+
+
Shares

उखु किसानलाई ७५ भनेर ७० रुपैयाँ दिइएको रहेछ : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १७:००

२२ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् ।

मन्त्रालयमा बुधबार भएको कृषि पत्रकारहरूसँगको अर्न्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । किसानलाई प्रतिक्विन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको उनले बताए ।

के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ थियो ।

‘७५ रुपैयाँ उनीहरूलाई प्रोत्साहन स्वरुप भनेर प्रतिक्विन्टल उखु जुन पेलिन्छ, त्यसमा सरकारले ७० रुपैयाँ दिइरहेको रहेछ । गत वर्ष के भयो थाहा भएन, त्यसालाई घटाएर ३५ रुपैयाँमा पारे । अब ती किसानहरू ४०/५० हजार किसानहरूको माग ३५ रुपैयाँ किन घटाइयो हामीलाई ७० रुपैयाँ चाहियो भनेर छ,’ कृषिमन्त्री परियारले भने, ‘८० करोड बराबरको दायित्व अर्को थपिँदैछ । किसानहरूको मर्का त हामीले बुझ्नुपर्‍यो नि । कि त सरकारले पहिले देखी दिइरहेको कुरा अहिले अकस्मात घटाउनपर्ने कारण के थियो होला ? ३५ रुपैयाँमा किन झार्‍यो ?’

दुग्ध विकास संस्थानले पनि ठूलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए । संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी उनले दिए । दशैँ अगाडि ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले बताए ।

‘५३ करोड अहिले बुझाउनुपर्नेछ किसाहरूको, अहिले यहाँ मलाई बारम्बार फोन र म्यासेजहरू आइरहेको छ । तपाईं अचम्म मान्नुहोला, केही किसानहरूले आएको भोलिपल्ट भएको छैन, दूधको पैसा कहिले तिर्नुहुन्छ ? भन्छ । अलिकति धैर्य राख्नुस् । अहिले अर्थमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु । यसलाई पनि समाधान गर्ने हामी कोशिस गर्नेछौँ,’ उनले भने, ‘अहिले भर्खर पनि मैले अघि नै भने ८३ करोड बाट ३० करोड घटिसक्यो । कति राम्रो ट्रेन्डमा गइरहेको छ । हामी त्यहाँका म्यानेजमेन्टमा पनि प्लान बुझिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?