२६ कात्तिक, काठमाडौं । विवादित व्यापारिक घराना ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीले पनि कानुन विपरीत ऋण लगानी गरेको पाइएको छ ।
स्याकार कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने र महँगो ब्याजदरमा अन्य व्यक्ति तथा संस्थालाई दिने गरेको पाइएको हो ।
ज्योति समूह पारिवारिक कलहका साथै साझेदारसँगको झैंझगडाले विवादित छ । त्यतिमात्र होइन, ज्योति समूह कानुनको धज्जी उडाउन पनि उत्तिकै सक्रिय देखिन्छ । यो समूहले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने र त्यस्तो ऋण बढी ब्याजदरमा लगानी गर्ने गरेको छ ।
ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीले बैंकबाट लिएको ऋण पुन: ऋणकै रूपमा लगानी गर्ने, त्यसरी लगानीबाट आएको ब्याजलाई आम्दानीमा नदेखाइ कर छली तथा ऋण दुरुपयोग गरेको देखिन्छ ।
ज्योति समूहको स्याकार कम्पनीमात्र नभई उसको नेपाल जनरल मार्केटिङ (एनजीएम) ले पनि यस्तै प्रकृतिको वित्तीय अपराध गरेको विषयमा अनलाइखबरले समाचार प्रकाशन गरिसकेको छ ।
स्याकार कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पुन: लगानी गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ अनुसार राष्ट्र बैंकको अनुमतिविना कुनै व्यक्ति वा संस्थाले निक्षेप लिने वा ऋण दिने काम गर्न पाउँदैनन् ।
तर, स्याकारले दुवै आर्थिक वर्षको १ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ ऋण लगानी गरेको छ । कम्पनीले यसरी लगानी गर्न बैंकहरूबाट लिएको ऋण र कम्पनीको सञ्चिति प्रयोग गर्ने गरेको ठूला करदाता कार्यालयका एक अधिकारीले बताए ।
‘राष्ट्र बैंक ऐन विपरीत कर्जा लगानी गरेको देखिन्छ, त्यसरी लगानी गरेर भएको आम्दानीबाट कर तिरेको छैन,’ ती अधिकारीले भने, ‘लेखा परीक्षण भएको विवरणमै त्यसरी गरिएको लगानीबाट भएको आम्दानी नै देखाएको छैन ।’
आव २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षकले ‘डिस्क्लेमर अपिनियन’ दिएको छ । लेखा परीक्षकले ऋण दुरुपयोग गरेको, ऋण लगानी गरेको, विवरण पर्याप्त नराखेको, पाकेको ब्याजलाई आम्दानीमा देखाउनुपर्नेमा उठेपछि मात्रै लेखांकन गर्ने गरेको लगायत कारण लेखा परीक्षण प्रतिवेदनमा आफ्नो असहमति रहेको स्पष्ट पारेको छ ।
त्यसैगरी २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा पनि लेखा परीक्षकले फरक मत राखेको छ । लेखा परीक्षकले लेखा परीक्षणका लागि आवश्यक वित्तीय विवरण नराखेको र लेखा परीक्षण प्रतिवेदनका लागि आवश्यक मापदण्ड समेत पूरा नगरेको अपिनियन दिएको छ ।
स्याकार कम्पनीले २०७९/८० मा बैंक तथा वित्तीय संस्थाबाट ७० करोड ऋण लिएको छ । त्यस अवधिमा कम्पनीले १ अर्ब ६० करोड ऋण लगानी गरेको छ भने १ अर्ब ४९ करोड रुपैयाँ सापटी दिएको वित्तिय विवरणमा उल्लेख छ ।

उक्त अवधिमा पनि ऋण लगानीबाट भएको आम्दानी विवरण लेखा परीक्षण प्रतिवेदन उल्लेख छैन । त्यसैगरी अवधिमा स्याकार कम्पनीले बैंकहरूबाट ओरभड्राफ्ट र टर्म लोन गरेर करिब ४२ करोड कर्जा लिएको छ ।
स्याकार कम्पनीले २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा ५३ करोड बराबर छ । त्यस अवधिमा पनि कम्पनीले डेढ अर्ब सापटी लगानी गरेको छ । त्यसबाट भएको आम्दानी यो वर्ष पनि कम्पनीले देखाएको छैन ।
कम्पनीले अन्य लगानीबाट भएको आम्दानीलाई वित्तीय आम्दानी शीर्षकमा राखेको छ । उक्त शीर्षकमा कम्पनीको आम्दानी ७ करोड ८२ लाख छ । त्यस अवधिमा कम्पनीले अन्य कम्पनीको सेयरमा मात्रै २ अर्ब २१ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ ।
सेयरमा भएको लगानी र वित्तीय आम्दानी हेर्दा ऋण लगानीबाट भएको आम्दानीलाई कम्पनीले लुकाएको ती अधिकारीको भनाइ छ ।
‘कम्पीको वित्तीय विवरणमै छलकपट गरेको स्पष्ट हुन्छ,’ ती अधिकारीले भने, ‘लेखा परीक्षक थोरै भए पनि व्यावसाययिकता देखाएको हुनाले पनि यो बाहिर आएको हो ।’
ज्योति समूहले धेरै ब्याजदर माग गर्दै बैंक तथा वित्तीय संस्थाबाट ल्याएको ऋण पुन: लगानी गर्दा परेको विवाद अदालतसम्म पुगेका छन् । ब्याज लेनदेन सम्बन्धी र कर छलीका मात्रै करिब दर्जनभन्दा धेरे मुद्दा अदालतमा रहेको ती अधिकारीले बताए ।
अदालतले मुलुकी देवयानी संहिता अनुसार ब्याज भुक्तानी गर्न फैसला गरेको अवस्थामा पनि ज्योति समूहले धेरै ब्याज माग दाबी गर्दै बसेको अवस्था छ । पछिल्लो समय ज्योति समूहको गतिविधि हेर्दा ऋण दिएका बैंक तथा वित्तीय संस्थालाई समेत अप्ठेरो पर्ने ती अधिकारीको भनाइ छ ।
‘ब्याजदरमा कुरा नमिलेर ऋण दिएको पैसाको साँवाब्याज उठेको छैन,’ ती अधिकारीले भने, ‘ऋण दिएको पैसा नउठेपछि बैंक तथा वित्तीय संस्थाका ऋण भुक्तानी समेत समस्यामा पर्ने जोखिम उच्च छ ।’
स्याकार कम्पनीले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पुन: लगानी गरेर दुरुपयोग गरेको देखिन्छ । यसरी ऋण दुरुपयोग गर्दा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार १० लाख रुपैयाँ जरिबाना सहित १२ वर्षसम्मको सजाय हुने व्यवस्था छ ।
ज्योति समूहलाई बैंकिङ कसुर तथा सजाय ऐन पनि आकर्षित हुने देखिन्छ । कुनै पनि व्यक्ति वा संस्थाले राष्ट्र बैंकको अनुमतिविना ऋण दिन नपाउने व्यवस्था रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
‘ऋण नै दिन नपाउने व्यवस्थामा बैंकबाट ऋण लिएर त्यो रकम पुन: लगानी गर्दा दोहोरो कसुर देखिन्छ,’ ती अधिकारीले भने, ‘कर कार्यालयमा यस्तो गतिविधि भएको जानकारी गराएको खण्डमा राष्ट्र बैंकले आवश्यक काम कारबाही अघि बढाउने छ ।’
ज्योति ग्रुपका अध्यक्ष डा. रूप ज्योति अध्यक्ष रहेको स्याकार कम्पनीमा उनका छोरा अभिक र छोरी सुरुची सञ्चालक छन् । स्याकारले हाल फिलिप्स कम्पनीका अडियो र भिडियो प्रडक्टको आयात तथा बिक्री वितरण गर्छ । यो कम्पनी फिलिप्सको नेपालका लागि अधिकारिक डिलर तथा खुद्रा विक्रेता हो ।
त्यस्तै घरायसी उपकरण बिक्री वितरण तथा भान्साका सामग्री बिक्री वितरण गर्दै आएको छ । साथै, बच्चाका लागि आवश्यक उत्पादन पनि आयात तथा बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया 4