
२२ असोज, जनकपुरधाम । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् । खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो ।
आज पत्रकार सम्मेलन गर्दै बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?’ खनालले बिदाको दिन सरकारी गाडी प्रयोग गर्दा युवा संघले साँचो खोसेको नेता बस्नेतले स्मरण गरे ।
उनले सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखे । ‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छन्, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’ बस्नेतले भने ।
ऊर्जामन्त्री घिसिङ जतिको भ्रष्टाचारी मान्छे कोही नदेखेको उनको आरोप थियो । उनले भने, ‘सबैभन्दा पहिला छानबिन कुलमानजी बाट सुरु गरौं । कुलमान घिसिङ जतिको भ्रष्टाचारी मैले कोही देखेको छैन । मैले त धेरै अगाडिदेखि भनेको हो ।’
गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगलाई सहयोग गर्न आफूहरू तयार रहेको भन्दै उनले त्यसमा कुनै समस्या नरहेको बताए ।
पुराना दल, नेकपा एमाले वा आफूहरुमाथि पनि आशंका छ भने छानबिनको दायरामा आउन तयार रहेको बताए । तर जेनजी युवाहरूको वैशाखी टेकेर सत्तामा पुगेका हरेक व्यक्तिहरुमाथि पनि छानबिन हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4