
News Summary
Generated by OK AI. Editorially reviewed.- हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको 'राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव'मा 'संगिनी' उत्कृष्ट घोषित भएको छ।
- निर्देशक राज सरगम 'कलर अफ टी' का लागि उत्कृष्ट निर्देशक घोषित भएका छन्।
- प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्याउने स्रष्टालाई सम्मान गरेको छ।
३० असोज, काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव’मा ‘संगिनी’ उत्कृष्ट भएको छ । निर्देशकतर्फ भने ‘कलर अफ टी’का निर्देशक राज सरगम उत्कृष्ट भएका छन् ।
रेडियो नेपालका प्रथम गायक स्वर्गीय हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा बिहीबार राष्ट्रिय नाचघरमा महोत्सव आयोजना गरिएको हो । रिमायल रंगकर्मी, अभिनेता तथा गीतकार समेत थिए ।
महोत्सव’मा ९ लघु चलचित्रले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिस्पर्धाका लागि ९ चलचित्र छानिएको हो । हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले लघु चलचित्र महोत्सव पनि आयोजना गरेको सापकोटाले बताए । यो महोत्सव कला क्षेत्रमा नवप्रवेशीलाई प्रोत्साहित गर्ने उनको भनाइ छ ।
उत्कृष्ठ तीन चलचित्रमा विनोद लोहार निर्देशित ‘संगिनी, ‘राज सरगम निर्देशित ‘कलर अफ टी’ र सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ भएका छन् । जसलाई प्रतिष्ठानले क्रमश: नगद १ लाख, ५० हजार र २५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ ।
त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ रुपैयाँ प्राप्त गरे ।
निर्णायक टोलीमा कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठ रहेका थिए ।
त्यसैगरी प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्यो ।
प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र गायक धीरज राईलाई जनही एक लाखसहित सम्ममान गरियो ।
मन्त्री खरेलको व्यक्तित्वमाथि लेखक दिपक सापकोटाले व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्षबारे चर्चा गरे ।
त्यसैगरी गायक धिरज राई, गायिका मिरा राणाको व्यक्तित्वमाथि कलाकार तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटा र कलाकार रविन्द्र खड्काले प्रष्टाएका थिए।
असोजको २ गते गरिने भनिएको कार्यक्रम जेन्जी आन्दोलनका कारण पछाडि सरेको थियो ।
कार्यक्रममा ९४ वर्ष लागेकी हरिप्रसाद रिमालकी धर्मपत्नी कल्याणी रिमालको पनि उपस्थिति थियो ।
प्रतिक्रिया 4