+
+
Shares

बुटवलको ब्यापार महोत्सव विवादमा चार संस्थाबीच सहमति

बुटवल उपमहानगरपालिकाको सहजिकरणमा विवादको समाधान भएपछि रुपन्देही उद्योग संघले यस वर्षको औद्योगिक प्रदर्शनीको तयारी सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १२:४२

२ मंसिर, बुटवल । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा हरेक वर्ष पुस पहिलो हप्ता शुरु हुने औद्योगिक प्रदर्शनी तथा ब्यापार महोत्सव आयोजनाका विषयमा लामो समयदेखि जारी विवादमा सहमति भएको छ ।

बुटवल उपमहानगरपालिका र बुटवलका प्रमुख चार व्यवसायिक संस्था बीच आलोपालो महोत्सव सञ्चालन गर्ने सहमति भएको हो । चार संस्था मध्ये रुपन्देही उद्योग संघ र उद्योग ब्यापार संघ बुटवलले यस वर्षको महोत्सवमा आआफ्नो पालो भन्दै दावी गरेपछि विवाद बढेको थियो । शुरुमा उद्योग ब्यापार संघ बुटवलले महोत्सवको तयारी गरेको भएपनि पछि रुपन्देही उद्योग संघले पनि आफ्नो पालो औद्योगिक प्रदर्शनीको तयारी थालेपछि विवाद बढेको थियो ।

दुवै संस्थाले एकै थलोमा ब्यानर र बोर्ड टांगेर आफ्नो पालो भन्दै अडान नछाडेपछि महोत्सव नै अनिश्चित भएको थियो । यस विवादमा बुटवल उपमहानगरपालिकाले चार वटा संस्थाबीच समन्वय गरेर पटकपटक वार्ता र छलफल गरी सहमतिको विन्दुमा ल्याएको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए।

बुटवलमा उद्योग बाणिज्य संघ,रुपन्देही उद्योग संघ र रुपन्देही ब्यापार संघले आलोपालो महोत्सव गर्दै आएकामा उद्योग व्यापार संघले पनि पुषमा हुने महोत्सवमा पालो पाउनुपर्ने माग गर्दै आएको थियो । तर पुराना तीन संस्थाले दिएका थिएनन् ।

यसपटक भने उद्योग ब्यापार संघले तीन संस्थाको सिण्डिकेट मान्य नहुने भन्दै स्थानीय,प्रदेश र संघ सरकारसम्म डेलिगेसन गई दवाव सिर्जना गरर अडान नछाडेपछि बुटवल उपमहानगरपालिकाले चार संस्थाबीच सहजिकरण गरेर सहमति जुटाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

सहमति अनुसार २०८२ को पुषको औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले,२०८३ को ब्यापार मेला उद्योग ब्यापार संघ बुटवलले,२०८४ को ब्यापार मेला रुपन्देही ब्यापार संघले र २०८५ सालको मेला बुटवल उद्योग वाणिज्य संघले आयोजना गर्ने सहमति भएको छ । २०८५ पछिका औद्योगिक प्रदर्शनी र मेला महोत्सव पनि यही अनुसार चार संस्थाबीच क्रमश: आलोपालो प्रणालीमा चार संस्थाबीच सहमतिका आधारमा सञ्चालन हुने रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले बताए ।

१६औं औद्योगिक प्रदर्शनीको तयारी

बुटवल उपमहानगरपालिका र चार संस्थाबीच महोत्सव आयोजनाका विषयमा उत्पन्न विवादको समाधान भएपछि रुपन्देही उद्योग संघले यस वर्षको औद्योगिक प्रदर्शनीको तयारी शुरु गरेको जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी चार संस्थाबीच आपसी सहमतिमा विवाद टुंगिएकाले प्रदर्शनीको तयारी पुन: शुरु गरेको जनाएको छ ।

संघले पुस ३ देखि १७ गतेसम्म १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सञ्चालन गर्ने अध्यक्ष कृष्ण पराजुलीले बताए ।

बुटवल मण्डपमा निर्माणाधिन प्रदर्शनी स्थलमा सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनका ५ सय स्टल रहने उनले बताए ।

अवलोकनकर्ताको सहजताका लागि प्रदर्शनीमा छुट्टाछुट्टै १० वटा पेभिलियन रहने उनले बताए । प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन र प्रविधि मात्र समावेश हुने उनले बताए । प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तास“ग सोझो सम्पर्क स्थापित गराउ“दै नयां उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा अध्यक्ष पराजुलीले बताए ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी,छाला जुत्ता, खाद्यान्न, आइटी लगायतका करिब ५ सय स्टलहरु रहने तथा करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोवार हुने अनुमान गरिएको सघका महासचिव सुमन बस्यालले जानकारी दिए ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता,नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्यकलाकार,स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता,कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता,प्रदर्शनी आइडल, टिकटक प्रतियोगिता आदि रहने बस्यालले बताए ।

प्रदर्शनी सम्पन्न गर्न मुल समिति,विशेष सल्लाहाकार समिति,सल्लाहकार समिति,विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिने वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?