News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा शहरी विकास भवन कार्यालयका सवारी चालक सीताराम दाहालले २०५५ सालदेखि सार्वजनिक स्थानमा बोटबिरुवा रोपेर संरक्षण गर्दै वातावरण संरक्षणमा योगदान दिइरहेका छन्।
- दाहालले पोखराका विभिन्न स्थानमा बिरुवा रोप्ने, पानी हाल्ने र मरेका बिरुवाको स्थानमा नयाँ बिरुवा लगाउने काम निरन्तर गर्दै आएका छन्।
- उनको परिवार पनि यस कार्यमा संलग्न छ र दाहालले आफ्नो कामले पोखराको पर्यटन र जलवायुमा सकारात्मक प्रभाव परेको बताउनुभएको छ।
पद : शहरी विकास भवन कार्यालय, पोखराको सवारी चालक ।
कामः सार्वजनिक स्थानमा बोटबिरुवा रोपेर तिनको रेखदेख तथा संरक्षण गर्दै वातावरण संरक्षणमा दिलोज्यानले लाग्नु ।
हो, यस्तै कर्ममा रमाइरहेका छन्, पोखरामा रहेका सीताराम दाहाल । पेशाले सवारी चालक दाहाल सानैदेखि वातावरण र समाजसेवामा रुचि राख्थे । बाबुबाजेले जस्तै सार्वजनिक स्थानमा बोटबिरुवा रोपेर दाहालले वातावरणमा सहयोग त पुर्याएकै छन्, समाजमै उदाहरणीय काम गर्न पनि पुगेका छन् ।

अहिले सीताराम दाहाललाई पोखराका जो–कोहीले पनि वातावरण अभियन्ता र स्वयंसेवी भनेर चिन्न थालेको छ । दाहालको कामको उच्च मूल्यांकन गर्दै विभिन्न संघ–संस्थाले पुरस्कृत पनि गरेका छन् ।
०००
मौसम अनुसार वृक्षरोपण त भइरहन्छन् तर रोपिएका रूख–बिरुवाको संरक्षणमा कमै मात्रको ध्यान जाने हुन्छ । तर सीताराम दाहाल यस्ता व्यक्तिमा पर्छन्, जो दिनभरिको जागिरपछि बिहान–बेलुका कुटो, कोदालो, बेल्चा लिएर सार्वजनिक स्थानमा बिरुवा रोप्न र त्यसको संरक्षणमा जुटिरहेका भेटिन्छन् ।
दाहालले यो काम २०५५ सालदेखि निरन्तर रूपमा गर्दै आइरहेका छन् । उनको यस कामको सर्वत्र प्रशंसा हुने गरेको छ । सीताराम यसको श्रेय आफ्नो परिवारलाई दिन चाहन्छन् । सानैदेखि संघर्षशील उनी समाजमा केही न केही नवीन कार्यहरू गरिरहन्थे । वृद्धवृद्धाको सेवा होस् वा दुःख पाएका मानिस उनी सदैव सेवामा जुटिहाल्थे ।
आफ्नो सन्तानलाई जस्तै रूख–बिरुवाको संरक्षण गर्छन्, सीताराम । हरेक दिन बिहान रूख–बिरुवालाई समय दिएर उनी खाना खाइवरी आफ्नो नित्यकर्म सवारी चलाउन शहरी विकास भवन कार्यालय पुग्छन् ।

बुवाबाट सिकेको यो पुण्य कार्यमा अहिले उनको सम्पूर्ण परिवार लागेको छ । छोराछोरीसँगै वृद्ध हुनुभएकी आमाले समेत सीतारामको काममा सहयोग गरिरहन्छन् । परिवारको साथले हौसला बढाएको दाहाल बताउँछन् ।
हरेक बिहान सीताराम करीब दुई घन्टाको समय पोखराका मुस्ताङ चोकदेखि राष्ट्रबैंक चोक, ड्यामसाइट, शहीदचोक लगायत ठाउँका सार्वजनिक बोट–बिरुवालाई समय दिन्छन् । ओखलढुंगाको मोलुङ–१ गैरीगाउँका स्थायीवासी दाहालले पोखरामा विगत २३ वर्षको जागिरको सिलसिलामा वातावरणको क्षेत्रमा स्तुत्य कर्म गर्न पुगेका छन् ।
सार्वजनिक ठाउँमा रोपेका बिरुवाको संरक्षण र संरक्षण गर्दै तिनको गोडमेल गर्ने, पानी हाल्ने, मरेका बिरुवाको स्थानमा नयाँ बिरुवा लगाउने सीतारामको निरन्तरको कर्म हो । उनले हर्रो, बर्रो, श्रीखण्ड, वरपीपल, समी, कपुर, शिवफूल, रक्तचन्दन, अशोक, बेलपत्र, पलास, सतिसाल, सिप्लीकान जस्ता रूख रोपेका छन् ।
आफूले सार्वजनिक क्षेत्रमा लगाएका बोटबिरुवाले पालुवा हाल्दा, फूल फुल्दा बन्ने मनमोहक दृश्यले आफूलाई झनै शीतलता प्रदान गर्ने दाहाल बताउँछन् ।
०००
जडीबुटीजन्य वनस्पतिमा दाहालको खास रुचि छ । २०५५ सालदेखि छिटफुट रूख–बिरुवा रोप्दै आएकोमा अहिले भने निरन्तरजसो रोप्ने, संरक्षण गर्ने गरेको बताउँदै पहिले नर्सरीबाट बोट–बिरुवा लिने गरेकोमा अहिले सामाजिक अभियन्ताहरूबाट पनि प्राप्त गर्ने गरेका छन् । उनको कर्मले पोखराका राष्ट्रबैंक चोक, टुरिस्ट बसपार्क क्षेत्र, उच्च अदालत अगाडिको भाग पनि सुन्दरताले भरिपूर्ण भएका छन् ।

बोट–बिरुवाको संरक्षणबाट पोखराको पर्यटनसँगै जलवायुमा परिरहेको नकारात्मक असरलाई केही कम गर्न आफूले पनि एउटा इँटा थप्न सकेकोमा खुशी देखिन्छन् दाहाल । घरभित्र र आँगन मात्र सफा–सुग्घर होइन, आफ्नो घर अगाडिका सार्वजनिक ठाउँलाई पनि सफा–सुग्घर र व्यवस्थित गर्न सकिनेतर्फ सबैको बुझाइ र व्यवहार होस् भन्ने सीतारामको चाहना छ।
प्रतिक्रिया 4