६ सय ४८ जना भित्रिएका छन् ।
त्यसैगरी, २ हजार २ सय ६४ काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
भित्रिने सवारी साधनको संख्या ५४० छ भने बाहिरिने सवारीको संख्या ४६५ रहेको छ ।
पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरूमा गाडी चलाउन दिने तयारी गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरूलाई सूचना दिइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब काठमाडौं–नारायणगढ र काठमाडौं पोखरा–सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी छ ।
‘अहिले कुनै–कुनै ठाउँमा साना–साना पहिराहरु छन् । त्यो पन्छाएपछि पश्चिमतिर जाने बाटो क्लियर हुन्छ अनि थप पानी पर्ने सम्भावना नभएको जानकारी आएकाले गाडी चल्न दिइने छ,’ मन्त्रालय स्रोतले जनाएको छ ।
बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले हाल वर्षा हुने क्रम रोकिएको र ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको जानकारी दिए ।
आजै दिउँसोबाट पूर्वी क्षेत्रबाट पनि वर्षा गराउने प्रणाली निष्कृय हुने सम्भावना रहेको उनले बताए । ‘हामीले पूर्वानुमान गरिएभन्दा छिटो मौसम सफा हुँदै गएकाले पूर्वको तुलनामा पश्चिमतर्फ यातायात सञ्चालन गर्ने मौसम अनुकूल हुँदै गएको जानकारी सम्बन्धित निकायलाई दिइसकेका छौं,’ पराजुलीले भने ।
सरकारले वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो ।
प्रतिक्रिया 4