+

के कारण हुन्छ पेट ढुस्स, कसरी छुटकारा पाउने ?

२०८२ असोज  २० गते १३:५५ २०८२ असोज २० गते १३:५५
Shares
के कारण हुन्छ पेट ढुस्स, कसरी छुटकारा पाउने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चाडबाडमा धेरै चिल्लो, मसालेदार खाना खाँदा पेट फुल्ने, अपच र पखालाको समस्या देखिन्छ भने कतिपयलाई पेट ढुस्स हुने समस्या हुन्छ।
  • पेट फुल्ने समस्याबाट बच्न खानपानमा नियन्त्रण राख्नु र नियमित व्यायाम गर्नुपर्छ । फाइबरयुक्त खाना र पानी पर्याप्त सेवन गर्नुपर्छ।

चाडबाडको बेलामा खाएको चिल्लो, मसालेदार खाना सहजै पच्दैन । एकातिर चिल्लोयुक्त अनेकथरी व्यञ्जन, त्यसमाथि भोक नलागे पनि पटक-पटक खाइरहने हुन्छ । यस किसिमको खानपानले कतिलाई अपचको समस्या हुन्छ भने कतिलाई पखालाको समस्या देखिन्छ । कतिपयलाई पेट ढुस्स हुने समस्या पनि हुन सक्छ ।

पेट फुल्ने समस्याका पछाडि धेरै कारणहरू हुन सक्छन् । यिनमा मुख्यगरी क्षमताभन्दा बढी खाना खाने, पेटमा ग्यास बन्ने, अपचको समस्या हुनु वा इरिटेबल बाउल सिन्ड्रोम(पेट दुख्ने, पेट फुल्ने र कब्जियत हुने समस्या) जस्ता पेटका रोगहरू हुन सक्छन् । पेट फुल्ने क्रममा व्यक्तिलाई धेरै असहज महसुस हुन्छ, यति नै कि उठ्ने वा बस्ने क्रममा पनि कहिलेकाहीं कठिनाइ भोग्नुपर्छ ।

वैज्ञानिक रूपमा, पेट फुल्ने समस्या ‘ब्लोटिङ’ सामान्यतया ग्यासको कारणले हुन्छ, जसमा पाचन प्रक्रियामा अपाच्य खानाले आन्द्रामा ब्याक्टेरियाले असर गर्दा ग्यास उत्पादन हुन्छ । स्वस्थ व्यक्तिहरूमा पनि कहिलेकाहीं यो समस्या देखिन्छ ।

इरिटेबल बाउल सिन्ड्रोम भएकाहरूमा यो समस्या ९० प्रतिशतसम्म देखिन्छ, जसमा आन्द्राको संवेदनशीलता बढी हुन्छ र सामान्य ग्यासले पनि दुखाइ वा असहजता निम्त्याउछ।
यसबाहेक, कब्जियतले पनि पेट फुलाउँछ, किनकि ठूलो आन्द्रामा दिसा लामो समय रहँदा ब्याक्टेरियाले यसलाई फर्मेन्ट गरेर ग्यास उत्पादन गर्छ ।

पेट फुल्ने समस्यासँग जोडिएका मुख्य कारण

१.आवश्यकता भन्दा बढी खाना खाने

पेट फुल्ने समस्याको सिधा सम्बन्ध खानासँग हुन्छ । प्रायः चाडबाडमा घरमा बनेका स्वादिष्ट खानालाई हामी आवश्यकताभन्दा बढी खाइदिन्छौं, जसले गर्दा पेट फुल्ने समस्या हुन्छ । त्यसैले यस्ता कुनै पनि अवस्थाबाट बच्नका लागि ठिक्क मात्रामा खाना खानुपर्छ । यदि पेट फुल्ने समस्याले लामो समय सताइरहन्छ भने थोरै-थोरै खाना समय समयमा खानुपर्छ ।

यसो गर्दा कम खाना खाइन्छ र ओभरडाटिङबाट हुने समस्याहरूबाट आफूलाई बचाउन सकिन्छ । वैज्ञानिक रूपमा, बढी खानाले पेटलाई फैलाउँछ र पाचन प्रक्रिया सुस्ताउँछ, जसले अपाच्य खानालाई आन्द्रामा ग्यास उत्पादन गर्न दिन्छ । यसले अपच निम्त्याउछ, जसमा खाना खाएपछि ग्यास, एसिडिटी र ब्लोटिङ हुन्छ । यसलाई रोक्न, खाना राम्ररी चपाएर खानु र सानो भागमा विभाजित गरेर खानु उत्तम हुन्छ।

२.धेरै मात्रामा तेल, मसलाको खानु

पेट ढुस्स हुने समस्याबाट बच्न धेरै मात्रामा तेल मसलाको सेवन गर्नबाट पनि बच्नुपर्छ । धेरै तेल र मसला प्रयोग गरिएका खानेकुराले पेटमा अपच, ग्यास आदि समस्या उत्पन्न गर्छ ।

साथै केही मानिसहरूलाई मसलेदार खाना खाँदा आन्द्रा सुन्निने समस्या समेत हुन्छ । त्यसैले हल्का र सुपाच्य खाना खानुपर्छ । यस्ता खाना पकाउन सजिलो हुन्छ र पेट फुल्ने समस्याबाट पनि बच्न सकिन्छ ।

तेलयुक्त र मसलेदार खानाले पाचन एन्जाइमहरूलाई प्रभावित पार्छ, जसले खानालाई राम्ररी टुक्रा नगरी आन्द्रामा पठाउँछ र त्यहाँ ब्याक्टेरियाले ग्यास बनाउँछ । यसले आन्द्रा सुनिन्ने समस्या पनि निम्त्याउन सक्छ । यसको सट्टा, फाइबरयुक्त तरकारीहरू जस्तै हरियो सागपात र फलफूलहरू खानु राम्रो हुन्छ, जसले पाचनलाई सहज बनाउँछ ।

३.बोतल तथा प्याकेट बन्द पेय पदार्थहरू

यदि पेट फुल्ने समस्या छ भने सोडासहित अन्य प्याकेट बन्द पेय पदार्थको सेवन गर्नबाट बच्नुपर्छ । यस्ता पेय पदार्थलाई लामो समयसम्म संरक्षित राख्नका लागि विभिन्न केमिकलहरू मिसाइन्छ । यस्ता पेय पदार्थ स्वादिष्ट लाग्न सक्छ तर पेटलाई धेरै हानि पुर्‍याउँछ ।

यस्तोमा यस्ता पेय पदार्थको सेवनबाट बच्नुपर्छ । कार्बोनेटेड ड्रिंक्सहरूले सिधै ग्यास पेटमा पुर्‍याउँछन्, जसले पेट फुल्ने समस्या बढाउँछ । यसमा धेरै मात्रामा मिसाइएको चिनीले पनि आन्द्रामा फर्मेन्टेसन निम्त्याउँछ । यसको विकल्पमा, पानी वा हर्बल टीहरू खानु राम्रो हुन्छ, जसले पाचनलाई सुधार्छ र ग्यास कम गर्छ ।

४.ढिलो खाना वा अनियमित खानपान

ढिलो खाना खाने वा अनियमित खानपानको बानीले पनि पेट फुल्ने समस्या निम्ताउछ । जब ढिलो खाना खाइन्छ यसलाई पचाउन शरीरलाई पर्याप्त समय मिल्दैन, नतिजा एसिडिटी र पेटका अन्य समस्या हुन थाल्छन् । त्यसैले, ढिलो र अनियमित खानपानबाट पनि बच्नुपर्छ ।

अनियमित खानपानले पेटको गतिशीलता लाई प्रभावित पार्छ, जसले ग्यास्ट्रोपारेसिस(पेटबाट सानो आन्द्रामा खाना ढिलो पुग्ने) जस्ता समस्या निम्त्याउन सक्छ। यसले कब्जियत पनि बढाउँछ । नियमित समयमा खाना खाँदा शरीरको जैविक घडी ‘सर्काडियन रिदम’ ले पाचनलाई सहज बनाउँछ ।

पेट फुल्ने समस्याको समाधान के ?

१.डाक्टरसँग परामर्श लिने

यदि पेट फुल्ने समस्या बारम्बार हुन्छ भने डाक्टरसँग परामर्श लिनुपर्छ । यदि यो समस्या लामो समयदेखि रहिरहेको छ भने इरिटेबल बाउल सिन्ड्रोम जस्तो कुनै समस्या भएको हुनसक्छ । त्यसैले सही समयमा डाक्टरसँग परामर्श लिएर यो समस्याबाट चाँडै मुक्त हुन सकिन्छ । यदि ब्लोटिङ एक हप्ताभन्दा बढी रह्यो वा दुखाइसँगै आएको छ भने, अन्य रोगको संकेत हुन सक्छ । त्यसैले यस्तो अवस्थामा डाक्टरको परामर्श लिनुपर्छ ।

२.खानपानमा नियन्त्रण

यदि पेट फुल्ने समस्याबाट चाँडै मुक्त हुन चाहने हो भने आफ्नो खानपानको बानी परिवर्तन गर्नुपर्छ । धेरै तारेको र मसलेदार खानाबाट बच्नुपर्छ । ढिलो खाना नखाने र एकैपटक धेरै मात्रामा खाना नखाने कुरामा सचेत हुनुपर्छ । साथै प्रयाप्त मात्रामा हरियो तरकारी र फलहरूको सेवन सुरु गर्नुपर्छ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।

आहारमा फाइबर बढाउँदा कन्स्टिपेसन कम हुन्छ, तर यसलाई बिस्तारै बढाउनुपर्छ किनकि अचानक बढाउँदा ग्यास बढ्न सक्छ । प्रोबायोटिक्सयुक्त खाना जस्तै दहीले पेटको राम्रो ब्याक्टेरियालाई सन्तुलित राख्छ ।

३.नियमित व्यायाम

नियमित व्यायाम र योग आदिबाट पेट फुल्ने समस्या धेरै हदसम्म सुधार देखिनेछ । यदि पेटको समस्यालाई योगबाट हटाउन चाहने हो भने कुनै जानकार योग शिक्षकको निगरानीमा नै योग आसनहरू गर्नुपर्छ । व्यायामले आन्द्राको गतिशीलता बढाउँछ र ग्यासलाई बाहिर निकाल्न मद्दत गर्छ । दैनिक ३० मिनेट हिँडाइले कब्जियत कम गर्छ र तौल पनि नियन्त्रणमा राख्छ, जसले पेट ढुस्स हुने समस्या कम गर्छ ।

खानपान पेट
डा. खलील मिया
लेखक
डा. खलील मिया
पेट तथा कलेजो रोग विशेषज्ञ

डा. खलील मिया हाल लुम्बिनी प्रदेश अस्पताल, बुटवलमा कार्यरत छन् । ग्यास्ट्रोएन्टेरोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल नम्बर १५२९३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय