
News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको आगजनी र तोडफोडबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी भुक्तानी नेपाल रिइन्स्योरेन्स कम्पनीले ढिला गरेको छ।
- सरकारले अग्रिम भुक्तानी दिने निर्णय गरेपछि पनि नेपाल रिले बीमा कम्पनीले २५ करोडभन्दा बढी दाबीमा १ करोड मात्र अग्रिम भुक्तानी दिएको छ।
- नेपाल रिइन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानी दिइरहेको र पर्याप्त पुनर्बिमा कभरेज भएको जनाएको छ।
३० असोज, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा आगजनी र तोडफोडका कारण भएको सम्पत्ति क्षतिको बीमा दाबी भुक्तानी नेपाल रिइन्स्योरेन्स कम्पनीका कारण ढिला भएको छ ।
नेपाल रिले बीमा कम्पनीलाई अग्रिम दाबी भुक्तानी दिन ढिलाइ गर्दा त्यसको असर बिमितसम्म पुगेको हो ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आन्दोलनमा तोडफोड र आगजनी भएको सम्पत्तिको बीमा गरिएको खण्डमा दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था गरेको थियो । सरकारले अग्रिम भुक्तानी दिने निर्णय गरेपछि बिमितले पनि सोही अनुसार बीमा दाबी भुक्तानी हुने अपेक्षा राखेका थिए ।
तर, रिइन्स्योरेन्स कम्पनीले अग्रिम भुक्तानी ढिलाइ गर्दा बीमा कम्पनीहरूले पनि बिमितलाई रकम भुक्तानी गर्न समस्या भोगेको एक बिमकले बताए ।
‘रिइन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गर्दा बिमकहरूले पनि दिन सकेका छैनन्, त्यसका कारण बिमितहरू समस्यामा परेका छन्,’ उनले भने ।
सरकारले बिमितलाई अग्रिम भुक्तानी दिने निर्णय गरेपछि सोही अनुसार बीमा प्राधिकरणले पनि निर्देशन दिएको उनले जानकारी दिए ।
‘हामीले २५ करोडभन्दा धेरैको अग्रिम दाबी भुक्तानी दिँदा नेपाल रिले १ करोडमात्र दिएको छ,’ ती बिमकले भने ।
विदेशी रिइन्स्योरेन्स कम्पनीहरूसँग काम गर्दा घटना हुने बित्तिकै अग्रिम भुक्तानी पाउने गरेको समेत उनले बताए । ‘तर, बीमा प्राधिकरणले नै नेपाली बीमा कम्पनीहरूले अनिवार्य यहीँकै पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउनुपर्ने निर्देशन दिएपछि धेरैजसो पुनर्बीमा यहीँ भएको छ तर पुनर्बीमा कम्पनीमा व्यावसायिकता देखिएन,’ उनले भने ।
हुलदंगा तोडफोड र आगजनीको रिइन्स्योरेन्स नेपाली रिइन्स्योरेन्स कम्पनीमा केन्द्रित छ । एकदमै ठूलो दायित्व एक कम्पनीमा मात्रै परेका कारण समयमा भुक्तानी नपाएको उनको गुनासो छ ।
‘विदेशी पुनर्बीमा कम्पनीले २०७२ को भूकम्पपछि तपाईंहरूलाई समस्या पर्ला, चलाउँदै गर्नुस्, हिसाब पछि गरौंला भनेर अग्रिम भुक्तानी दिएका थिए,’ ती बिमकले भने, ‘जेनजी आन्दोलनको क्षतिका सन्दर्भमा सरकारले अग्रिम भुक्तानी दिने भनेर निर्णय गर्दासमेत रिइन्स्योरेन्सले अग्रिम भुक्तानीमा ढिलाइ गरे ।’
सरकारले स्वदेशी कम्पनीलाई प्राथमिकता देऊ भनेपछि यहीँ गर्नुपर्ने बाध्यता भए पनि विदेशी रिइन्स्योरेन्स कम्पनीजस्ता व्यावसायिकता यहाँका कम्पनीमा नरहेको उनले बताए ।
गत साता अन्तिमदेखि भने रिइन्स्योरेन्स कम्पनीले केही रकम भुक्तानी गर्न थालेको ती बिमकले बताए । जेनजी आन्दोलनको नोक्सानी धेरैजसो नेपाल रि इन्स्योरेन्समा नै पर्ने भएकाले दायित्व पनि धेरै रहेको उनले बताए ।
‘बीमा प्राधिकरणमा आएको करिब २३ अर्बको माग दाबी हालसम्म परेकोमा बीमा कम्पनीहरूले ३५ प्रतिशत र रिइन्स्योरेन्सको ६५ प्रतिशत हिस्सा हुन्छ,’ उनले भने, ‘१० करोडसम्मको दाबी भुक्तानीमा ६५–३५ को अनुपात हुन्छ, १० करोडभन्दा माथिको क्लेम पर्दा भने प्रतिशतका हिसाबले भन्दा पनि रकम विभाजन हुन्छ ।’
त्यसमाथिको बीमा दाबीमा बीमा कम्पनीको हिस्सा कम हुँदै र पुनर्बीमा कम्पनीको बढ्दै जाने हुने पनि उनले बताए ।
नेपाल रिइन्स्योरेन्स कम्पनीले पनि अन्य पुनर्बीमा कम्पनीसँग जोमिख बाँडेको (रेट्रोसेसन) गर्ने गर्छ । त्यसो हुँदा दाबी भुक्तानीमा समस्या नहुने बिमकहरूको विश्वास छ । शुक्रबारसम्ममा थप केही रकम पठाउने रिइन्स्योरेन्सले जानकारी दिएको उनले बताए ।
बीमा कम्पनीले हरेक जोखिम रिइन्स्योरेन्सलाई हस्तान्तरण गर्दा सबैभन्दा पहिला अनिवार्य नेपाल र हिमालयन रिलाई दिनैपर्ने व्यवस्था छ । त्यसपछि बीमा कम्पनीको ट्रिटीलाई जोखिम बिक्री हुन्छ । अनि, बल्ल अन्तर्राष्ट्रिय बीमा कम्पनीसँग जोखिम बाँडफाँट हुन्छ ।
त्यसक्रममा राम्रो खालको जोखिम अर्थात नोक्सानी हुने सम्भावना न्यून भएको सम्पत्तिको पुनर्बीमा स्वदेशी कम्पनीले पूरै राख्ने र कमसल खालको खण्डमा विदेशी कम्पनीसँग गर भन्ने अभ्यासले पनि बीमा कम्पनीलाई अप्ठेरो परेको उनको गुनासो छ ।
‘बिजनेस दिनुपर्ने, अनि सेवा लिनुपर्ने समयमा पाइँदैन,’ उनले भने, ‘यस्तो भएपछि बीमा कम्पनीले बिमितलाई समयमा दाबी भुक्तानी कसरी दिने ?’
माओवादी द्वन्द्वका बेला प्रिमियम सबै अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीमा जान्थ्यो । नेपालको राजनीतिक अस्थिरताले गर्दा त्यो समयमा विदेशी पुनर्बीमा कम्पनीले हुलदंगा, तोडफोड तथा आगजनीको पुनर्बीमा गराउन मान्दैनथे । उनीहरूले देशको स्थिति ठिक छैन भन्दै काम नगर्ने भनेपछि त्यसलाई कभर गर्न बीमा पुल सिर्जना भएको थियो ।
पछि गएर त्यो पुल नेपाल रिइन्स्योरेन्समा विकास भएको अर्का बिमकले बताए । पुललाई रिइन्स्योरेन्समा परिणत गरेको हुनाले पनि हुलदंगा, आगजनी र तोडफोडको जोखिम दायित्व नेपाल रिलाई धेरै परेको उनको भनाइ छ ।
नेपाल रिलाई अहिले नोक्सान नै भएको बताउँदै ती बिमकले रिइन्स्योरेन्सले पनि पनि रिइन्स्योरेन्स गरेको हुनाले चिन्ता गर्नुपर्ने अवस्था नभएको सुनाए ।
जेनजी आन्दोलनमा भएको क्षतिको अग्रिम भुक्तानी बीमा कम्पनीहरूलाई दिइरहेको नेपाल रिइन्स्योरेन्सका प्रवक्ता दामोदर भण्डारीले बताए ।
कम्पनीले बीमा कम्पनीहरूसँग गरेको सम्झौता अनुसार अग्रिम भुक्तानी दिँदै आएको उनको भनाइ छ । के कति रकम अग्रिम भुक्तानी भयो भन्ने सन्दर्भमा इन्स्योरेन्स कम्पनी र पुनर्बिमा कम्पनीबीचको लेनदेन भएकाले सार्वजनिक गर्न आवश्यक नभएको समेत उनले बताए ।
पुनर्बीमा कभरेज भएको जति सबै नेपाल पुनर्बीमाको दायित्व हुने बताउँदै भण्डारीले भने, ‘त्यसमा रिटेन्सन भए पनि, स्पिलओभर भए पनि नेपाल रिकै हुन्छ, त्यो हामी बाहिर ल्याउन मिल्दैन, हामीसँग पर्याप्त पुनर्बिमा कभरेज छ, हामीलाई दायित्व भुक्तानी गर्न समस्या छैन ।’
प्रतिक्रिया 4