+
+
Shares

‘परान’ को सफलताले फिल्ममा कर्पोरेट लगानी ल्याउन मद्दत पुग्छ : शेखर गोल्छा

‘रेमिट्यान्सले अर्थतन्त्र चलिरहेको छ । त्योसँगै कोल्याट्रल ड्यामेजको कुरा पनि आउँछ । यो सामाजिक मुद्दा बनिरहेको छ’ गोल्छा भन्छन्, ‘यसबीच, धेरै स्क्रिप्ट आए । कुनै चित्त बुझेन । यसको भने सुन्ने वित्तिकै मनपर्‍यो । यो हरेक नेपालीको घरको कथा हो । यसको सन्देश पनि बलियो छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान' ले दोस्रो सातामा १ करोड २० लाख रुपैयाँ ग्रस कमाएको छ र १० दिनमा ४ करोड रुपैयाँ कमाएको प्रक्षेपण छ।
  • उद्योगपति शेखर गोल्छाले 'परान' को व्यवसायिक सफलताले नेपाली फिल्ममा कर्पोरेट लगानी ल्याउन मद्दत पुग्ने बताए।
  • 'परान' ले विदेशिन बाध्य युवाको कथा देखाउँदै सामाजिक मुद्दा उठाएको छ र गुणस्तर सुधारमा ध्यान दिनुपर्ने सुझाव दिएको छ।

काठमाडौं । हलमा चलिरहेको फिल्म ‘परान’ को अहिले चर्चा छ । सुुरुमा सुस्त देखिएको यसको कमाइ दोस्रो सातामा उकालो लागेको देखिन्छ ।

शनिबार एकैदिनमा फिल्मले १ करोड २० लाख ग्रस कमायो । १० दिनसम्म फिल्मले ४ करोड ग्रस कमाएको प्रक्षेपण छ । मंगलबार पनि फिल्मको कमाइ उत्कृष्ट हुने देखिएको छ ।

न कुनै गानाबजाना, न कुनै ग्ल्यामर । गम्भीर विषयवस्तुलाई लिएर बनेको फिल्मको कमाइ यतिबेला लोभलाग्दो देखिन्छ । विहानदेखि मध्यरातसम्म देखिएको सशक्त अकुपेन्सी ।

उद्योगपति शेखर गोल्छाले रञ्जित आचार्यसँगको साझेदारीमा स्थापना गरेको कम्पनी बाइस्कोप सिनेमाको यो पहिलो फिल्म हो । यी दुबै डेब्यू निर्मातालाई फिल्मले यतिबेला हौसला दिएको छ ।

यस सन्दर्भमा निर्माता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छाले अनलाइनखबरसँग कुराकानी गरे । ‘परान’ को व्यवसायिक सफलताले नेपाली फिल्ममा कर्पोरेट लगानी ल्याउन मद्दत पुग्ने उनले बताए ।

सुरुमा हामीले उनलाई सोध्यौं ? कुन कुराले ‘परान’ मा लगानी गर्न तपाईं प्रेरित हुनुभयो ? जवाफमा उनले यसको कथावस्तु र सन्देश निकै मर्मस्पर्शी रहेको बताए ।

‘मैले यस विषयमा लामो समयदेखि बोलिरहेको छु । हाम्रो पहिलो अनुभव पनि हो । रेमिट्यान्सले अर्थतन्त्र चलिरहेको छ । त्योसँगै कोल्याट्रल ड्यामेजको कुरा पनि आउँछ । यो सामाजिक मुद्दा बनिरहेको छ’ गोल्छा भन्छन्, ‘यसबीच, धेरै स्क्रिप्ट आए । कुनै चित्त बुझेन । यसको भने सुन्ने वित्तिकै मनपर्‍यो । यो हरेक नेपालीको घरको कथा हो । यसको सन्देश पनि बलियो छ ।’

सुरुमा ‘परान’ को आइडियामा काम गर्दा धेरैले व्यवसायिक सफल हुनेमा शंका व्यक्त गरेको क्षण शेखरले सम्झिए । ‘न यसमा मसला छ । न ग्ल्यामर छ । गम्भीर विषयमा बनेको मूभी हो’ उनी भन्छन्, ‘अब हामीले ‘बाइस्कोप सिनेमा’लाई प्रोडक्सन हाउसको रुपमा अघि बढाउँछौं । गम्भीर लगानी गर्ने योजना छ ।’

यो ब्यानरबाट वर्षमा २, ३ वटा फिल्म बनाउने योजना उनको छ । तर, फिल्म निर्माणबारे उनका सर्त पनि छन् । अश्लिल विषयवस्तु र परम्परागत फिल्म मेकिङको शैलीमा नजाने, महिलाको शरिरलाई वस्तुको रुपमा नहेर्ने कथावस्तुको फिल्ममा काम गर्ने उनको योजना छ ।

नेपाली फिल्मले गुणस्तर सुधारमा ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘आज नेपाली फिल्मको सक्सेस रेट कम छ । हामीले क्वालिटी फिल्म बनाउन नसकेको हो । गुणस्तर सुधार्ने हो भने मार्केट पाइन्छ र सफल भैन्छ’ उनले भने ।

गुणस्तर सुधारमा ध्यान दिएमा दर्शक बढ्ने उनको भनाइ छ । ‘राम्रा फिल्म नबनेरै नेपाली फिल्मको मार्केट नबढेको हो’ उनी भन्छन्, ‘क्वालिटी इम्प्रुभ भो भने भ्यूअर्ससिप बढ्छ । दर्शक आउँछन् ।’

‘परान’को सन्देश र कथावस्तुले आफूहरूलाई लगानी गर्न आत्मविश्वास आएको उनको भनाइ छ । ‘रञ्जित र म स्क्रिप्टको योजनामा धेरैपटक बस्यौं’ भन्छन्, ‘सकेसम्म स्क्रिप्ट वास्तविकतामा आधारित होस् । अश्लिल नहोस् भनेर छलफल गरेका थियौं ।’

यो फिल्ममा विदेशिन बाध्य युवाको कथालाई देखाइको छ । ‘जो युवा बाहिर गएका छन्, उनीहरूलाई डेमोनाइज गर्नुभएन । विदेश गएकाहरू पनि नेपालमा बसेका आमाबाबुलाई के भैराखेको छ भनेर सचेत हुनुपर्छ’ शेखर सुनिए ।

सुरुमा ‘परान’ को व्यवसायिक सफलतालाई लिएर आफू निश्चित नभएको उनले बताए । ‘मैले यसको कमर्सियल सक्सेसमा स्योर थिइन । पहिलो फिल्म भएकाले पनि होला । हामी निरन्तर प्रोसेसमा गएका छौं । यो फिल्म फेलिअर भएको भएपनि हामी निर्माणमा अघि बढ्थ्यौं ।’

कर्पोरेट क्षेत्र नेपाली फिल्मको निर्माणमा आउन सके व्यवसायिक वातावरण तयार हुने शेखरको बुझाइ छ । ‘यस्तो परिस्थितीमा जो पनि फिल्म मेकिङमा लाग्छन्, उनीहरुले उचित क्षतिपूति पनि पाउँछन् । कर्पोरेट सेक्टरका अन्य लगानीकर्तालाई पनि आकर्षित तुल्याउन सक्छ’ उनी भन्छन् ।

‘सक्किगो नि’ जस्ता चर्चित टिभी श्रृंखलाका निर्देशक दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ ले सन्तान र अभिभावकको अपेक्षा र चाहनाबीचको द्वन्द्वात्मक सम्बन्धको कथा भन्छ । विदेशिन बाध्य युवाको समस्या र अभिभावकको चाहना कथाको केन्द्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?