+
+
Shares
अनलाइनखबर आर्काइभ :

हमास आक्रमणका घाइतेको सम्झना : ‘बंकरभित्र हानिएको ग्रिनेड विपिनले बाहिर फालिदिएका थिए’ 

गोलीबारीको २ मिनेटपछि दुईवटा ग्रिनेड बंकरभित्र फाले आतंकवादीले । एउटाचाहिँ विपिन जोशीले बाहिर फाले । अर्को चाहिँ बंकरभित्रै पड्किहाल्यो । त्यसपछि हामी सबैजना ‘ब्ल्याकआउट’ जस्तै भयौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १२:५४

२७ असोज, काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमामले इजरायलमा आक्रमण गर्दा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी इजरायली सेनाका अधिकारीले बताएका छन् ।

इजरायल र हमासबीच युद्धविराम भएपछि बन्धक छुटाउने क्रममा सोमबार इजरायली सेनाका अधिकारीहरुले जोशीको परिवार र नेपाली राजदूतावासलाई विपिन जीवित नरहेको जानकारी दिएका छन् ।

२०८० असोज २० मा हमास लडाकु इजरायली भूमिमा प्रवेश गरी आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीसहित करिब १ हजार २०० जना मारिएका थिए । ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए । एक जना जोशी बेपत्ता थिए ।

घाइते मध्येका एक कैलाली टीकापुरका धनबहादुर चौधरीले उक्त दिन कसरी घटना भएको थियो भन्नेबारे हिमालय रोडिजको सिजन ६ मा आफ्नो अनुभव सुनाएका थिए । जोशी बेपत्ता भएको घटना कस्तो थियो त्यसबारे चौधरीले सुनाएको अनुभव गतवर्ष अनलाइनखबरले प्रकाशित समेत गरेको थियो ।

चौधरीको भनाइ जस्ताको तस्तै :

म कृषिको विद्यार्थी हुँ । स्नातक सकेपछि २०२३ अक्टोबरमा इन्टर्नको रुपमा इजरायल गएको थिएँ कलेजबाट ।

छेउमा गाजा र प्यालेस्टाइन थियो । हामी बोर्डर साइडमा रमाइरहेका थियौं । अक्टोबर ७ को बिहान शनिबार एक्कासी माथि माथिबाट मिसाइलहरु जान थाले । थुप्रै बंकर हुन्छन् बोर्डर साइडमा । त्यहाँबाट हामी बंकरमा भाग्यौं ।

सुरुमा इजरायल नर्मल थियो । मिसाइल गइरहेको छ, केही हुँदैन जस्तो लाग्यो । एक घण्टापछि एक्कासी बाहिर गोलीबारीको आवाज आउन थाल्यो । २ जनाका साथीहरु बाहिर निस्किए । ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै दुईजना साथी बाहिर निस्किए । तिनीहरु त्यहीँ मारिए ।

गोलीबारीको २ मिनेटपछि दुईवटा ग्रिनेड बंकरभित्र फाले आतंकवादीले । एउटाचाहिँ विपिन जोशीले बाहिर फाले । अर्को चाहिँ बंकरभित्रै पड्किहाल्यो । त्यसपछि हामी सबैजना ‘ब्ल्याकआउट’ जस्तै भयौं ।

७० जना थियौं, दुई जना त गोली लागेर त्यहीँ ढले । केही मिनेटपछि हेर्दा २/३ जना साथीको खुट्टा नै थिएन । मेरो पनि खुट्टा ग्रिनेडको छर्राले रक्ताम्मे भएको थियो । सपना जस्तै लाग्न थाल्यो । हामी आत्तियौं । त्यसपछि अरु साथीहरुलाई फोन गर्न थाल्यौं । त्यसको आधा घण्टापछि इजरायली पुलिस आए । त्यसपछि आतंकवादी ग्रिनेड फालेर पछि हटे । उद्धार गर्न ३ जना पुलिस आएका थिए । धेरै पनि आएका थिएनन् ।

म त रक्ताम्मे भएर घिस्रिन सक्ने तर हिँड्न नसक्ने भइसकेको थिएँ । त्यतिबेला २/३ जना साथीहरु मरिसकेका थिए । १० जनाचाहिँ सुरक्षित थिए । उनीहरु अर्को बंकरमा सरेका थिए । मलाई पनि अर्को बंकरमा सिफ्ट गर्न प्रयास गरे तर सकेनन् । मलाई बंकरको बाहिर राखे ।

‘माथिबाट मिसाइल गइराखेको छ निरन्तर । यहाँ बाहिर बस्यो भने त बाँचिन्न’ जस्तो लाग्यो । त्यसपछि बंकरबाट घिस्रिँदै आफनो बेडरुममा गएँ । अब अट्याक भयो भने, म भित्र सेफ छु जस्तो भयो । त्यसपछि दुई साथी बंकरदेखि कोठाभित्र आए । एउटा साथी आएर म छेउको बेडमा सुत्यो ।

अर्को साथी फोन गर्दै थियो, पैताला थिएन उसको ।

बाहिर एम्बुलेन्स आयो, एम्बुलेन्स आयो भन्यो उसले । बाहिर फेरि दुई सट् गोली खायो । एउटा घाँटी र अर्को छातीमा । बाहिरबाट सट् आइरहेको छ, ऊ भित्र आयो र मेरो काखमा सुत्यो । तन्ना च्यातेर उसको गोली लागेको घाँटी र छातीमा बाँधिदिएँ । म त मर्छु होला, मेरो अन्तिम इच्छा मलाई पानी खुवाइदेऊ भन्यो । त्यसपछि कल गर्दै बाथरुमसम्म गएर त्यहाँबाट एक बोतल पानी ल्याएर उसलाई खुवाएँ ।

ऊ अर्को बेडमा गएर पल्टियो, म यताको बेडमा पल्टेको थिएँ । आधीघण्टा पछि ऊ पनि… । ऊ रहेन ।

मलाई पनि महसुस भयो कि ऊ रहेन । हल्लिन छोड्यो । अर्को साइडमा अर्को साथी पनि बित्यो ।

आशै थिएन, म पनि बाँच्छु होला भन्ने त्यतिबेला ।

एक घण्टापछि अट्याक भएन भने म पनि बाँच्छु होला भनेर भित्र महसुस भयो । अब चाहिँ म बाँच्नुपर्छ भन्ने फिलिङ आयो । त्यसपछि मैले तन्ना च्यात्दै पट्टी बाँधे, टिस्यु पेपरले घाउ सफा गर्नतिर लागेँ ।

अहिले पनि सर्जरी भएको छ खुट्टा सबै । त्यतिबेला बिहान १ बजेतिर पहिलो आक्रमण भएको थियो । दिउँसोको १२ बजिसक्या थियो । मैले ४/५ घण्टा बाँच्नका लागि संघर्ष गरेको थिएँ । मलाई भोक लाग्न थालेको थियो । त्यसपछि मैले कोठाको स्टकहरु खोज्दै खान थालेँ ।

बाहिर गोलीको आवाज आयो । झ्यालबाट हेर्दा उनीहरु इजरायली पुलिस रहेछन् । त्यसपछि मैल ढोका खोलेँ । हात माथि गरेँ । दुई जना पुलिस आएर काँध लगाएर मलाई लगे । एस्कर्टिङ गरेर हामीलाई फार्मको चोकमा लगियो । अर्को चोकमा जाँदा अर्को बंकरमा सिफ्ट गरिएका १० जना साथीमध्ये २ जनालाई मात्र देख्छु ।

ती साथीलाई सोधेको, ‘खै त अरु साथी ?’

‘त्यहाँ पनि गन अट्याक भयो । त्यहाँ त १० जना सुरक्षित थिए जस्तो लाग्या थियो । त्यहाँ पनि २ पटक गन अट्याक भयो यार, म त किचनको र्‍याकमा लुकेर बाँचें’ भन्यो साथीले ।

अनि हस्पिटलमा लगे मलाई, हस्पिटलभरि युद्धबाट आएका मान्छे मात्रै थिए ।

सबै चेकअप गरेर ५ दिनपछि मलाई डिस्चार्ज गरियो । अक्टोबर १२ मा धेरै पहल गरेर चार्टर्ड प्लेनमा गयौं । २५० विद्यार्थीलाई त्यो दिन उद्धार गरे । सबैजना नेपालमा सुरक्षित अवतरण त भए तर, त्यतिबेला म सुरक्षित छैन भन्ने किसिमको महसुस भइरहेको थियो ।

म मात्रै हिँड्न नसक्ने, ह्विलचेयरमा आएँ । यहाँ आएर मलाई यत्तिकै छोडिदियो । १ महिनाजति म चोटमा थिएँ । रगतबाहेक मैले सपना देखिनँ । सुत्दा रगतको मात्रै सपना देख्थेँ । टिचिङमा गएर थेरापी पनि गरेँ ।

अहिले सबै साथीले भनिरहेका हुन्छन् त जहाँ गएपनि विपिन जोशीलाई नर्बिसेस् । सरकारसँग गएर हुन्छ, जहाँ गएर हुन्छ उसलाई फर्काएर ल्याइदेऊ भन्छन् ।

अरु त बितेर गए । ऊ बित्या छ कि छैन, उसको घरमा ऊ एक्लो छोरो थियो । छोरा छ कि छैन भन्ने होला, उसको घरमा के भइरहेको होला ! उसको बुवाको दैनिक पोस्ट देखिरहेको हुन्छु । उहाँको ठाउँमा राखेर मैले आफूलाई हेर्न पनि सक्दिनँ, के भइराखेको होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?