+
+
Shares

जापानमा नेपालीले नागरिकता त्याग्ने लहरबीच जेनजीको परिवर्तनले देखाएको आशा

सरकारले आन्दोलनमा भएको क्षतिको पुननिर्माणमा आफूले सकेको सहयोग गर्न आह्वान गरेको छ । विदेशमा आर्जन गरेको सीप, पुँजी, विश्वास, प्रविधि र नेटवर्क अब मातृभूमिमा प्रयोग गर्ने समय आएको छ ।

जिज्ञानकुमार थापा जिज्ञानकुमार थापा
२०८२ असोज २५ गते ७:३६
जापानी नागरिकता प्राप्त गर्ने नेपालीको तथ्यांक ।

२५ असोज, टोकियो । जापानको न्याय मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् २०२४ मा जापानी नागरिकता प्राप्त गर्ने विदेशीको कुल संख्या ८८६३ पुगेको छ । तीमध्ये तेस्रो ठूलो समूह ५८५ जना नेपाली रहेका छन् ।

सन् २०२० मा करिब १०० जना, २०२१ मा १०८ जना, २०२२ मा १३९ जना,२०२३ मा ३३१ जना, र २०२४ मा त्यो सङ्ख्या बढेर ५८५ जना पुगेको हो ।

चीन र कोरियाली मूलका नागरिकहरु जापानी नागरिकता लिनेमा अझै अग्रस्थानमा छन्, तर पछिल्ला वर्षमा नेपाल, श्रीलङ्का, म्यानमार, बंगलादेशका लगाएतका मुकुकका नागरिकले पनि तीव्र रूपमा नागरिकता परिवर्तन गर्न थालेका तथंयाङकले देखाउँछ ।

जापानमा बस्ने विदेशीहरूका लागि दुई प्रमुख विकल्प हुन्छन्—स्थायी बसोबास (एइजु) र नागरिकता (किखा)। स्थायी बसोबास भिषा हुनेहरु कानुनी रूपमा जापानको नागरिक हुँदैनन तसर्ध गैरकानूनी हर्कत गरेमा देश निकालासम्म गर्न सक्छ ।

जापानी नागरिकता लिएमा निर्वाचनमा चुन्ने वा चुनिने अधिकार,केन्द्रीय सरकारमा रोजगारी, र देश निष्कासनबाट पूर्णरुपमा सुरक्षा जस्ता अधिकारहरु प्राप्त हुन्छ । तर, जापानले दोहोरो नागरिकताको नीति अवलम्बन नगरेकोले जापानी नागरिकता लिनु भनेको नेपाली नागरिकता त्याग्नु हो र आफ्नो देशसँगको कानुनी सम्बन्धको अन्त्य गर्नु हो ।

हाल जापानमा विदेशीप्रति असहिष्णुताको भावना क्रमशः बढ्दै गएको सामाजीक सञ्जालहरुमा देखिने लेखहरुले पनि देखाइरहेको छ । प्रतिपक्षमा रहेका दलमा विदेशीहरू बढेकोमा नकरात्मक दलहरु पनि छन् भने सरकारमा रहेको दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूले पनि ‘जापानको पहिचान जोगाउन विदेशी नियन्त्रण आवश्यक छ’ भन्ने धारणा खुला रूपमा व्यक्त गर्न थालेका छन् । नवनियुक्त पार्टी अध्यक्ष तथा हुनेवाला प्रधानमन्त्री ताकाइची सानाएलाई पनि जापानी मिडियाहरुले आप्रवासन प्रति कडा नीति लिन सक्ने आकलन गरेको सुनिन्छ ।

हाम्रो देशका दृष्टिले हेर्दा बर्सेनि उलेख्य संख्यामा नेपाली नागरिकता त्यागेर जापानी बन्ने प्रवृत्ति बढेको कुरा चिन्ताको विषय हो । विदेशी भूमिमा काम र जीवनको स्थायित्व खोज्नु र विभिन्न विकल्पहरु खोज्नु त ठिकै हो तर यो केवल व्यक्तिगत रोजाइ होइन, समग्र नेपालको लागि राष्ट्रिय हानी पनि हो ।

देशले शिक्षित, दक्ष र ऊर्जाशील जनशक्ति गुमाइरहेको छ । नागरिकता फेर्नेहरूमध्ये धेरैजना युवा, उच्च शिक्षित र आर्थिक रूपमा सक्रिय वर्गका छन् । जसले देशभित्र विकासमा योगदान दिन सक्थे । देशमा रोजगारी, न्याय, भ्रष्टाचार उन्मुलन र स्थायित्व हुने वातावरण बनेमा हाल विदेश जान बाध्य लाखौं युवाहरूले आफ्नै देशमा रोजगारी गर्नेछन् र विदेशमा भएकाहरु पनि स्वदेशमा फर्कने क्रम बढ्नेछ । जुन हामी सबैको साझा सपना पनि हो ।

नयाँ पुस्ताका युवा (जेनजी) ले गरेको हालैको राजनीतिक परिवर्तन र त्यसपछि बनेको आन्तरिम सरकारको सकारात्मक पहल र सुधारका संकेतहरूले जनतामा एक खालको विश्वास जगाएको छ । अब सुशासन, पारदर्शिता र आर्थिक स्वावलम्बन तर्फ देश अघि बढोस् भन्ने जनआकांक्षा पनि छ ।

सरकारले आन्दोलनमा भएको क्षतिको पुननिर्माणमा आफूले सकेको सहयोग गर्न आह्वान गरेको छ । विदेशमा आर्जन गरेको सीप, पुँजी, विश्वास, प्रविधि र नेटवर्क अब मातृभूमिमा प्रयोग गर्ने समय आएको छ ।

देशले सबैकुरा तयार गरिदिएपछि मात्र म विदेशबाट फर्कौंला भन्ने होइन, बरु आफूले स्वदेशमा फर्केर उधोग व्यवसाय के सकिन्छ खोलेर अन्य नेपालीहरुलाई पनि रोजगारी दिने तर्फ सोचौं । हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक कदम चाल्यौं भने, आफ्नो देशलाई पुनः माथि उठाउन सक्छौं ।

(योकोहामा, जापान निवासी थापा अन्तर्राष्ट्रिय सम्बन्ध र नीति तर्जुमाका विज्ञ हुन् । उनले जापानको योकोहामा नेशनल युनिभर्सिटी मा सार्वजनिक प्रशासन र अन्तर्राष्ट्रिय विकास विषयमा स्नातकोत्तर तह पूरा गरेका छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?