News Summary
Generated by OK AI. Editorially reviewed.- कोकाकोला उत्पादन तथा वितरक बोटलर्स नेपाल बालाजुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
- बोटलर्स नेपाल तराईले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
- दुवै कम्पनीको बिक्री आम्दानी र प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।
२८ कात्तिक, काठमाडौं । कोकाकोला उत्पादन तथा वितरक बोटलर्स नेपालका दुवै कम्पनीको नाफा उल्लेख्य बढेको छ ।
सञ्चालित दुई प्लान्ट सम्बद्ध कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो । बोटलर्स नेपाल बालाजुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८ करोड ४३ लाख रुपैयाँ थियो ।
बिक्री आम्दानी बढ्दा नाफामा उल्लेख्य प्रभाव परेको छ । बिक्री आम्दानी पहिले ३ अर्ब रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६९ करोड रुपैयाँ छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ ।
वार्षिक प्रतिसेयर आम्दानी ६०८ रुपैयाँ छ । पहिले यस्तो आम्दानी १५८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३,३५० रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १६ हजार रुपैयाँ छ ।
त्यस्तै बोटलर्स नेपाल तराईको पनि नाफा उल्लेख्य बढेको छ । चितवनमा सञ्चालित यो प्लान्ट सम्बद्ध कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ८ करोड १८ लाख रुपैयाँ थियो ।
बिक्री आम्दानीले नै नाफामा सकारात्मक प्रभाव पारेको छ । बिक्री आम्दानी गत आवको पहिलो त्रैमासमा २ अर्ब २ करोड रुपैयाँ रहेकोमा यो आवको पहिलो त्रैमासमा २ अर्ब ६१ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९०५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३,१४२ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १० हजार ८०० रुपैयाँ छ ।
प्रतिक्रिया 4