+
+
Shares

तरुण दल अब चुप बस्दैन, आन्दोलनमा जान्छ : विद्धान गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १७:३६

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

सोमबार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो । अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि पनि आफूहरूले अब चुप लागेर बस्ने अवस्था नभएको बताए ।

दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई उनले निर्देशन दिए ।

‘म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ । यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईं हाम्रो अस्तित्व जोगाउने हो भने अव यिनीहरूको विरुद्ध सडकमा भिड्ने हो । यो भन्दा अब अर्को विकल्प नै छैन,’ उनले भने, ‘हामीले यति ठूलो क्षति व्यहोर्न गयौं । अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अब नेपाल तरुण दल सजग रहनेछ । र तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौं ।’

अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रुपमा चित्रण गर्ने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

‘आज एउटा सरकार बनेको छ । पुराना दलको सरकार गएपछि मुलुकमा के केही परिवर्तन भएको छ ? आज एउटा कुनै दुर्गा प्रसाईंले छठपछि आन्दोलनको घोषणा गरेको छ । एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ । केही जेनजी पुस्ताहरूले पनि फेरी नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रुपमा हाम्रा परिवारहरूलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?