News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ८ टिम छनोट भएका छन्।
- चौथो चरणको छनोटमा कतार र साउदी अरेबिया समूह विजेता बनेर विश्वकपमा छनोट भएका हुन्।
- एसियाबाट ८ टिम सिधै छनोट हुने र एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्ने अवसर पाउनेछ।
२९ असोज, काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ८ टिम छनोट भएका छन् । एसियन छनोट अन्तर्गत चौथो चरणबाट कतार र साउदी अरेबिया छनोट भएपछि एसियाबाट विश्वकपमा पुग्ने टिमसंख्या ८ पुगेको हो ।
चौथो चरणमा कतारले युएईलाई २-१ ले पराजित गर्दै समूह ए को विजेता बनेर विश्वकपमा छनोट भएको हो भने समुह बी मा इराकसँग गोलरहित बराबरी खेलेपनि धेरै गोल गरेका आधारमा साउदी अरेबिया भाग्यमानी बन्यो ।
अहिलेसम्म एसियाबाट जापान, इरान, दक्षिण कोरिया, अष्ट्रेलिया, उज्वेकिस्तान, जोर्डन, कतार र साउदी अरेबिया अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका लागि छनोट भइसकेका छन् ।
विश्वकपमा सहभागी टिम संख्या बढाएर ४८ पुर्याएपछि एसियाबाट विश्वकप खेल्ने टिमको कोटा समेत बढाइएको थियो । जसमा एसियाबाट ८ टिम सिधै छनोट हुनेछ भने एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्ने अवसर पाउनेछ । प्लेअफ जितेमा एसियाबाट विश्वकप पुग्ने टिम अझै थपिन सक्छ ।
एसियाको तेस्रो चरण छनोटबाट इरान, उज्वेकिस्तान, दक्षिण कोरिया, जोर्डन, जापान र अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएका थिए । त्यसपछि चौथो चरणको छनोटमा ६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । जसमा कतार समूह ए र साउदी समूह बी बाट शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएका हुन् ।
चौथो चरण छनोटमा समुह उपविजेता बनेका युएई र इराकले एसियाकै पाँचौ चरणको छनोटमा दुई लेगको प्लेअफ खेल्नेछन् । त्यसबाट विजेता बन्ने टिमले अन्तरमहादेशिय छनोट खेल्ने अवसर पाउनेछ ।
एसियाबाट यसअघि सन् २०२२ मा कतारमा भएको विश्वकपमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजकको हैसियतले कतारले स्वतले विश्वकपमा स्थान बनाएको थियो भने जापान, दक्षिण कोरिया, इरान, साउदी अरेबिया र अष्ट्रेलियाले छनोट चरण पार गर्दै विश्वकप खेलेका थिए ।
यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपमा २०२२ मा विश्वकप खेलेका आयोजक कतार बाहेक बाँकी ५ टिमले खेलेका थिए । सन् १९९८ देखि २०१४ सम्म लगातार ५ विश्वकपमा एसियाबाट समान ४ टिमले खेलेका थिए ।
सन् १९९८ अघि भने विश्वकपमा २४ टिम मात्र सहभागि हुँदा एसियाबाट २ वटा मात्र कोटा थियो । तर १९९८ मा विश्वकप खेल्ने टिम संख्या बढाएर ३२ बनाएपछि एसियाबाट पनि टिम संख्या बढेको थियो ।
सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपमा अहिलेसम्म २८ टिम छनोट भइसकेका छन् । जसमा अफ्रिकाबाट ९ टिम छनोट भइसकेको छ भने एसियाबाट ८, दक्षिण अमेरिकाबाट ६ टिम छनोट भएका छन् ।
यस्तै युरोप र ओसिया क्षत्रेबाट समान १ टिम छनोट भएका छन् । आयोजकको हैसियतामा अमेरिका, मेक्सिको र क्यानडा स्वत भएका हुन् । अब २० टिम छनोट हुन बाँकी छ ।
प्रतिक्रिया 4