२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति १२ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-६ स्थित आफ्नै निवासबाट पक्राउ परे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रसाईंलाई पक्राउ गर्न मध्यराति उनको निवास पुगेको थियो । ठूलो संख्यामा पुगेको प्रहरी टोलीलाई सुरुमा प्रसाईंका मान्छेले गेट खोल्न मानेनन् । तर प्रहरीले अन्तिमसम्म अनुरोध गरेपछि गेट खुल्यो । प्रसाईं पक्राउ परे ।
जतिखेर प्रसाईं पक्राउ परे, त्यसको करिब ६ घण्टाअघि उनले प्रहरीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीमाथि भएको आक्रमण अझै कम भएको भन्दै प्रहरीप्रति प्रसाईं आक्रोशित भएका थिए ।
सोमबार साँझ प्रसाईं निवासबाट प्रहरीले केही पर्चा लगेको थियो । उक्त पर्चा लगेपछि आक्रोशित बनेका प्रसाईंले एक भिडियोमार्फत प्रहरीलाई गाली गरेका थिए ।
‘म तिमीहरू (प्रहरी)को तलब एक लाख पुर्याउनुपर्छ भन्ने मान्छे । अनि, मेरै घरमा आएर त्यो पर्चा किन लानुपर्यो? यिनीहरूलाई कुटाइ अझै पुगेको रैनछ । अस्ति जेनजी आन्दोलनमा कपडा खोलेर भकुरेका थिए । हो, त्यस्तै गर्नुपर्ने रैछ क्या,’ प्रसाईंले भनेका थिए ।
प्रसाईं पक्राउ पर्नुमा प्रहरी विरुद्धको यो अराजक अभिव्यक्ति नै कारण बनेको हो त ? भन्ने आशंका जन्माएको छ । कतिपयले उनी पक्राउको कारण यही अभिव्यक्ति रहेको आशंका पनि गरेका छन् ।
तर, प्रसाईं पक्राउ पर्नुमा यो नै मुख्य कारण भने होइन । पछिल्लो एक साता उनले निरन्तर रूपमा दिएका अभिव्यक्तिले सुरक्षा जोखिम बढाउने सुरक्षा निकायको ब्रिफिङ र केन्द्रीय सुरक्षा समितिमा उठेको विषय मुख्य रहेको बताइन्छ ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा करिब तीन घण्टा लामो समयसम्म केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । बैठकको निर्णय सुनाउँदै गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले भनेका थिए, ‘हिंसा भड्काउने, जनतालाई आतंकित बनाउने लगायतका गतिविधि निस्तेज पार्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय भएको छ ।’
काफ्लेले हिंसा भड्काउनेलाई निस्तेज पार्ने निर्णय भएको बताए पनि कोही कसैको नाम उल्लेख गरेका थिएनन् । तर छलफलमा सहभागी एक सुरक्षा निकायका प्रमुखका अनुसार हिंसा भड्काउने समूहले त्यतिबेला बैठकमा दुर्गा प्रसाईंको विषय उठेको थियो ।
पछिल्लो समय उनले निरन्तर दिएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पुर्याउने, आतंकित पार्ने किसिमको देखाएकाले उनलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने सुरक्षा निकायको ब्रिफिङ थियो । सुरक्षा निकायको ब्रिफिङपछि हिंसा भड्काउनेलाई निस्तेज पार्ने निर्णय भएको थियो । यो निर्णय भएको दुई दिनपछि नै प्रसाईं आफ्नै निवासबाट पक्राउ परे ।
प्रसाईंका विवादित अभिव्यक्ति, जसले पुर्यायो हिरासत
प्रसाईंले बम पड्किनेदेखि राजमार्ग ठप्प पार्नेसम्मको अभिव्यक्ति दिँदै आएका थिए । पछिल्लो एक सातामा प्रसाईंले अन्तर्वार्तादेखि सामाजिक सञ्जाल र युट्युबमार्फत अराजक अभिव्यक्ति दिँदै आएका थिए ।
केही दिनअघि मात्रै प्रसाईंले बम पड्किउनेसम्मको अभिव्यक्ति दिएका थिए । उनले काठमाडौं महानरपालिकाका मेयर बालेन शाहले दूतावासमा बम पड्काउने योजना बनाएको दाबी गर्दै अभिव्यक्ति दिए ।
‘मंसिर ७ गते बालेन शाह र उनको टिमले रसियन दूतावास, चिनियाँ दूतावास र अरू दुई/चार वटा दूतावासमा बम पड्काएर दुर्गा प्रसाईंले गराएको हो भन्ने षड्यन्त्र गरिँदैछ । यो मलाई हिजो आएको सूचना हो,’ प्रसाईंले भनेका थिए ।
केही समयअघि प्रसाईंले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि त्यस्तै किसिमको अभिव्यक्ति दिएका थिए ।
अहिले चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सार्न भन्दै पारस खड्कालाई सार्वजनिक रूपमा उनले आग्रह गरेका थिए । ‘मैले एनपीएल १५ दिन पछि सार्न पारसलाई भनें, तर मानेनन् । पहिला देश बचाऔं, क्रिकेट त पछि खेले पनि हुन्छ नि,’ प्रसाईंले भनेका थिए ।

यति मात्रै होइन, ७ मंसिरदेखि सम्पूर्ण देश ठप्प हुने, राजमार्ग ठप्प हुने र कसलाई के-के चाहिने पहिल्यै किनेर राख्न पनि प्रसाईंले भनेका थिए । उनका यस्ता अभिव्यक्तिले जनमानसमा त्रास उत्पन्न गरेको र सार्वजनिक शान्तिमा खलल पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् ।
सोमबार मात्रै प्रसाईंले आन्दोलनको सम्पूर्ण तयारी पूरा भएको बताएका थिए । ‘आन्दोलन गर्न पाँच हजार मान्छे तयार छन् । फस्ट कमान्डर, सेकेन्ड कमान्डर, थर्ड कमान्डर सबै खटिइसकेका छन् । मेचीदेखि महाकालीसम्म सबै तयारी भइसक्यो,’ प्रसाईंले भनेका थिए ।
भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने बताएका थिए । त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
२६ कात्तिकमा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका तर्फबाट गृहमन्त्रीसँग छलफल भएको थियो । जहाँ उनीहरूले २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएर आएपछि ७ मंसिरअघि नै माग पूरा भए आन्दोलन रोकिन नत्र आन्दोलन हुने चेतावनी महाअभियानले दिएको थियो ।
उनीहरूले संविधान खारेजदेखि ऋण मिनाहासम्मका माग राखेका थिए । तर आन्दोलन गर्ने मिति नआउँदै प्रसाईंलाई प्रहरीले पक्राउ गर्यो ।
सरकारले प्रत्येक दिन लिएको थियो सूचना
उच्च सरकारी स्रोतका अनुसार, प्रसाईंका पछिल्ला एक महिनायताका सूचना सरकारी संयन्त्रले लिइरहेको थियो । प्रसाईंले निजी सुरक्षाको रुपमा ५० जना युवाहरुलाई खटाएको रिपोर्ट गृह हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो ।
रातको समयमा प्रसाईंले आफ्नो सुरक्षाका लागि निजी निवासमा ५० बढी युवा खटाएको र ती सबैजसो नयाँ अनुहार रहेको सूचना सरकारी निकायले लिएको थियो ।
प्रसाईंले आफ्नो आईटी विज्ञको रुपमा भने दुई जना मान्छे समेत राखेको सुरक्षा निकायको दाबी छ । जामरको प्रयोग गरेर मोबाइल नेटवर्क अफ गराउने र फोन नलाग्ने बनाई सर्म्पकबिहिन बनाउनेसम्मको कामहरू समेत भएको रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लिएको थियो ।

प्रसाईंले मंसिर ७ मा हुने प्रदर्शनमा सहयोग गर्न जेनजी समूहका दुई व्यक्तिसँग सहयोग माग गरेको रिपोर्ट पनि सुरक्षा निकायले बुझाएको गृह मन्त्रालय स्रोतले बतायो ।
त्यसैगरी आन्दोलनमा प्रसाईंले मुख्यगरी काठमाडौंका सुकुम्बासी बस्ती र कवाडी व्यवसायीहरूलाई प्रयोग गर्नसक्ने सुरक्षा निकायको बुझाइ थियो ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा ४ दिन म्याद
अराजक अभिव्यक्तिका कारण पक्राउ परेका प्रसाईं अब कम्तीमा चार दिन प्रहरी हिरासतमा रहने छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
प्रसाईंले बोलेका अभिव्यक्ति सार्वजनिक शान्ति भंग गर्ने किसिमको रहेकाले सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता भट्टराई बताउँछन् ।
‘अभिव्यक्ति स्वतन्त्रताको नाममा उहाँले दिनुभएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पुग्ने देखिन्छ,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने, ‘जसअनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अघि बढाएका हौं ।’
उनी पक्राउ परेपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएको छ । सोहीअनुसार अहिले सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने बताएका थिए । त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । तर अहिलेसम्म आन्दोलन भने भएको छैन ।
चौथो पटक पक्राउ
दुर्गा प्रसाईं पक्राउ परेको यो चौथो पटक हो । यसअघि उनी भारतको आसामबाट पक्राउ परेका थिए । १५ चैत २०८१ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए ।
तीनकुनेमा भएको राजावादी प्रदर्शनमा दुई जनाको ज्यान जानुका साथै व्यक्तिका सम्पत्तिहरूमा तोडफोड, आगजनी, लुटपाट भएको थियो ।
त्यसपछि भागेर उनी भारत पुगेका थिए । २८ चैतमा प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई पक्राउ गरेको थियो ।
उनीमाथि कर्तव्य ज्यानदेखि ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रवको मुद्दा चलाइएको थियो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि उनी डिल्लीबजार कारागार चलान भएका थिए ।
तर, उच्च अदालतले जिल्लाको आदेश उल्ट्याउँदै छाड्न आदेश दिएपछि १९ साउनमा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
प्रसाईं यसअघि ४ मंसिर २०८१ मा पक्राउ परेका थिए । उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो ।
त्यतिबेला उनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका थिए । ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब लगानी गरेको आरोप लगाएका थिए ।
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा चलाइएका प्रसाईं त्यतिबेला धरौटीमा रिहा भएका थिए ।
यसअघि ६ असोज २०८१ मा प्रसाईंलाई साइबर ब्युरोकै टोलीले पक्राउ गरेको थियो । जीवन पाण्डे र प्रकाशचन्द्र दाहालले उजुरी दिएपछि प्रसाईं पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
त्यतिबेला पनि उनी सामान्य धरौटीमा रिहा भएका थिए । उनी एक वर्षको अवधिमै चौथो पटक पक्राउ परेका हुन् ।
प्रसाईंविरुद्ध यसअघि दुई वटा साइबर कसुरको मुद्दा, सम्पत्ति शुद्धीकरण, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रवको कसुर र अहिले सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलेको छ ।
प्रतिक्रिया 4