२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा जनादेश पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालले निर्वाचन आयोगमा निवेदन दिएको हो ।
जनादेश पार्टीमा आन्दोलनकारी जेनजी र अनुभवी प्रोफेसनलहरूको सहभागिता रहेको कर्णले बताए । उनी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव पनि हुन् ।
दल दर्ताको आवेदन दिएपछि संयोजक कर्णले आफू केही समयका लागि संयोजकका रूपमा रहे पनि यसको नेतृत्व जेनजी पुस्ताले नै गर्ने बताए ।
‘जेनजी आन्दोलनकारीकै नेतृत्वमा यो दल निर्वाचनमा होमिन्छ, मैले कानुनी प्रक्रियाका लागि तत्काललाई संयोजन गरेको हुँ, केही दिनमा हामी बृहत भेलामार्फत् नयाँ नेतृत्व र पदाधिकारीहरू छान्छौं,’ उनले भने ।

संयोजक कर्णकाअनुसार यसमा अहिले सबै सदस्यहरू मात्र राखिएको छ । जसमा जेनजी आन्दोलनकारी र घाइतेहरूका पनि छन् ।
पार्टी गठनमा पोखराकी जेनजी अगुवा विप्लवी न्यौपाने, जस्मिन ओझा, नागरिकता अभियन्ता इन्द्रजीत साफी, जेनजी सहित परिवारका गणेण चौलागाईं र कमल सुवेदी लगायत छन् ।
पार्टीमा ७५ केन्द्रीय सदस्य छन् ।
तस्वीरहरू : शंकर गिरी

प्रतिक्रिया 4