News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जेन–जी आन्दोलनको क्रममा वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा रुपक नेपाली, खड्कबहादुर थापा, खुमराज गुरुङ, नवराज खड्का र एलिसा गुरुङ छन्।
- एसपी नवीन कार्कीले पक्राउ परेकाहरू जेनजी आन्दोलनका अभियानकर्ता नभएको र अनुसन्धान अगाडि बढाइएको बताए।
२१ कात्तिक, पोखरा। जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। उनले पक्राउ परेकाहरू जेनजी आन्दोलनका अभियानकर्ता नभएको बताए।
रुपक नेपालीले वरपिपल रिसोर्टमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक)को लगानी रहेको भन्दै भीडको नेतृत्व गरेर तोडफोड र आगजनी गराउन पुगेका प्रमाणहरू संकलन भएको प्रहरीको भनाइ छ। उनले पोखरा रंगशालामा प्रशिक्षणसमेत दिने गरेको खुलेको छ।
रिसोर्ट लमजुङका जितु नाम गरेको व्यक्तिको भएको प्रहरीले जनाएको छ। पक्राउ परेका खड्कबहादुर पोखरा–१८ मै होटल व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । उनले केबीटी ट्राभलका नाममा सामाजिक सञ्चालनमा विभिन्न ठाउँका फोटो, भिडियो पोस्टसमेत गर्दै आइरहेका छन्।
यसअघि रिसोर्टमै काम गर्नेहरूसमेत आन्दोलनका दिन रिसोर्टमा पुगेर तोडफोड, आगजनी गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया 4