
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक यात्राको जननी हो र २००७ सालदेखि विभिन्न आन्दोलनमा अग्रपंक्तिमा उभिएको दल हो।
- हाल कांग्रेस नेतृत्व व्यक्तिवादी र दिशाहीन भएकोले पार्टीमा साझा चेतना कमजोर भएको छ र संस्थागत कमजोरी देखिएको छ।
- कांग्रेसले नयाँ पुस्तासँग संवाद गर्न नसक्दा र पुरानो शैलीमा सीमित रहँदा पार्टीको भविष्य चुनौतीपूर्ण बनेको छ।
नेपाली कांग्रेस नेपालको राजनीतिक चेतनासँग गहिरो रूपमा जोडिएको पहिलो नाम हो । यो केवल एक राजनीतिक दल मात्र होइन, नेपालको लोकतान्त्रिक यात्राको जननी हो। देशमा जब-जब निरङ्कुशता, असमानता र हिंसात्मक सोचले टाउको उठाउँछ, कांग्रेस देश र जनताको पक्षमा अग्रपंक्तिमा उभिन्छ।
२००७ सालको क्रान्तिबाट सुरु भएको यो यात्रा २०१७ सालको ‘कु’ होस् वा जनमत संग्रह, २०४६ र २०६२/६३ का जनआन्दोलन हुन्, कांग्रेस सधैं परिवर्तनको अग्रदूत रह्यो। तर, रक्तपातपूर्ण द्वन्दमा होमिएको देशलाई मुलधारमा फर्काएको कांग्रेसभित्र अहिले अचानक अचम्मको मौनतामा देखिन्छ।
बुझ्नेहरूले आजको कांग्रेस त्यो ऐतिहासिक कांग्रेसजस्तो विचारको उज्यालो बोकेर हिँडेको पार्टी होइन, व्यवहारको अँध्यारोमा हरायो भन्न थालेका छन्। यही कारणले पार्टी आज दिशाहीन र अल्मलिएको महसुस हुँदैछ।
सत्तामा पटक–पटक पुगेपछि कांग्रेस सकारात्मक परिवर्तनका लागि संघर्षको प्रतीकबाट अचानक सत्ताको संरक्षक बन्न थाल्यो। त्यही परिवर्तनले कांग्रेसभित्र आत्ममूल्यांकनको संस्कृतिलाई खायो।
पदमा पहुँच पुगेका व्यक्तिहरूले पार्टीभन्दा आफूलाई ठूलो ठान्ने प्रवृत्ति बढाए। अप्ठ्यारो पर्दा अर्कोतर्फ चोरऔंला तेर्स्याएर आफू सबैको प्रिय बन्न खोज्ने खेलाडीहरू जन्मिए।
सत्तावादी शक्ति होस् वा हिंसात्मक आन्दोलन, सबैले कांग्रेसलाई सधैं पहिलो निशाना बनाएका छन्।
तत्कालीन राजा महेन्द्रको २०१७ सालको ‘कु’, ज्ञानेन्द्रको हस्तक्षेप वा एमाले-माओवादी आन्दोलन, सबैले कांग्रेसविरुद्ध जनतालाई उक्साउने प्रयास गरे। त्यही परम्परा अहिलेको ‘जेन जेड आन्दोलन’मा पनि देखियो। भदौ २३ र २४ मा भएको आन्दोलनमा कांग्रेस, विशेषतः यसको नेतृत्व, प्रत्यक्ष आक्रमणको लक्ष्य बन्यो।
तर, यो घटनाले केवल राजनीतिक विरोध होइन, कांग्रेसको संस्थागत कमजोरी पनि उजागर गर्यो। शेरबहादुर देउवा व्यक्ति हुन्, तर सभापति पद संस्था हो। सभापतिमाथिको आक्रमण सिंगो पार्टीमाथिको आक्रमण थियो तर नेताहरूको प्रतिक्रिया हेर्दा लाग्यो, कसैले यसलाई पार्टीको अपमानका रूपमा होइन, व्यक्तिगत घटना बनाउने प्रयास गरे। यसले जनतालाई सन्देश दियो- कांग्रेसभित्र साझा चेतनाभन्दा व्यक्तिगत प्रतिष्ठा बलियो हुन थालेको छ।
जेनजी आन्दोलनका क्रममा जलेका घरहरू; कोइराला निवास विराटनगर, गणेशमान निवास चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रम र सानेपास्थित केन्द्रीय कार्यालय। यी सबै कांग्रेसको इतिहासका प्रतीक हुन्। यी ठाउँहरू केवल ढुंगा–ईँटाका संरचना होइनन्, लोकतन्त्रको आत्मा बोकेका स्थल हुन्। यी प्रतीकहरूको ध्वंस कांग्रेसमाथिको वैचारिक आक्रमण थियो, तर कांग्रेस नेतृत्वले यस विषयमा खुलेर प्रतिक्रिया दिन सकेन।
कांग्रेसको नैतिक धरातल सकिएकै हो त ? २००७ सालको कांग्रेस र आजको कांग्रेसबीचको मूल भिन्नता विचार र दृष्टिकोणमा देखिन्छ। कांग्रेसले आफ्नो मूल मूल्य; लोकतन्त्र, समाजवाद र राष्ट्रिय एकतालाई समयअनुसार अद्यावधिक गर्न सकेको छैन। समाज बदलिँदै छ तर कांग्रेसको राजनीतिक सन्देश अझै जकडिएको छ।
नयाँ पुस्ताले जलवायु न्याय, लैङ्गिक समानता, डिजिटल स्वतन्त्रता, शिक्षा र रोजगारीका मुद्दा उठाउँछ तर कांग्रेसका वक्तव्यहरू अझै परम्परागत शक्ति सन्तुलन र पद व्यवस्थापनमै सीमित छन्।
यही कारण कांग्रेस अब अतीतको गौरव मात्र होइन, वर्तमानको उत्तर पनि खोज्नुपर्ने दल बनेको छ।
संविधानपश्चात् कांग्रेसको नीतिगत अस्पष्टता
नेपालको संविधान २०७२ जारी भएपछि कांग्रेसको भूमिका सत्ता व्यवस्थापनतर्फ बढी केन्द्रित रह्यो। संघीयता, सुशासन र पारदर्शिता लागू गर्ने अवसर हुँदा पनि कांग्रेसले प्रशासनिक पुनर्संरचना, स्थानीय जवाफदेही प्रणाली र संघीय मूल्य स्पष्ट गर्न सकेन। संविधान संशोधनको नाममा कांग्रेस पटक–पटक सत्ता साझेदारीको राजनीतिमा फस्यो।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने पार्टीकै सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गर्दा कांग्रेसको मौनता यसको चरित्रगत द्वन्द्व थियो। यस्ता क्षणहरूले नयाँ पुस्तालाई विश्वस्त पार्न असम्भव बनायो कि कांग्रेस अझै पनि लोकतन्त्रको वास्तविक रक्षक हो।
जनताले युग सुहाउँदो परिवर्तन चाहन्थे, तर कांग्रेसले पुरानै सोच र ढर्रामा राजनीति चलायो।आज जनताले सोधिरहेका छन्, कांग्रेस अझै पनि सुधारको वाहक हो कि केवल सत्ता सहभागी ? यो प्रश्नको जवाफ कांग्रेसले नीति र व्यवहारमा दिनुपर्छ।
पार्टीभित्रको लोकतन्त्र र संगठनात्मक चुनौती
कांग्रेसको प्रमुख समस्या नेतृत्वमा दिशा र ऊर्जा दुवैको अभाव हो। पार्टीभित्र विचार र नीति भन्दा पनि चरम गुट र पद व्यवस्थापन प्रमुख विषय बनेका छन्। युवा पुस्ता भनिएको नेतृत्वमा पनि यही गुटवाद र आफुवाद झाङ्गिन थालेको छ।
जुन पार्टीले देशमा बहुलवादको बीउ रोप्यो, त्यसकै भित्र अहिले असहमतिको डर फैलिएको छ। युवा पुस्ता निराश छन् । किनभने उनीहरूलाई पार्टीले अवसर होइन, सान्त्वना पनि दिन सकेको छैन।
नेतृत्वमा पुगेका नयाँ पुस्ताका नेताहरूले अझै बढी स्वार्थअनुकूल बोलेपछि संगठनमा ‘पुरानो पुस्ता मात्र सक्षम’ भन्ने मानसिकता बलियो हुँदै गएको छ। फलस्वरूप कांग्रेस युवा मतदातासँग संवाद गर्न असमर्थ बन्दै गएको छ।
इन्टरनेट पुस्ता अब भाषणले होइन, व्यवहारले मूल्यांकन गर्छ। तर कांग्रेसको नीति, संगठन र सञ्चार तीनै तहमा पुरानो शैली हावी छ। म आफू यो संरचनामा भएकाले यसको बचाव गर्नु भन्दा यसलाई सुधार्नु पर्छ भन्न हिचकिचाहट हुँदैन।
अचानक भएको आन्दोलनपछि सभापति देउवा गम्भीर घाइते हुँदा कांग्रेसले देशव्यापी संवाद सुरु गर्न सक्थ्यो । सर्वदलीय बैठक, शान्ति यात्रा, जनसंवाद अभियान आदि गर्न सक्थ्यो । जसका कारण हिंसात्मक आन्दोलनलाई संवादतर्फ मोड्न सक्थ्यो। तर कांग्रेस अलमलमै रह्यो।
कांग्रेस खोइ किन व्यक्तिवादी भएर गयो ? उसले न पार्टीलाई एक गराउन सक्यो, न त मुद्दा उठाउन सक्यो। सभापति बाहेकका नेतृत्वले सामूहिक निर्णय लिन सकेनन्। घटनापछिको पहिलो सन्देश नै कमजोर भयो, जसले कांग्रेसलाई बचाउ मुद्रा पुर्यायो ।
संकटले सधैं आत्मसमीक्षा गर्ने मौका दिन्छ, तर कांग्रेसले त्यो मौका प्रयोग गर्न किन सकेन ?
कांग्रेसलाई केवल नेतृत्व परिवर्तनले होइन, संस्थागत आत्ममूल्यांकनले बचाउन सक्छ। विधानले सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष आदि पदहरूलाई साझा नेतृत्वका रूपमा परिकल्पना गरेको छ तर व्यवहारमा यी पदहरू सजावट बनेका छन्। निर्णय एक व्यक्ति–केन्द्रित हुँदा संस्था कमजोर हुन्छ। त्यसैले अहिले जरुरी छ, पूरा नेतृत्व तहको सामूहिक आत्ममूल्यांकन र संस्थागत पुनर्जागरण।
अन्तमा: इतिहासले कांग्रेसलाई सधैं निर्णायक क्षणमा नेतृत्वको अवसर दिएको छ। तर, अहिलेको प्रश्न छ कांग्रेस फेरि ‘परिवर्तनको आवाज’ बन्न सक्ला कि ‘संरक्षणको प्रतीक’ मात्र रहला ? लोकतन्त्रको आत्मा कांग्रेसमै बाँचेको छ तर त्यो आत्मा जागृत गराउने जिम्मेवारी कांग्रेसकै काँधमा छ।
कांग्रेसले आत्ममूल्यांकन मात्रै होइन, पुनर्जागरणको ठोस दिशा तय गर्नुपर्छ। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायमा पुनः स्पष्टता ल्याउँदै सत्ता–सम्झौताको होइन, सिद्धान्त–आधारित गठबन्धनको बाटो समात्नुपर्छ।
संस्थागत रूपमा व्यक्तिकेन्द्रित होइन, निर्णय–संस्थामुखी प्रणाली निर्माण गर्दै प्रत्येक पदाधिकारीको भूमिकालाई व्यवहारिक र जवाफदेही बनाउन आवश्यक छ। साथै, नयाँ पुस्तासँग प्रत्यक्ष संवाद स्थापना गरी डिजिटल युगमा कांग्रेसका मूल्यहरू कसरी सजीव राख्ने भन्ने स्पष्ट रोडम्याप तय गर्नुपर्छ।
कांग्रेस अझै पनि नेपालको राजनीतिक इतिहासमा अद्वितीय संस्था हो। तर इतिहासले दिइरहेको चेतावनी स्पष्ट छ, जुन संस्थाले आफ्नै मूल्य बिर्सन्छ, उसले आफ्नै अस्तित्व गुमाउँछ ।
(बर्मा नेपाली कांग्रेस प्युठानका उपसभापति हुन् )
प्रतिक्रिया 4