News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको माग गर्नेबारे नेपाली कांग्रेससँग छलफल गर्ने बताएका छन्।
- ओलीले नेतृत्व नछाड्ने प्रष्ट संकेत गर्दै पार्टीलाई एकताबद्ध र सशक्त बनाउनुपर्ने बताएका छन्।
- ओलीले जेनजी आन्दोलनलाई विदेशी हस्तक्षेप र षडयन्त्र भएको दोहोर्याउँदै त्यसको विरोधमा अदालत जाने संकेत गरेका छन्।
२२ असोज, पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् ।
जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले सवाल उठाए भने र नेतृत्व हस्तान्तरणको बहस उठाएको जेनजी र आन्दोलनलाई समेत सम्बोधन गर्नुपर्ने धारणा राखे ।
प्रदेश र जिल्ला अध्यक्ष तथा दुवै तहका इन्चार्जहरूको भनाइ तथा सुझाव सुनेपछि ओलीले अहिलेकै परिस्थितिमा नेतृत्व नछाड्ने प्रष्ट संकेत गरेका छन् । उनले नेतृत्व पनि नछाड्ने र संसद भंग गरेर बनेको अन्तरिम सरकारकाविरुद्ध अदालत जाने संकेत गरेका हुन् । ओलीले संसद पुनर्स्थापनाको माग गर्नेबारे नेपाली कांग्रेससँग छलफल गर्ने बताएका छन् भने जेनजी आन्दोलनलाई विदेशी हस्ताक्षेप र अन्य शक्तिहरूको चलखेल नै भएको दोहोर्याएका छन् ।
अध्यक्ष ओलीले अहिले नेतृत्वको प्रश्न उठाउने बेला नभएर पार्टीलाई एकताबद्ध र सशक्त गराउनुपर्ने बेला भएको जिकिर गरेका छन् । उनले पार्टीको नेतृत्वमा रहेर नगर्नुपर्ने काम, पार्टीको विचार र दृष्टिकोणको शिर झुकाउने काम नगरेको बताउँदै नेतृत्व नछाड्ने प्रष्ट रुपमा संकेत गरेका हुन् । उनले सक्दासम्म नेतृत्व र पार्टीको हितमा काम गर्न नछाड्ने संकेत गरेका छन् ।
ओलीले कुनै पनि हालतमा पार्टीको शिर झुक्न नदिने कुरा दोहोर्याइरहे भने जेनजी आन्दोलनका कतिपय मागमा सहमत भए पनि ठूलो षड्यन्त्र गरेर देशमा विध्वंस मच्चाइएको जिकिर गरिरहे ।
‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ । कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ । अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ,’ एमाले कास्की जिल्ला अध्यक्ष वैनबहादुृर क्षेत्री अधिकारीले सार्वजनिक गरेको छोटो भिडियोमा ओलीले भनेका छन्, ‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु, ।’
अध्यक्ष ओलीले २४ गतेबाट सचिवालय र २७ गतेबाट केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । त्योभन्दा अघि प्रदेशका इन्चार्ज र अध्यक्ष, जिल्लाका इन्चार्ज र अध्यक्षलाई भर्चुअल बैठक राखेर जेनजी आन्दोलन, त्यसको कारण, सत्ता छाड्नुपर्ने अवस्था र अबको पार्टी नीतिबारे ओलीले बिफ्रिङ गरेका हुन् भने उनीहरूका भनाइ तथा सुझावसमेत सुनेका थिए ।
बैठकमा ओलीले देशमा अहिलेको परिस्थिति सिर्जना गर्नुमा आफ्नो अलिकति पनि भूमिका नरहेको बताएको र अब पनि तत्काल नेतृत्व छाड्नेबारे नसोचेको बताएको कास्की अध्यक्ष वैनबहादुरले बताए ।
‘हामीले अहिलेको परिस्थिति सिर्जना हुनुका कारण, २४ गतेको घटना र त्यसपछिको नेतृत्वका विषयमा कुरा राख्यौं,’ वैनबहादुरले भने, ‘उहाँले जेनजी आन्दोलनको घोषणादेखि २४ गतेसम्मको घटना र त्यसपछि उत्पन्न परिस्थितिका बारेमा कुरा राख्नुभयो । यो बेला पार्टी अझै सशक्त र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।’
जिल्ला अध्यक्षहरूले जेनजीको मागअनुसार पार्टीले केही न केही नयाँपन दिएर नयाँ अनुहारका साथ आगामी चुनावमा जानुपर्ने नत्र तल्लो तहमा बसेर काम गर्न समस्या पर्ने अहिलेको अवस्थाबारे बिफ्रिङ गरिएको स्याङ्जाका अध्यक्ष गैरेले बताए । तर, ओलीले अहिलेको परिस्थितिअनुसार नेतृत्व नछाड्ने संकेत गरेको उनको भनाइ थियो । ‘हामीले तल्लो तहको आवाज, पार्टी रुपान्तरण र अब कसरी जाने भन्ने विषयमा धारणा राखेका थियौं,’ उनले भने, ‘देश र पार्टीको हितमा सक्दासम्म नेतृत्व गर्ने उहाँको भनाइ थियो । पार्टी नेतृत्वको सन्दर्भमा पार्टीको विधि पद्धतिअनुसार हुने अध्यक्षज्यूले बताउनुभयो ।’
विधान महाधिवेशन भएको ६ महिनाभित्र पार्टी महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार फागुनभित्र गर्नुपर्ने भएकाले यसबारे अहिले चिन्ता गर्नुनपर्ने ओलीको भनाइ छ । तर, केही जिल्ला अध्यक्षहरूले भने वर्तमान परिस्थिति र जेनजी पुस्ताको मागअनुसार पार्टीलाई रुपान्तरण र नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेका थिए । कतिपयले पार्टी अध्यक्षहरूले महाधिवेशनलाई अगाडि सार्नुपर्नेसमेत धारणा राखेका थिए ।
ओलीलाई प्रश्न– जेनजीका माग किन समयमै सम्बोधन गरिएन ?
प्रदेश र जिल्ला अध्यक्षहरूले एमाले अध्यक्ष प्रधानमन्त्री भएकै कार्यकालमा देशमा जुन घटना घट्यो, त्यसको समीक्षा पनि गर्नुपर्ने भनाइ राखेका थिए । एमाले स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे ‘पारस’का अनुसार प्रत्येक जिल्ला अध्यक्षलाई आफ्ना भनाइ राख्न ३/३ मिनेटको समय दिइएको थियो ।
‘अध्यक्षहरूले जेनजी आन्दोलनको माग र तल्लो तहसम्म देखा परेको अहिलेको अवस्थाबारे बिफ्रिङ गरेका थियौं,’ गैरेले भने, ‘उहाँले जेनजी पुस्ताको माग सम्वोधन गर्ने क्रममै सरकारले काम गरिरहेको बताउनुभयो । नेपाल र पार्टीकोसमेत हितलाई हेरेर काम गरिरहँदा षडयन्त्रका साथ देशमा ध्वंस मच्चाइएको बताउनुभयो ।’
जिल्ला अध्यक्षहरूले त्यत्रो आन्दोलनको तयारीबारे सरकार किन बेखबर भयो, राज्यको सुरक्षा संयन्त्र किन कमजोर भयो र विध्वंसात्मक तयारी हुँदा पनि सरकारले किन रोक्न सकेन भन्ने सवाल उठाएको कास्की अध्यक्ष अधिकारीले जानकारी दिए । ‘बेलैमा सूचना प्राप्त किन गर्न सक्नुभएन, देशको संयन्त्र किन यति कमजोर भयो, सरकारले किन जेनजीको माग बेलैमा सम्बोधन गर्न सकेन भनेर सोधिएको थियो,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘उहाँले यी सबै षडयन्त्रका कारण खुल्दै जाने बताउनुभयो ।’

ओलीले २२ गते नै सुरक्षा बैठक राखेर जेनजी आन्दोलन बारे छलफल गरेको बताएका थिए । ओलीले त्यो खालको आन्दोलन होला भन्ने सूचना प्राप्त नगरेको र सुरक्षित हिसाबले नै आन्दोलन अवतरण हुन्छ भन्ने बिफ्रिङ भएको दाबी गरेका छन् ।
‘जेनजी आन्दोलन शान्तिपूर्ण हुन्छ । बढीमा १० हजार मानिस होलान् । यो आन्दोलन सुरक्षित रुपमै अवतरण हुन्छ भन्ने बिफ्रिङ गरिएको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘सुरक्षाका साथीहरूले पनि त्यो खालको बिफ्रिङ गर्नुभएन ।’
जेनजी आन्दोलनको नाममा देशका संरचना ध्वस्त पार्ने, देशलाई असफल दिशातर्फ लैजाने सन्दर्भमा विदेशी शक्तिको संलग्नता भएको र त्यसमा नेपाली नै प्रयोग भएको ओलीले बताएको अधिकारीले जानकारी दिए ।
ओलीले २४ गते राजीनामा दिइसकेको अवस्थामा पनि जसरी सरकारी संरचना जलाइयो, त्यो नियोजित रुपमा भएको जिकीर गरेका छन् । देशमा आतंक सिर्जना गरेर आफूहरूलाईसमेत सिद्याउने षडयन्त्रस्वरुप २४ गतेको घटना घटेको ओलीको भनाइ थियो । ओलीले जेनजीका माग सम्वोधनकै लागि प्रयास गरिरहेको पटक पटक दोहोर्याइरहेका थिए ।
कांग्रेससँग छलफल गरेर संसद् पुनर्स्थापनाको माग गर्ने
जेनजी आन्दोलनको जगमा पूर्वप्रधानध्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको ओलीको जिकिर गरेका छन् । जेनजी आन्दोलनकै नाममा सार्वभौम संसद भंग गरेर असंवैधानिक बाटोबाट सरकार बनेकाले त्योविरुद्ध एमाले एकतावद्ध हुन ओलीले आह्वान गरेका छन् ।
अध्यक्षहरूसँगको बैठकमा संसद् पुनर्स्थापनाको माग गर्ने वा तोकिएकै मितिमा निर्वाचन गराउन सहयोग गरेर चुनावमा होमिने भन्ने विषयमा दुवैखाले आवाज उठेका थिए । संसद पुनर्स्थापनाको माग पनि गर्ने र पार्टी रुपान्तरण तथा सुदृढीकरणको काम पनि सँगसँगै गर्नुपर्ने अतिपय अध्यक्षहरूले बताएको एमाले कास्की अध्यक्ष बैनबहादुरले जानकारी दिए ।
ओलीले भने यो चुनावी सरकार नै हुन नसक्ने, यो सरकारले चुनाव गराउन पनि नसक्ने जिकिर गरेका थिए । चुनाव गर्नै नमिल्ने र हुनै नसक्ने परिस्थिति भएकाले पुनर्स्थापनाको पक्षमा लाग्ने गरी तयारी गर्नुपर्ने हुनसक्ने ओलीले बताएको उनले जानकारी दिए ।
ओलीले जेनजी आन्दोलन र विध्वंशमा नेकपा माओवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीकोसमेत संलग्नता देखिएको आरोपसमेत लगाएका थिए । त्यसकारण पनि संसद् पुनर्स्थापनाको मागबारे कांग्रेससँगको सल्लाहपछि निर्णय गर्ने ओलीले अध्यक्षहरूलाई बिफ्रिङ गरेका छन् ।
संसद पुनर्स्थापनाको माग गर्दा यसअघि ओलीले नै विघटन गरेकाले प्रतिउत्पादक हुन सक्ने सवालसमेत अध्यक्षहरूले उठाएका थिए । संविधानको धारामै टेकेर ओलीले संसद विघटन गर्दासमेत सर्वोच्च अदालतले मिल्दैन भनेको ओलीले स्मरण गरेका थिए । ‘अहिले सरकार संविधानमै नटेकी बनेको र संविधानको धारामै नटेकी संसद् विघटन गरिएकाले संसद् पुनर्स्थापित हुने उहाँको जोड थियो,’ कास्की अध्यक्ष अधिकारीले भने ।
जिल्ला तहसम्मकै आवाज र सुझावलाई सम्बोधन गर्दै सचिवालय तथा केन्द्रीय समितिको एजेण्डा बनाउने तयारीमा ओली छन् । तर, ओलीले तत्काल महाधिवेशन डाक्ने, नेतृत्व हस्तान्तरण गर्नेबारे बहसै गर्न नचाहेको अर्का एक जिल्ला अध्यक्षले बताए ।
‘उहाँ नेतृत्व छाड्न होइन, पार्टी ठिक थियो । ठिक ढंगले सरकारले काम गरिरहेको थियो । जेनजीकै मागअनुसारकै काम सरकारको प्राथमिकतामा थियो । जेनजीको नाममा देशी–विदेशी षडयन्त्र भएको हो भन्ने कुरा बुझाउनुपर्छ भन्ने पक्षमा उहाँ देखिनुहुन्छ,’ ती जिल्ला अध्यक्षले भने, ‘तत्काल नेतृत्व छाडेर ओलीको विकल्प पार्टी र देशलाई चाहिएको छ भन्ने माग नै गलत हो भन्ने उहाँको जोड छ । बरु विदेशी षडयन्त्र, सरकारी संयन्त्र जलाउने, तोडफोड आगजनी गर्ने तत्वकोविरुद्ध पार्टी एकढिक्का भएर लाग्नुपर्छ भन्ने उहाँको तर्क छ ।’
प्रतिक्रिया 4