अहिले तिहारको समय छ । यो पर्वमा अनेकन् जीवहरूको पूजाआजा गर्नेबाहेक फूलहरूको पनि निकै चर्चा गरिन्छ । कतिपयले तिहारलाई फूलहरूको पर्व पनि भन्ने गर्छन् ।
नेपालको सन्दर्भमा अझ तिहारमा भनौं, सयपत्री, गोदावरी र मखमली फूलहरूको निकै चर्चा हुने गर्छ । तर, यी सबैको कथा रोचक छन् । ऐतिहासिक रूपमा हेर्ने हो भने यी फूलहरू नेपालमा मेक्सिको लगायतका देशबाट वर्षौं पहिले भित्रिएका हुन् ।
ती कहिले भित्रिए, ठ्याक्कै हामीसँग स्रोतको अभाव छ । तर, वर्षौं पहिलेदेखि यी नेपाली संस्कृतिमा जोडिएको भने सत्य हो ।
गोदावरी
गोदावरीलाई क्राइसेन्थेमम पनि भनिन्छ । अहिले यो फूलको सिजन हो । गोदावरी फूललाई जापानिज र चाइनिजहरूले राष्ट्रिय फूल सरह मान्छन् । उनीहरूले यसलाई धेरै महत्त्व दिन्छन् ।
यसका धेरै जात धेरै छन् । जुन विभिन्न रङमा पाइन्छन् । नेपालमा यो फूललाई ‘गोदावरी’ भन्नुको पछाडि कथा छ ।
यो फूल इरानका राजा दाउदलाई असाध्यै मन पर्थ्यो । त्यसैले यसको नाम ‘गुल दाउदी’ राखिएको थियो । यसमा ‘गुल’ भनेको फूल अनि ‘दाउदी’ भनेको दाउदलाई मन पर्ने भयो ।
यता नेपाल आइपुग्दासम्म ‘गुल दाउदी’ हुँदै यसको नाम गोदावरी रहन गयो । फेरि हाम्रोमा ठाउँ पनि मिल्थ्यो । अनि गोदावरीमा नै नेपालको पहिलो बोडनिकल गार्डेन थियो । जसमा वि.सं. २०२२ सालतिर सबैभन्दा सुरुमा फूल प्रदर्शनी गरिएको थियो ।
सयपत्री
सयपत्री फूल खेती गर्न सजिलो हुन्छ । यो विभिन्न हावापानीमा सजिलै उम्रन सक्छ । सयपत्री फूल एउटा जस्तो देखिए पनि यसको थुंगामा सयौं वा हजारौं फूलहरू हुन्छन् । ती फूलहरूलाई हेर्दा मात्र सग्लो एउटा फूल देखिन्छ । जसमा कुनै भाले, कुनै पोथी र कुनैमा भाले र पोथी दुवै हुने हुन्छन्।
नेपालमा तिहारमा खास गरेर दुई किसिमका सयपत्री फूल धेरै प्रयोग हुन्छन् :
पहिलो, ठूलो खालको : यसलाई अनुभवीहरूले तप स्वामी (ठूलो फूल) पनि भन्छन्। यसको विशेषता भनेको एउटै ठूलो फूललाई चुँडेर सारा देउतालाई पूजा गर्न सकिनु हो । तुलनात्मक रूपमा यो फूल अलि ठूलो देखिन्छ ।
दोस्रो, सानो सानो खालको : यो पनि सयपत्रीकै जाति हो । यसलाई फ्रेन्च मेरीगोल्ड वा युरोपियन मेरीगोल्ड पनि भनिन्छ । यो हेर्दा सानो देखिन्छ । अनि यसलाई चुँडेर त्यति धेरै फूल निकाल्न सकिन्न ।
त्यस्तै नेपालमा विशेषत: दुई खास किसिमका रंगहरू भएका सयपत्री बढी मात्रामा पाइन्छन् । पूरै पहेंलो हुने र अर्को अलिअलि रातो लागेको हुने ।
पुरोहितहरूले श्राद्ध (शराद) गर्दा रातो लागेको फूललाई चल्दैन भनेर हटाइदिन्छन् भने प्राय: बजारमा पनि शुद्ध पहेंलो रङको सयपत्री मात्रै पाइन्छन् । यसरी संस्कृतिले आवश्यकता अनुसार फूललाई छुट्याइएको पनि पाइन्छ ।
कतिपय अवस्थामा सयपत्री फूल सांस्कृतिक, धार्मिक महत्त्वबाहेक अरू कारणले पनि चिनिएको छ । जस्तो, यो रोपेको ठाउँमा किरा फट्याङ्ग्रा लाग्दैन । लामखुट्टे खासै लाग्दैन ।
मखमली
मखमली फूलको सन्दर्भ खास गरेर तिहारमा भाइलाई माला लगाउने परम्परासँग जोडिएको छ । यसको धार्मिक महत्त्व छुट्टै छ । किनकि यो फूल आयुसँग जोडिन्छ ।
कथा अनुसार एउटी दिदीको भाइलाई लिन यमराजका दूत आइरहेका छन् । किनकि भाइको आयु सिद्धिएको हुन्छ । तर, दिदीले यमदूतलाई आफूले एउटा पूजा सिध्याएपछि मात्र भाइलाई लैजान बाचा गराउँछिन् ।
त्यसपछि दिदीले यमदूतलाई अनेक परिकारहरू खुवाउँछिन्, जसमा नुन पनि समावेश गरिएको हुन्छ । नुन खाएकाले यमदूतले पनि ‘नुनको सोझो’ गर्नुपर्ने हुन्छ र उनी त्यहीँ कुरेर बस्छन् ।
यता दिदीले पूजा गर्ने क्रममा दिदीले तिहारको मण्डप लेख्छिन् । त्यो मण्डपको केन्द्रमा तेलको मण्डप राख्छिन्, त्यसपछि भटमास, अन्न र माथि पानीको मण्डप बनाउँछिन् । यसबेला दिदीले आफ्नो भाइलाई मखमलीको फूलको माला लगाइदिन्छिन् । उनले भाइलाई ओखर पनि दिन्छिन् ।
अनि दिदीले यमदूतलाई तीनवटा सर्तमा बाचा गराउँछिन् कि जबसम्म ती सर्त पूरा हुँदैनन्, तबसम्म भाइलाई लान पाइँदैन; पहिलो मखमली फूल नसुकेसम्म, दोस्रो तेल नसुकेसम्म र तेस्रो ओखर नफुटाएसम्म ।मखमली फूलको विशेष भूमिका ।
तर, यी तिनै कुरा सजिलै तोडिने सम्भव थिएन । यसरी मखमली फूलको प्रयोग र त्यसको रङ नजाने गुणलाई आधार मानेर तिहार पर्वलाई खास गरेर आयुसँग जोडिएको हुन्छ ।
डा. श्रेष्ठ वनस्पतिविद् हुन् । उनीसँग अनलाइनखबरका लागि सापेक्षले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4