
१ कात्तिक, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका साम्पाङ भौतिक रुपमा सनाखत गर्नुपर्ने भएकाले काठमाडौं आएका हुन् ।
उनले शनिबार साँझ काठमाडौं आइपुग्नासाथ यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । साम्पाङले गत १२ असोजमा ‘राष्ट्रिय संस्कृति पार्टी’ नाम दिएर दल दर्ताको निवेदन दिएका थिए ।
सोही प्रक्रिया अन्तर्गत निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थित भएर सनाखत गर्नका लागि आफू काठमाडौं आएको जानकारी गराए ।
‘राजनीतिक दल स्थापनार्थ हामीले विभिन्न अभियानहरू गरिरहेका छौं । निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थिति भएर सनाखत गर्नुपर्ने भएकाले आएका हौं,’ मेयर साम्पाङले भने ।
आफू करिब १५ वर्षसम्म एक्लै हिँडेको तर एक्लै हिँड्दा सहज नहुने देखिएपछि दल दर्ता गरिएको पनि साम्पाङले बताएका छन् ।
‘अब हामी एक्लै कुदेर भएन । १५ वर्ष जति एक्लै कुदियो,’ साम्पाङले भने, ‘एक्लै हुँदा सबै आफैंले गर्नुपर्ने रहेछ । त्यही भएर हामीले टिम नै बनाइरहेका छौं ।’
खानेपानीको मुद्दा बोकेर हिँडेका साम्पाङ गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित गरेका थिए ।
मेयर निर्वाचित भएयता उनी खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । धरानमा साम्पाङले ‘श्रमदान’ अभियान नै चलाएका थिए ।
उनी सामाजिक सञ्जालमा पनि अत्यन्तै सक्रिय रहन्छन् ।
यसैबीच पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयनको बेलामा पनि साम्पाङ काठमाडौं आएका थिए ।
उनले सरकारको नेतृत्व आफैं गर्ने समेत बताएका थिए । नेपाली सेनाको मुख्यालयमा समेत पुगेका साम्पाङ सरकारमा समावेश नभएपछि धरान फर्किएका थिए ।
प्रतिक्रिया 4