११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपित खेलाडी रहेको खुलेको छ ।
काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर क्रिकेटको ट्रेनिङ लिएका व्यक्तिबाट गुरुङको हत्या भएको खुलेको हो । हत्या अरोपमा पक्राउ परेका मध्ये अनुपम भण्डारी क्रिकेट सिक्दै गरेको व्यक्ति रहेको पाइएको छ ।
कैलालीको लम्मीचुहा नगरपालिका–४ घर भएका १९ वर्षीय भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाटै पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
भण्डारीलगायतका व्यक्तिले जेनजी आन्दोलनको दिन २४ भदौमा सहायक हवल्दार गुरुङको हत्या गरेका थिए ।
आरोपित भण्डारी करिब तीन महिनाअघि भारतको बैंग्लोरमा गएर क्रिकेट सिकेका थिए । यो कुरा उनले बयानमा समेत खुलाएका छन् । दुई हप्ता भारतमा ट्रेनिङ लिएर फर्केका उनी जेनजी आन्दोलनमा भन्दा केही दिनअघि मात्रै काठमाडौं आएका थिए ।
काठमाडौंको एक क्रिकेट एकेडेमीमा भर्ना भएर उनी क्रिकेट सिक्दै थिए ।
२३ भदौको सुरक्षाकर्मीको गोली लागेर विद्यार्थीहरूको हत्या गरिएको घटनाले रिस उठेको उनले बताएका छन् ।
२३ भदौको आन्दोलनमा आफ्नो साथीको साथीको मृत्यु भएको त्यसले झनै आक्रोशित बनाएको उनले बयानमा उल्लेख गरेका छन् ।
सोही क्रममा २४ भदौको आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण भएको र रिसले आफूले पनि चक्कुले हानेको उनले बयानमा बताएका छन् । प्रहरीमाथि प्रहार गरेपछि भागेको केही व्यक्तिले प्रहरीलाई घिसार्दै लगेको भण्डारीको बयानमा उल्लेख छ ।
प्रहरी सार्वजनिक भिडिओको आधारमा भण्डारीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्दा उनको घरबाट प्रहरीले घटना भएका बेला लगाएको कपडा समेत बरामद गरेको छ । भण्डारीलगायतको आक्रमणबाट एक प्रहरीको मृत्यु हुनुका साथै अन्य प्रहरी पनि घाइते भएकाले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा गरिएको छ ।
कास्की घर भई प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक गुरुङको विभत्स हत्या भएको थियो । जेनजी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वर नजिकै रहेको कोटेश्वर प्रभाग आन्दोलनकारीको निशानामा पर्यो । सुरुमा १५–२० जना आएर प्रहरी कार्यालय अगाडि नारा–जुलुस गर्न थाले । प्रदर्शनकारीको संख्या थपिँदै गयो । त्यसपछि तोडफोड र आगजनी सुरु भयो ।
चारैतिर आगो दन्किसकेकाले कोटेश्वर प्रभागका प्रहरीले भागेर ज्यान जोगाउनुको विकल्प देखेनन् । उनीहरू कार्यालय छाडेर भागे । लखेट्दै पछाडिबाट हानेको धारिलो हतियारले सहायक हवल्दार गुरुङलाई लाग्यो । भुईंमा ढलेपछि आन्दोलनकारीले कुटीकुटी उनको हत्या गरे ।
आन्दोलनकारीबाट मारिएका गुरुङले ९ महिनाअघि मात्रै आमा गुमाएका थिए । गुरुङका ७ महिनाका एक छोरा, श्रीमती र ६० वर्षका बाबु छन् । उनीहरू कास्कीमै बस्छन् । सबैको सहारा गुरुङ नै थिए । उनी पनि ढलेपछि परिवारको सहारा गुमेको छ ।
प्रभाग कोटेश्वरमा रहेको ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भएका थिए । प्रहरीको बर्दी फुकालेर हुलिया बदलेर भागेकाले उनीहरू ज्यान जोगाउन सफल भए । आन्दोलनकारीले प्रभागलाई तोडफोड र आगजनी गरेर तहसनहस बनाए । हतियार लुटे । बर्दी डढाए ।
जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4