
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' को मर्मस्पर्शी टिजर १४ कात्तिकमा सार्वजनिक गरिएको छ जसमा कवि नवराज पराजुलीका शब्द र आवाज समावेश छन्।
- टिजरमा जीवनको उत्तरार्धमा बाबु र छोराबीचको सम्बन्धलाई कवितामार्फत प्रस्तुत गरिएको छ र नीर शाह, महेश त्रिपाठी लगायत कलाकारको अभिनय छ।
- फिल्म निर्देशन दीपकप्रसाद आचार्यले गरेका हुन् र गोल्छा समूह र प्रिज्मा समूहले निर्माण गरेको फिल्ममा रिदम कँडेलको संगीत छ।
काठमाडौँ । १४ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परान’ को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ ।
काव्यात्मक शैलीमा बनेको टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ । पाका अभिनेता नीर शाहको जन्मदिन अवसरमा सार्वजनिक टिजरमा कवि नवराज पराजुलीका शब्द, आवाज छ ।
टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ ।
कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।
कवि पराजुलीले सो मनोभावनालाई निम्न प्रकारले प्रस्तुत गरेका छन् :
‘जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन ।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काएँ
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।’
टिजरमा शाहसहित महेश त्रिपाठी, मदनकृष्ण श्रेष्ठ र प्रवीण खतिवडालाई चित्रण गरिएको छ । फिल्ममा केकी अधिकारी, बुद्धि तामाङ, पूजा चन्द, अञ्जना बराइलीको पनि अभिनय छ ।
टिभी श्रृंखला ‘सक्किगो नि’बाट चर्चित कलाकार दीपकप्रसाद आचार्य (काकु)ले फिल्म निर्देशन गरेका हुन् ।
रिदम कँडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पण प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको दृश्य सम्पादन मित्र गुरुङले गरेका हुन् ।
व्यवसायीक घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्मको निर्माण गरेको हो ।
प्रतिक्रिया 4