News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली दृष्टिविहिन महिला क्रिकेट टिमले नोभेम्बर १२ मा नयाँ दिल्लीमा पहिलो पटक आयोजना हुने टी२० विश्वकपमा श्रीलंकासँग खेल्नेछ।
- विश्वकप नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकामा हुँदैछ र नेपालले कुल ६ खेल खेल्नेछ।
- गीता पौडेलको कप्तानीमा १६ सदस्यीय टोली गठन भइसकेको छ र टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ।
१० कात्तिक, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको दर्ष्टिविहिन महिला टी२० विश्वकपक क्रिकेटको पहिलो खेलमा नेपाली राष्ट्रिय दृष्टिविहिन महिला क्रिकेट टिमले श्रीलंकासँग खेल्ने भएको छ ।
क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (क्याब नेपाल)का अनुसार नेपालले नोभेम्बर १२ मा श्रीलंकासँग भारतको नयाँ दिल्लीमा खेल्नेछ ।
दृष्टिविहिन महिला टी२० विश्वकप क्रिकेट नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ ।
सुरुमा भारतसँगै नेपाल पनि सहआयोजको रुपमा थियो । तर जेनजी आन्दोलनका कारण नेपालको राजनीतिक परिस्थितीका कारण नेपालको सट्टा श्रीलंकामा खेल खेलाउन लागिएको हो ।
पहिलो पटक हुन लागेको यस विश्वकपमा नेपालसहित आयोजक भारत र श्रीलंका, पाकिस्तान, अष्ट्रेलिया, बेलयात र अमेरिकाले सहभागिता जनाउनेछन् ।
दृष्टिविहिन महिला टी२० विश्वकपको खेलहरु सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।
नेपालले दोस्रो खेल भारतसँग बेंगलुरुमा नोभेम्बर १४ मा खेल्नेछ । यस्तै तेस्रो खेल इंग्ल्याण्डसँग नोभेम्बर १५ र चौथो खेल अमेरिकासँग नोभेम्बर १६ मा बेगालुरुमै खेल्नेछ ।
त्यसपछि नेपाली टोली श्रीलंकाको कोलोम्बो जानेछ । जहाँ नेपालले अष्ट्रेलियासँग नोभेम्बर १८ मा र पाकिस्तानसँग नोभेम्बर १९ मा खेल्नेछ ।
लिग चरणका खेलपछि शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल र फाइनल खेल कोलोम्बोमै हुनेछ ।
पहिलोपटक हुने दृष्टिविहिन महिला टी–२० विश्वकप क्रिकेटका लागि गीता पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा भइसकेको छ ।
टोलीका मुख्य प्रशिक्षकका रूपमा पूरनसिंह खत्री, सहायक प्रशिक्षकका रूपमा नहेन्द्र निरौला र टोली व्यवस्थापकका रूपमा भगवती भट्टराई बराल छन् ।
नेपाली टोलीले काठमाडौंको केही दिन प्रशिक्षणपश्चात पोखरा गएको छ । अब पोखरामा प्रशिषण गर्ने क्याब नेपालले जनाएको छ ।
दृष्टिविहिन महिला क्रिकेटको सुरुवात सन् २००६ मा नेपालबाटै भएको थियो । त्यसपछि यो खेल भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान र अमेरिका लगायत देशमा फैलिएको छ ।
नेपाली महिला टोलीले सन् २०१४ पुल्चोकमा बेलायतको टोलीसँग सिरिज खेलेको थियो । त्यसपछि सन् २०१९ मा पाकिस्तान गएर सिरिज खेलेको थियो । त्यसपछि नेपाल र भारतको दृष्टिविहिन महिला क्रिकेट टोलीबीच नेपाल र भारत दुवै देशमा सिरिज आयोजना भएको थियो ।
नेपाली टोली : गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्ली सारा धमला, देवकी थापा मगर, अंगिला ढकाल, मनकेशी चौधरी, कान्ती दगौरा, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, येसेरा माया लुङ्गेली मगर, बिमला राई, प्रतिभा राई

प्रतिक्रिया 4