३ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा मा म्याच फिक्सिङको प्रस्ताव भएको खुलेको छ ।
एनपीएल खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडी घर भइ भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।
उनीहरूलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले एनपीएल खेलिरहेका खेलाडीहरूलाई म्याच फिक्सिङको प्रस्ताव गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।
ती अधिकृतका अनुसार यो समूहले एक खेलाडीलाई रन आउट हुन प्रस्ताव गरेका थिए । रन आउट भइदिएबापत ती खेलाडीलाई एक करोड रुपैयाँ दिने प्रस्ताव गरिएको थियो ।
तर ती खेलाडीले मानेनन् । यसबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले यो सबै सूचना लिएपछि म्याचफिक्सिङको प्रस्ताव गर्ने उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूले बेटिङ पनि खेलाउने गरेको प्रहरीले बताएको छ । सामाजिक सञ्जाल ह्वाट्स एप र इन्टाग्राममार्फत सम्पर्क गरी उनीहरूले बेटिङ खेलाउने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

अनुसन्धान अधिकृतका अनुसार अहिले पक्राउ परेकी युवतीले नै इन्टाग्राममार्फत एनपीएल खेल्ने ६/७ जना खेलाडीलाई सम्पर्क गरेकी थिइन् । उनले आफूले खेलाडीहरूलाई स्पोन्सर गर्ने गरेको बताएकी थिइन् ।
म्यासेज गरिएकामध्ये एक खेलाडीले ती युवतीलाई जवाफ पनि फर्काएको पाइएको छ ।
त्यसपछि ३० कात्तिकमा ती युवती अर्का युवक दिलप्रितलाई लिएर काठमाडौंमा आएकी थिइन् । काठमाडौं आएपछि रिप्लाई गरेका ती खेलाडीलाई पुन: युवतीले सम्पर्क गरी होटलमा भेट्न बोलाइन् । तर खेलाडीले आफू बाहिर जान नमिल्ने भन्दै आफू बसेकै होटलमा बोलाएका थिए ।
१ मंसिरमा खेलाडी र म्याचफिक्सिङको प्रस्ताव गर्ने युवती र भारतीय युवकबीच भेट भएको प्रहरी अनुसन्धानबाट समेत खुलेको छ । भेटको क्रममा ‘कस्तो स्पोन्सर हो ?’ भन्दै खेलाडीले सोधेपछि उनीहरूले रन आउट भइदिएबापत एक करोड पाउने प्रस्ताव गरेका थिए ।
यस्तो प्रस्ताव आएपछि ती खेलाडीले आफ्नो टिममा यो कुरा सुनाएका थिए । १ मंसिरमा यो सूचना अपराध अनुसन्धान कार्यालय टेकुमा खेलाडीहरूले गराएका थिए । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया 4