११ कार्तिक, काठमाडौं । गत महिनाको जेनजी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरू सूचना एवं विवरण संकलनका लागि देशव्यापी दौडाहामा लागेका छन् ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की हेटौंडामा छन् । उनी त्यहाँबाट मधेश प्रदेशको पश्चिमी भागहरू घुमेर फर्किने योजना छ ।
सदस्य विज्ञानराज शर्मा केही साताअघि विराटनगर लगायतका क्षेत्रमा एक चरण भ्रमण गरिसकेका छन् । अब उनी पोखरा लगायतका क्षेत्रमा पुगेर फर्किने योजना छ । अर्का सदस्य विश्वेश्वर भण्डारी नेपालगञ्ज लगायतका क्षेत्रमा जाँदैछन् । उनले पश्चिमक्षेत्रका केही ठाँउको स्थलगत भ्रमण गरेर सूचना संकलन गर्ने तयारी छ ।
‘आयोगले काठमाडौंमा एक चरणको विवरण संकलन गरेपछि देशका अन्य भागको पनि विवरण संकलनको काम गर्दैछ’ आयोगका एक कर्मचारीले भने, ‘स्थलगत सूचना संकलनका लागि सकेसम्म आयोगकै पदाधिकारी संलग्न हुने नीति अनुसार नै पदाधिकारीहरू फिल्डमा जानुभएको हो ।’
आयोगले सामाजिक सञ्जाल एवं सार्वजनिक वृत्तमा उपलब्ध भिडियो एवं अरु प्रमाण अध्ययनका लागि नेपाली प्रहरी लगायत विभिन्न सेवाका कर्मचारीहरूलाई काजमा झिकाएको छ । उनीहरूले उजुरीका आधारमा अरू विवरण एवं प्रमाण संकलनको काम गरिरहेका छन् ।
यो साता देशका विभिन्न ठाँउमा पुग्ने पदाधिकारीहरू शनिबारसम्म फर्कने र अर्को सातादेखि काठमाडौंमै केन्द्रित अनुसन्धानको काम अघि बढाउने आयोगको तयारी छ ।
प्रतिक्रिया 4