११ कात्तिक, सिरहा । सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो ।
कुटपिटबाट घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।
मंगलबार एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उनले युवकका हजुरबालाई गुनासो गरेकी थिइन् । त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4