२७ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालीहरूको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्नेदेखि राशन वृद्धिसम्मको विषय उठान गरेका छन् ।
बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि २० मिनेट सम्बोधन गरेका नवनियुक्त आईजीपी कार्कीले उक्त विषयहरू उठान गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्कीले भने, ‘राज्यको आर्थिक विकासको लागि ठूलो संख्यामा प्रवासमा रहेर योगदान पुर्याउने नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिहरूका जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्ने प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेमा अपेक्षा गरेको छु ।’
कार्कीले भनेजस्तै नेपाल प्रहरीले यसअघि पटक-पटक खाडीका विभिन्न मुलुकहरूका साथै अमेरिका, चीन र युरोपका केही देशहरूमा प्रहरी सहचारी राख्नुपर्ने माग गर्दै आएको छ । तर अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन ।
अहिले भारतमा प्रहरी सहचारीको रुपमा एक जना एसएसपी दर्जाका कर्मचारी खटिँदै आएका छन् भने अन्य मुलुकहरूमा प्रहरी सहचारी छैनन् ।
त्यसैगरी नवनियुक्त आईजीपी कार्कीले प्रहरीको राशन वृद्धिको विषय पनि सम्बोधनको क्रममा उठाए । अन्य सुरक्षा निकायको राशन र प्रहरीको राशनमा असामान्य रहेको भन्दै राशन वृद्धि हुनुपर्ने आशय कार्कीको छ ।
‘नेपाल प्रहरीले प्राप्त गर्ने राशन र अन्य अन्य सुरक्षा निकायहरूको सन्दर्भमा असमान रहेको तथा कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्नको लागि आवश्यक आधारभूत पोषण सन्दर्भमा समेत असंगत र अपर्याप्त भएको कुरा आजका दिनमा सबैले बुझिसकेको छ’ कार्कीले भने ।
देशमा निकट भविष्यमा हुन गइरहेको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी तत्पर रहेको पनि उनले बताए ।
प्रतिक्रिया 4