+
+
Shares
आलेख :

झरीमा तुइनको दुःखमय धुन

झरीमा मैले सुनेको तुइनको सङ्गीत यसरी बयान गर्न मन लागेको छ कि, यस उपन्यासमा कर्नाली विषय होइन, परिवेश हो । र ५२ सालपछि सुरm भएको सशस्त्र द्वन्द्व त झन् त्यो परिवेशभित्रको परिवेश हो । विषय त एउटा १४–१५ वर्षे किशोर हो ।

विष्णु सापकोटा विष्णु सापकोटा
२०८२ असोज २१ गते ७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरेश प्राञ्जलीको पहिलो उपन्यास तुइनले कर्नाली परिवेशमा १४–१५ वर्षे किशोर भूमिराजको जीवन र द्वन्द्वलाई मेलङ्कलिक शैलीमा प्रस्तुत गरेको छ।
  • उपन्यासले भूमिराज र मालतीको प्रेम, परिवारको मृत्यु, र द्वन्द्वको पीडालाई संवेदनशील तरङ्ग र गम्भीर कथानकमा बुनेको छ।
  • लेखकले विषाद भावनालाई गहिरो तर सहज रूपमा व्यक्त गर्दै पाठकलाई पात्रसँग अन्तर्क्रिया गराउन सफल भएका छन्।

उपन्यासको बीचतिर एउटा चिठी छ, प्रमुख पात्र मालतीले लेखेको । त्यहीँ पुगेको थिएँ, चिठी पूरै पढ्न सकिनँ । आफ्नो पढ्ने कोठा, जहाँ म थिएँ, पहिले त्यसको चुकुल लगाएँ । अनि उपन्यासलार्ई तत्काल आँखामा नपर्ने गरी डेस्कमुनि राखेर बिस्तरामा पल्टिँदै टिस्युले आँसु पुछें ।

घरका कसैले देखेर के भयो भन्लान् भन्ने अब भएन । तत्काल कोही बोल्न आए बोल्न सक्ने स्थिति पनि थिएन । गलाको अवस्थाले न मनको । यसअघि मनभित्रै यतिसारो म कहिले भक्कानिएको थिएँ सम्झन पनि मन लागेन ।

तुइनको जुन कथावस्तु छ त्यसलार्ई ‘न्यारेट’ गर्ने उपन्यासका किशोर पात्रले मभित्र आँधी सिर्जना गरेका थिए । चिठी लेख्ने मालती ती किशोरकी प्रेयसी थिइन् । तर त्यसबाट पाठकमा कस्तो भाव पैदा गर्ने भनेर अविरल ‘मोडरेट’ गर्ने भने किशोर नै थिए । त्यही भावको झङ्कारमा अडिएको मलार्ई रोकिएको पानाबाट अगाडि बढ्न अर्को दिन पर्खन प¥यो । तर संवेदनामा उद्वेलित भएर पढ्न नसकेको त्यस क्षण मलार्ई आफू फेरि धनी भइरहेको अनुभूति भयो ।

प्रत्येक पटक सुन्दर चीज पढ्दा म धनी भएको अनुभव गर्छु । जब आफूभित्रको संवेदना थप केही निखारिन्छ, आफ्नै ‘बेटर भर्जन’सँग संवाद गर्दा सुन्दर लाग्छ । तुइनले मलार्ई कसरी त्यस्तो बनायो, त्यो भन्छु ।

पहिलो पटक मैले तुइन छापिनेबित्तिकै पढेको हुँ, निकै उत्सुकतासाथ । सुरेश प्राञ्जलीको पहिलो उपन्यास, त्यसमा पनि सार्वजनिक हुनुभन्दा केही दिनअघि नै पढ्ने सुअवसर पाएको ममा यसको विषय कस्तो होला भन्ने त छँदै थियो । कथा कसरी भनिएको छ होला, लेखनशैली कस्तो होला, कुनै पूर्वाभास थिएन । तर उपन्यास सुरm गर्नेबित्तिकै एउटा अनौठो सम्मोहनले खिचेको अहिले पनि राम्रोसँग सम्झना छ । एउटा गम्भीर विषयलार्ई लयात्मक शैलीमा सलल बग्ने गरी कथामा कसरी बुन्न सकेका होलान् भन्ने त्यति बेलै लागेको थियो ।

तुइनले आफ्नो दशवर्षे यात्रा पूरा गर्दा म यसलार्ई दोस्रो पटक पढ्ने तयारीमा थिएँ । बाहिर असारको झरी झमझम परिरहेको थियो । ६ वर्षदेखि नेपालबाहिर रहेका कारण मलार्ई काठमाडौंको बर्खे मौसम ‘मिस’ भइराखेको थियो । म घरी तुइन पढ्दै, घरी पानीको सङ्गीत सुन्दै बसिरहें ।

तुइन फेरि पढ्नका लागि मैले सायद झरी सकिन दिनुपर्ने थियो । घाम लागेको दिन पढेको भए त्यसरी पढ्नै नसक्ने गरी रोकिनुपर्ने थिएन कि ? झरीले जमिन मात्र होइन, मन पनि कमलो बनाउँछ होला कि ? तर जे भयो सो त भई नै हालेको छ । अहिले सोच्दा समयको यो संयोगप्रति म अनुगृहीत छु ।

झरीमा मैले सुनेको तुइनको सङ्गीत ‘मेलङ्कलिक’ थियो । र तुइनको बयान यसरी गर्न मन लागेको छ कि, यस उपन्यासमा कर्नाली विषय होइन, परिवेश हो । र ५२ सालपछि सुरm भएको सशस्त्र द्वन्द्व त झन् त्यो परिवेशभित्रको परिवेश हो । विषय त एउटा १४–१५ वर्षे किशोर हो । उसले बाँचेको संसार हो । र उसले हामीलार्ई आफ्नो संसारबारे जसरी भन्छ नि, त्यो सुन्दा हामीभित्र छचल्किने आआफ्नो संसार हो । त्यो संसार ‘मेलङ्कली’को हो ।

विषादताको, उदासीको, आत्मपरीक्षाको हो । कलिला भूमिराजको जीवनमा जे–जे घट्छ, त्योसँग साक्षात्कार भएपछि पाठकका मनका कुन–कुन पत्र कसरी खुल्लान् ? र उसलाई लाग्ला, मेरो मनभित्र त्यति धेरै के–के रहेछ, त्यो मलाई किन थाहा नभएको होला ? पाठकले त्यो किशोरको संसारसँग अन्तक्र्रिया गर्दा उसले आफूभित्र जे भेटाउँछ नि, तुइनको विषय त्यो हो । यसरी हेर्दा, तपाईंले तुइन पढ्दा यसको विषय तपाईं नै हो ।

साँझ झर्दै गर्दा सुरू भएर साँझमै अस्ताउने यस उपन्यासको दोस्रो पानामै पहिलो मृत्यु घट्छ । प्राञ्जलीले पाठकमा ‘मेलङ्कली’को ‘मुड’ सिर्जना गर्न धेरै शब्द र समय खर्चन आवश्यक देख्दैनन् । यस्तो लाग्छ, उपन्यास सुरू हुनुभन्दा पहिले नै लेखक यथेष्टतामा त्यसमा भिजिसकेका छन् ।

त्यसैले दुई–चार पानामै थाहा भइहाल्छ, अगाडि बढ्दै जान पाठक केका लागि तयार हुनुपर्नेछ । एक दर्जन जति पाना अगाडि बढ्न नपाउँदै जब भूमिराजकी आमाको मृत्यु हुन्छ र त्यसले ती कलिला युवालाई पारेको आघातलाई उनले जति मार्मिकता मिसाएर भन्छन्, त्यति बेला आशा लाग्छ, उपन्यासमा अब केही हलुङ्गोपन छाउँदै जाला । तर अहँ, लेखकले पाठकका संवेदनशीलताका सीमा सीमाहीन भएर छाम्न छाड्दैनन् ।

पढुन्जेल धेरै तरङ्ग मनमा आए गए । तर एउटा भने स्थिर जस्तै बसिरह्यो— केबल पढ्दा त आफूभित्रै उब्जने भावनासँग बग्न यस्तो ‘इन्टेन्स’ अनुभव भइरहेको छ भने सिङ्गै कथा लेख्दा त्यति लामो समयसम्म यसैमा लुटुपुटु गर्न लेखकसँग कति धेरै संवेदना भएको हुँदो हो ?

मलाई भूमिराजप्रति मालतीको रोमाञ्चक स्नेहले छोएको हो । त्यसैले मलार्ई १५ वर्षे युवाले आफ्नो संसार जसरी हामीलाई बताउँछन्, त्यसले प्रभाव पारेको कुरा निर्धक्क भन्न सकेको हुँ ।

उपन्यासले पात्र र उसको वरिपरि बुनेको कथामार्फत व्यक्तिको भित्रभित्रसम्म पुग्न फराकिलो संसारका लागि ‘स्पेस’ दिन्छ । जीवनमा भोगिने अनगन्ती अनुभूति र त्यसबाट बन्ने अन्तर्दृष्टिमध्ये केही असामान्य हुन्छन्, जसको भाव अरुलाई भनूँ–भनूँ जस्तो लाग्ने हुन्छ । लेखकलाई पात्रमार्फत कथामा फैलिनलाई उपन्यासको ‘फर्म’ले माध्यम दिन्छ ।

भूमिराज मात्र १५ वर्षका भएका कहाँ हुन् र ? यो उपन्यास पढ्ने प्रायः सबै त्यो उमेर काटेरै आएका त हौं नि । मैले किशोर अवस्थामा भोगेको भूगोल भूमिराजको परिवेश झैं कर्नालीको त थिएन । तर हरेकका आफ्नै कर्नाली हुन सक्छन् । कर्नाली नै भएनन् भने पनि कर्नाली अनुभूत गर्ने संवेदना धेरै मानिसमा हुन्छन् । ती संवेदना ‘युनिभर्सल’ हुन्छन् । तुइन उपन्यासको तुइन त्यसैले वास्तविक पनि हो, बिम्ब पनि हो । तुइनको कर्नाली वास्तविक पनि हो, बिम्ब पनि हो ।

हो, कथानकको शैली वा कथावाचकले पुर्‍याउने अनुभूतिको अनन्त सघनताले मलार्ई मालतीको चिठी पढ्दा त्यति धेरै छोएको होला । हुन सक्छ, मभित्र तपाईंहरु धेरैसँग जस्तै, ती भावनाका पत्र वा त्यसका लागि सम्भावना पहिल्यैदेखि थिए । तुइनले तिनलाई तिखारिदिए, निखारिदिए । त्यसैले मलाई उपन्यासको संसार मन पर्ने हो । त्यो संसार मलाई ‘बाहिरी’ संसारको ‘घटनामय’ वास्तविकताभन्दा बढी वास्तविक लाग्ने हो ।

तुइनको कथा कर्नाली नदीको आसपास बग्छ मात्र होइन, रोकिन्छ पनि । तर हाम्रा कथावाचक किशोरले नदीलाई कुनै रोमाञ्चक बिम्ब बनाएर हामीलाई अलमल्याउँदैनन् । जसरी युद्धको सन्त्रासले बनेको उनको मानसपटल छ, जसरी मृत्युका शृङ्खलाले घेरिएको उनको अन्तर्मन छ, त्यसरी नै एउटा भयको पर्यायका रुपमा कर्नाली उभिएको छ । आँसु जस्तै कर्नालीको पानी त बग्ने नै भयो । तर कर्नाली आफू भने निर्दयी पर्खाल जस्तो उभिएको छ । आफ्ना जति मर्दै, सकिँदै गर्दा आफू पनि बाँच्दै सकिने नै त हो । आमापछि बुबा अनि दिदी । मानौं, त्यो मृत्युमय सांसारिकीको सन्त्रासमा एउटा अजस्र सौन्दर्यको अर्थ लाग्ने चीज भनेको केवल उसलाई मालतीको समर्पित प्रेम हो ।

दिदीको अप्रत्याशित अन्त्यले स्तब्ध पारेको भूमिराजको मनले घर फर्कंदा मालतीले गाउँ छाडेको सुन्नुपर्छ । साँच्चै यो मनमा वेदना सहने कति ‘जेटाबाइट’को सामथ्र्य हुन्छ होला ? तुइनका सर्जकको मनको सामर्थ्य कति होला ? मलाई थाहा छैन । कथामा भाउजू त्यस्ती पात्र छिन्, जसको कोमलताले उपन्यास पढेर सकेको धेरै बेरसम्म पाठकाको मनलाई शान्त पारिराख्छ।

भूमिराजलाई आफ्नो वात्सल्यको च्यादरमा जोगाएर बचाउनुपर्ने उनको भूमिकाले गर्दा पढ्दापढ्दै उनी पाको उमेरकी लाग्छिन् । तर उनी पनि त एउटी भर्खरकी युवती हुन्, जसलाई आफूलाई विवाह गरेर ल्याएको श्रीमान् युद्धमा मरेको छ कि ज्युँदै छ थाहै छैन । उनका सपना, डर र उनले बाँच्नुपरेको जीवनलाई अग्रतामा राख्ने हो भने त्यो फेरि अर्को उपन्यास हुन्थ्यो होला।

उपन्यासले जति ठूलो क्यानभास दिने भए पनि यसले एक–दुईभन्दा बढी पात्रका कथाका गहिराइलाई उत्तिकै प्रमुखता दिने शैली नभेट्न सक्छ । त्यसैले भूमिराजकी भाउजूको कथा उनका देवरको कथासँगै सुरू भएर उनीसँगै सकिन्छ । जब भूमिराजले आफ्नो कथा हामीलाई सुम्पिएर आफू अस्ताउने जनाउ दिन्छन्, त्यस बेला मलाई लागेको थियो, भाउजूले उनी अस्ताएको आहिलेसम्म थाहा पाएकी होलिन् कि पाइनन् होला ? थाहा पाउँदासम्म उनको जीवन कस्तो घुम्तीमा पुगेको हुन्छ होला ?

मालतीले तुइन पढेर आफ्ना कान्छाबारे के सोचिराखेकी होलान् ? मैले अहिले यस्तै सोचिराखेको छु।

तुइनको सबैभन्दा शक्तिशाली शैली यसका ‘न्यारेटर’ हुन् । विषादको यति गहिरो ‘थिम’लाई सम्पूर्ण कथाभर यति एकनासले पाठकलाई खिचेर राख्न उनले कसरी सकेका होलान् ? किन कतिखेर पनि मलार्ई लागेन ल भैगो तिमीलाई अब थप जेसुकै होस्, म हिँडें भन्ने । लेखक आफू विषाद भावनाको आँधीभित्र फसेर पनि कसरी सकेका होलान् पाठकलाई शान्तभावमा आफ्नो कथाप्रति विश्वासमा लिइरहन ?

यही बिन्दुमा आइपुग्दा हो मलाई गहिरोसँग लागेको, हामी सबैसँग भूमिराजको कर्नाली नहोला । हाम्रा भोगाइको ‘इन्टेन्सिटी’ फरक होला ? तर सायद हामी सबैभित्र उनको त्यो संवेदना अनुभूत गर्ने सम्भावना हुन्छ । ‘न्युरोसाइन्स’ले पनि भन्दो रहेछ, उपन्यास पढ्दा कुनै पात्रको वियोगमा मैले सुँक्कसुँक्क गर्दा मेरा जुन ‘न्युरोन’ सक्रिय भएका हुन्छन्, आनो कुनै आफन्तको वियोगमा हामी रुदा सक्रिय हुने ‘न्युरोन’ पनि तिनै हुन् ।

‘न्युरोन’ले काल्पनिक र वास्तविक अनुभूति भनेर फरक छुट्याउँदैनन् । त्यस्तो तथ्य थाहा पाउँदा मलाई झन् लाग्छ, उपन्यासको जीवन साँच्चैको जिन्दगीभन्दा कम वास्तविक कसरी भयो त ? तुइनको व्याख्याका लागि मलाई ‘मेलङ्कली’को थिम उपयुक्त लाग्नुको कारण पनि यहीँनिर जोडिन्छ ।

हुन सक्छ, सुरेशले पहिले ‘थिम’ रोजेका थिए अनि त्यसपछि त्यस ‘थिम’मा सिर्जना गर्ने संसारका लागि कर्नालीको इतिहासदेखिको पीडा, वर्तमानको उकुसमुकुस र सशस्त्र द्वन्द्वको विरोधाभासलाई बुनेका थिए । वा यो पनि हुन सक्छ, उनले पहिले लेख्ने परिवेश र पात्र छानेका थिए । र उनको आफ्नो लेखाइको सूक्ष्म कलाले उपन्यासको ‘थिम’ यति सशक्त रुपमा स्थापित भएको हो । उपन्यासमा जुन ‘टोन’ छ, कथा र पात्रको परिवशका लागि त्यो थाहै नपाइने गरी स्वाभाविक लागेको छ ।

त्यति कठोर परिवेश र समयले एकपछि अर्को गर्दै चलाएको क्रूरताको हुरीमा भूमिराज र मालतीको सम्बन्धको दीप भने कहिल्यै निभेको छैन । मालतीले गाउँ छाडेपछि भूमिराजका दुःखका सिलसिला झनै विकराल हुँदै जान्छन् । उनी आफैं माओवादी र सेनाबीच थिचिँदै–पिल्सिँदै, भाउजूले आफूमा देखेको सपना पछ्याउँदै भागिरहेका हुन्छन् ।

कहाँ पुग्दै छु भन्ने थाहा नपाएको मनको अन्धकारमा पनि मालतीको सम्झनाको उज्यालोले प्रकाश दिन छाड्दैन, अन्तिम साँझसम्मै । उनीहरुको त्यो निर्दोष, सौन्दर्यमय सम्बन्धलाई अक्षुण्ण राख्न सायद उनीहरुलाई सधैंका लागि छुट्याउनु नै पर्थ्यो।

म प्रेमको सौन्दर्यले सबै सांसारिकता बिर्साएका जोडी देख्दा रमाउँछु । तर त्यो सौन्दर्यले अमरत्व प्राप्त गर्नु छ भने त्यही उत्कर्षमा उनीहरु छुट्टिएको हुनुपर्ने अनिवार्य जस्तै लाग्छ । मलार्ई मालतीले बिदा भन्न नपाई छुट्टिएको घटना काव्यिक दृष्टिले उत्कृष्ट लागेको छ । उनको चिठीले त्यसै मलाई त्यति धेरै छोएको होइन ।

यतिका वर्षपछि तुइन फेरि पढ्दा मलाई जोड दिएर भन्न मन छ, सुरेश प्राञ्जली स्वभाव र शैली दुवैमा गम्भीर प्रकृतिका लेखक हुन् । उनले लेख्ने विषय र पात्र पनि गम्भीर छन् नै, ती विषय र पात्रलाई बुन्ने उनको कला जति लयात्मक छ, त्यति नै गम्भीर छ। त्यसैले हुनुपर्छ, मैले बुझेसम्म नेपाली साहित्यमा तुइन एउटा गम्भीर कृतिका रुपमा स्थापित भइसकेको छ ।

सुरेश प्राञ्जलीको पहिलो उपन्यास तुइनबारे अर्का उपन्यासकार तथा लेखक विष्णु सापकोटाको समीक्षात्मक टिप्पणी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?