
३० असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले अबको मिसन संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सनमा जाने रहेको बताएका छन् ।
ललितपुरको भनीमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यतिबेला देश अलोकतान्त्रिक र असंवैधानिक मार्गबाट अगाडि बढिरहेको छ । यसलाई लोकतान्त्रिक मार्गमा ल्याउनु आजको मुख्य विषय हो,’ उनले भनेका छन्
बर्तौलाका अनुसार लोकतान्त्रिक मार्गमा मुलुकलाई ल्याउने दुई वटा बाटोहरू रहेका छन्- संसद् पुनर्स्थापना र निर्वाचन ।
वर्तमान सरकार निर्वाचन नगराउने षडयन्त्रमा देखिने गरी क्रियाशील रहेको बताउँदै उनले भने, ‘अहिले मुलरूपमा निर्वाचन गराउने जिम्मेवारीमा रहेको सरकार निर्वाचनको वातावरण बनाउने तर्फ भन्दा पनि डर, भय र त्रासको आतंक खडा गरेर सत्तामा रहिरहन र लम्ब्याउन चाहन्छ ।’
सरकार राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेध र दलका नेताहरूलाई धम्क्याउने कार्यशैलीका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले भनेका छन, ‘यसले प्रस्ट रूपमा देशमा चुनाव हुने अवस्था नबनाउन सरकार आफैं लागेको देखिन्छ ।’
निर्वाचन पनि नहुने र देशमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पनि नहुने हो भने मुलुक अर्को भयानक संकट तर्फ उन्मुख हुने निश्चित रहेको उल्लेख गर्दै उनले संसद् पुनर्स्थापनाको विषय अहिलेको मुख्य मुद्दा भएको बताए ।
‘संसद् पुनर्स्थापनाको माग सहित अगाडि बढ्ने हो । संसद् पुनर्स्थापना पश्चात संसद्बाट सर्वदलीय र सर्वपक्षिय राष्ट्रिय सरकार निर्माण गरेर संविधान संशोधन गर्दै ताजा जनादेशका लागि अर्ली इलेक्सनमा जाने हो,’ नेता बर्तौलाले भनेका छन् ।
यही मिसनका साथ एजेन्डाहरूलाई प्रथामिकता दिएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।
संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सनमा जाने नीति नै अहिलेको वस्तुगत आवश्यकता रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यदि हामी यसरी अगाडि बढ्न सकेमा जेनजी युवा पुस्ताको भावना, आकांक्ष र चाहना पूरा गर्न र मुलुकका विद्यमान चुनौतीहरू समाधान गरी राजनीतिक स्थिरता तर्फ अगाडि बढ्ने आधारहरू निर्माण गर्न सकिन्छ ।’
यसका लागि संविधान र व्यवस्था स्वीकार गर्ने देश भित्रका सम्पूर्ण राजनीतिक शक्तिहरू एक ठाउँमा उभिने वातावरण बनाउनुपर्ने उनको आग्रह छ । यस्तो वातावरण बनाउन एमालेको नेतृत्वदायी भूमिका जरुरी रहेको उल्लेख गर्दै उनले भने, ‘यसका लागि ढिलो नगरी पहल थाल्न नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया 4