News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री निशा अधिकारीले २४ कात्तिकमा गतिशिल लोकतान्त्रिक पार्टीबाट दल दर्ताको प्रमाणपत्र पाएकी छन्।
- निशाले अबको १० वर्ष देशको लागि समर्पित गर्ने र राजनीतिक यात्रा अघि बढाउने बताइन्।
- उनी चलचित्र र राजनीतिक कार्यलाई सँगै अघि बढाउने योजना बनाएकी छन्।
काठमाडौं । अभिनेत्री निशा अधिकारीले औपचारिकरुपमा राजनीतिक यात्रा थालेकी छन् । २४ कात्तिकमा उनको दल ‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
उक्त दलको केन्द्रिय सदस्यमा निशा छिन् । करिअरमा ३० भन्दा धेरै चर्चित फिल्ममा अभिनय गरेकी निशाको यो जीवनको ‘दोस्रो इनिङ्स’ हो ।
चलचित्र अभिनेत्रीबाट राजनीतिक नेतृ बनेकी निशाले आफूले अबको १० वर्ष देशको लागि समर्पित गर्ने बताइन् ।
‘अबको १० वर्ष देशको लागि दिनेछु’ अनलाइनखबरसँग निशाले भनिन्, ‘अब राजनीतिक यात्रा अघि बढाउँछु भन्ने सोच्दा सोच्दै गतिशिल पार्टीसँग आबद्ध भएँ ।’
मुलुकको राजनीतिक उतारचढावलाई नजिकबाट नियालेकी निशाले स्नातक र स्नातकोत्तर अध्ययन पनि राजनीति शाष्त्रमा गरेकी हुन् । एमफिल पनि ‘द्वन्द्व र शान्ति’ विषयमा गरिरहेकी छिन् ।
दरबार हत्याकाण्ड हुँदा जर्मनीबाट भर्खर नेपाल आएकी निशा त्यतिबेला ८ कक्षामा पढथिन् । त्यसपछि सशष्त्र द्वन्द्वसहितका राजनीतिक घटनाक्रमलाई नजिकबाट देखेको बताउने उनी कोभिडको समयमा ‘इनफ इज इनफ’ नामक सडक प्रदर्शनमा पनि सहभागी भइन् ।
‘त्यसबेला देखि मैले सोसल मिडियामा पनि लेख्न र बोल्न थालेकी हुँ’ उनी भन्छिन्, ‘तीनकुने घटनाले झनै म सक्ड भएँ । त्यसपछि के निधोमा पुगेँ भन्दा राजनीतिक गतिविधिको निष्कर्ष राजनीतिक ठाउँबाटै हुनुपर्ने रहेछ भन्ने लाग्यो ।’
‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले २०८४ सालको चुनावको लागि तयारी गरिरहँदा आफू जोडिन पाएको र दुई महिनादेखि जेनजी टिमसँगको निरन्तर भेटघाट गरिरहेको उनले बताइन् ।
उनले अब राजनीतिक र कलाकारितालाई सँगै अघि बढाउने विचार गरेकी छन् । उनले हालै रेखा थापासँगको फिल्म ‘३६ को आँकडा’को छायांकन सकिन् । उनले अर्को फिल्म ‘कस्तुरी’ पनि साइन गरेकी थिइन् ।
पार्टीको काम गर्दै फिल्म र अध्ययन कार्यलाई पनि अघि बढाउने निशाको योजना छ । ‘मिसन पैसा’बाट घरेलु फिल्ममा डेब्यू गरेकी निशाले ३० भन्दा धेरै हिट फिल्ममा अभिनय गरेकी छन् ।
प्रतिक्रिया 4