+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares
कुइनेटो :

च्याङ्फाले गोरु खेद्‌यो

नवीन विभास नवीन विभास
२०८२ मंसिर ४ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको जैपा गाउँमा भटभटे नामक हाते टेक्टरले हलो जोत्ने परम्परा परिवर्तन गरेको छ।
  • परिवर्तन गाउँपालिकामा सयभन्दा बढी भटभटे रहेका छन् र किसानलाई ५० देखि ७५ प्रतिशत अनुदानमा टेक्टर उपलब्ध गराइएको छ।
  • रोल्पा–रुकुम क्षेत्रमा महिलाले जोत्ने संख्या जनयुद्धपछि चौगुनिएको र अहिले टेक्टरले खेतीपातीमा सहजता ल्याएको छ।

भटभटेले जोत्न थालेपछि कम्द वरपरको वातावरण नै फेरिएको थियो । कम्पोष्ट मलको बदला रासायनिक मल थियो । रासायनिक मलले माटो चाम्रिएको थियो । माओवादी झार मौलाएको थियो ।

पश्चिमोत्तर रोल्पाको कुनामा अवस्थित सानो गाउँ जैपा । मगर (पुन, बुढा, थापा), क्षेत्री (ओली, खड्का, दाहाल खत्री) र ठकुरी (चन्द) मिश्रित गाउँ ।

जैपाको ठुन्केपाटामा ‘भटभट भटटट भटभट भटटट’ आवाजसाथ पिरो धुवाँ फाल्दै ‘भटभटे’ हल्लँदै हिंडिरहेको थियो । भल्दको पुच्छर निमुठ्दै हिंडेजसरी भटभटेलाई अँठ्याएर प्रेमकुमारी घर्ती पुन (४०) पनि हल्लँदै हिंडिरहेकी थिइन् । गुन्युँचोलो लगाएकी, गादा पारेकी र कपाले गुथेकी प्रेमका कुनै बेला एउटा हात हलोको अनौ र अर्को हातमा पैएको लौरा समाएर भल्द हक्काउँदै भल्द जोत्थिन् । अहिले भने प्रेमका दुवै हात भटभटेको ‘ह्याण्डिल’मा थिए ।

‘छेउ झुले छेउ, साटा हेर काल्गिरे साटा हेर, उधो हेर कौरे, तिल्के उधोउधो, मटिङ्रे उमोउमो’ भनेर भल्द हक्काउँदै जोत्ने प्रेम चुपचाप थिइन् । भलै उनको जीउ भटभटे जसरी नै हल्लिरहेको थियो ।

असोज अन्तिम साता जैपाली प्रेमहरू कम्द जोत्न व्यस्त थिए । कोहीले भटभटे जोत्दैथिए, कोहीले भटभटेको खान्की डिजल (कोही जर्किनमा त कोही जम्बो कोकको बोतलमा) बोकेर कम्दतिर लाग्दैथिए । कोही भटभटेलाई चारो (पैसा) हाल्न साहु गुहार्दै थिए । भल्दले बेलाबेलामा हुङ्कार्ने हक्क्वाँ र हलारीले हक्काउने ‘झुले, प्वाले, माले, तिल्के, कौरे, माले, जुर्माले, फुर्के, पाते, छिप्रे’सँगै गुञ्जने रोल्पाली रैथाने गीत ‘बरै’को बदला भटभट भटटट ‘र्‍याप’ बज्दैथियो ।

जैपाका कम्दमा भटभट भटट गर्ने ‘भटभटे’ हाते टेक्टर थियो । धेरै अघि दाङ देउखुरी पुगेको भटभटेलाई किसानले ‘च्याङ्फा’ नाउँ दिएका थिए ।

भटभटेको ह्याण्डिल समातेकी प्रेम काकुकी कान्छी बुहारी थिइन् । मेरो बाबै जेठा, काकु कान्छा । कुनै बेला यही ठुन्केपाटा जोत्दा प्रेमपति पञ्चराम, प्रेमका जेठाजु प्रकाश हलारी हुन्थे । काकु र सान्जी सहित दुईरतीन जना डल्ला फोड्ने कोदाले हुन्थे । कोदालेले डल्ला फोड्थे । कम्दको छेउघारी र राँटा खन्थे । जैपा सेरोफेरोमा ‘जैपाढाराको ल्ह्वाँटे माटो, पेटले माग्छ तातो’ भन्ने किस्सा नै थियो । जैपाको रातो र ल्ह्वाँटे माटो जोत्दा ठूलाठूला डल्ला उठ्थे ।

ठुन्केपाटादेखि दुई कम्दमास्तिर बाँसहोनेपाटा थियो । ठुन्केपाटा काकुको थियो, बाँसहोनेपाटा बाबैको । कहिले बाबैलाई सघाउन काकुका भल्द बाँसहोनेपाटा उक्लन्थे त कहिले बाबैका भल्द काकुलाई सघाउन ठुन्केपाटा ओर्लन्थे ।

ठुन्केपाटा पूर्वपट्टि ठीक पारि डल्लुगैरा, स्यान्गोरी, काफलढारा, मझौढारा वनका रूख उसैगरी सेना उभिए जसरी उभिएका थिए । पश्चिमपट्टि रप्पातल, कुक्खरागर्खने, सल्लाभीर, चक्लीगैरा जस्ता वन, उत्तरमा खर्गैरा, जुरेपोख्रा, सर्बरयाज ठूल्गोरीका रूख भने ‘हावाताल’मा पैसरी नाचिरहेका थिए ।

जैपा माझडेराको ठुन्केपाटा । माझडेरामा पोनै पोन थिए (लेख्यमा पुन) । टोल त जैपा पुग्दा डेरा भएको थियो । रोल्पाबाट अझ पश्चिम पुगे बारा हुन्थ्यो । गाउँघरमा अहिले पनि सोध्थे, ‘तम्रो डेराबाराको हालचाल कस्तो छ ? अगतिलो मानिस पसे भने डेराबारा बिगार्छन् है, ख्याल गरे ।’ माझडेराका पोन बस्तीमास्तिर एक्ले पोनडेरा थियो । कुनै बेला राङ्सीबाट आएकाले शायद एक्लो थिए, नाउँ नै एक्ले पोनडेरा । पोनडेरा मास्तिर ओखरबोट ।

ओखरबोट मास्तिर रङ्नाम । रङ्नामका दुई उपडेरा थिए– ओल्डेरा (ओलीडेरा) र खर्काडेरा (खड्काडेरा) । माझडेराको पश्चिमपट्टि च्हुमाङ्ङे डेरा (लिखतमा चुनबाङ्ङे डेरा) थियो । च्हुमाङ्ङे डेरामुनि रप्डाँरा (एक घर चन्द र एक घर थापामगर) थियो । रप्पडाँराको पूर्वपट्टि खर्तीडेरा (दाहाल खत्री) थियो । खर्तीडेराका उपडेरा थिए– बाँस्कोट, बाँठाकोप्चा, तीनदारे र भैंसागोठ ।

जैपा सेरोफेरोमा प्रेमकुमारी जस्ता महिलाले हलो जोत्नु नौलो थिएन । माओवादी जनयुद्ध शुरु नहुँदै पनि रोल्पा रुकुमका महिलाले जोत्थे । भलै संख्या सानो थियो । कालापार (भारत)बाट पुरुष नफर्केपछि खेतीपाती लगाउन महिलाले नजोती सुख थिएन । रोल्पा–रुकुममा तात्कालीन संयुक्त जनमोर्चा विरुद्ध ‘मुद्दा–खेती’ शुरु भएपछि जोत्ने महिला बढे । युद्ध शुरु भएपछि त्यो संख्या चौगुनियो । वैदेशिक रोजगारको हावा चलेपछिको के कुरा गर्नु । रोल्पा, रुकुममा भटभटे पसेपछि भने महिलाले जोत्ने सन्दर्भ नै सकियो ।

पहिले पहिले हर घरधुरीले कम्तीमा एक हल भल्द पाल्थे । अंशबण्डालगत्तै हल भल्द जोड्थे । संवेगले सुनाए, ‘अहिले त दाजुभाइ छुट्टिए भने टेक्टर पो किन्छन् ।’

भटभटेले ठुन्केपाटा जोतिरहेको बेला कोही ‘हलारीलाई अर्नी लिएर आऊ’ भनिरहेका थिएनन् । घाँस काट्न भनेर कोही किमुको रूख वा कोइरालाको रूख चढेका थिएनन् । भटभटेले जोत्न थालेपछि कम्द वरपरको वातावरण नै फेरिएको थियो । कम्पोष्ट मलको बदला रासायनिक मल थियो । रासायनिक मल हाल्न थालेपछि माटो चाम्रिएको थियो । माओवादी झार मौलाएको थियो । वनमारालाई माओवादी झार भन्थे । माओवादी सँगसँगै गाउँ पसेको यो झार माओवादी जसरी एक्कासी मौलाएकोले पनि माओवादी झार नाम दिए । गाउँघरमा मिचाहा प्रजातिका झार मौलाएका थिए ।

जैपा र रपालाई वारिपारि पारेर च्हुमाङ (चुनबाङ) गार भने उसैगरी बेतालले बगिरहेको थियो । यति बेतालले कि, यसरी नबगे त मारीचौर वरपर मारी (माडी) नाम पाउने साइत घर्कने छ । यति बेतालले कि, भालुबाङ पुगेपछि रापती नै भन्दैनन् । ऐरापति त भन्न छाडिसकेका थिए ।

जैपामा प्रेमले सात वर्षयता भटभटे जोतिरहेकी थिइन् । जैपा माझडेरामा मुश्किलले चार हल भल्द बचेका थिए । प्रेमका जेठाजु प्रकाशले औंला भाँच्दै गने, ‘पर स्हेला भेरपाटे भेनाको दुई हल, तल्ती बबिको एक हल र मात्थि रातेको एक हल । यत्ति हुन्, हाम्रो टोलमा बचेका भल्द ।’

जैपामा चालीस हाराहारी घरधुरी थिए ।

सातै वर्ष भयो, प्रेम र उनको जेठाजु प्रकाशले हल भल्द, केही थान गाई र केही थान भैंसीलाई भकाराबाट विदा गरेको । भकारामा बाख्रा मात्र बाँकी थिए ।

रोजीरोटीको लागि कालापार (भारत) जाने रोल्पा/रुकुममा ‘संस्कृति’ भइसकेको ‘चलन’ तन्केर साउदी–मलेशिया पुगेको थियो । प्रकाशको लर्के जोवन कतारमै कट्यो । विदेशिने संस्कृतिले सोहोरेर प्रेमपतिलाई पञ्चराम साउदी अरेबिया हुँदै अहिले रोमानिया लगेको थियो, प्रकाशपुत्रलाई साउदी र पुत्रीलाई जापान । उनको टोलबाट दुई युवा तल्लो बाटोबाट अमेरिका पनि पसेका थिए । बाँकी साउदी, मलेशिया, कतार र कालापार (भारत)मा थिए ।

चुनबाङ, रुकुम (पूर्व)सँग जोडिएको प्रेमको परिवर्तन गाउँपालिकामा ६ वटा वडा थिए । एउटा वडामा कम्तीमा २० वटा भटभटे थिए भने पालिकाभरि सयभन्दा बढी (परिवर्तन गाउँपालिका प्रवक्ता एवं वडाध्यक्ष संवेग मगरसँगको कुराकानी) । प्रवक्ता संवेग सुनाउँदै थिए, ‘चार/पाँच परिवार मिलेर एउटा हाते टेक्टर किन्ने चलन नै चलेको छ ।’

जैपाका कम्दमा भटभट भटट गर्ने ‘भटभटे’ हाते टेक्टर थियो । धेरै अघि दाङ देउखुरी पुगेको भटभटेलाई किसानले ‘च्याङ्फा’ नाउँ दिएका थिए । शायद सबभन्दा पहिले चिनियाँ च्याङ्फा नामक टेक्टर किसानकहाँ पुग्यो ।

फलफूल लगाएको कम्दमा भल्दले जोत्न नमिलेर च्याङ्फा भित्रिएको प्रसंग उप्काउँदै प्रवक्ता संवेगले दाबी गरेथे, ‘टेक्टरले किसानलाई सजिलो मात्र पारेको छैन, अन्न उत्पादन पनि बढाएको छ ।’ प्रवक्ता संवेगले सरकारी कृषि आधुनिकीकरण सम्झिए । संवेगका अनुसार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा सरकारले किसानलाई च्याङ्फा दिएको थियो ।

रोल्पाका कृषि ज्ञानकेन्द्र, भेटनरी र पालिकाहरूले च्याङ्फा मात्र होइन, फलफूलका बेर्ना पनि अनुदानमा बाँडेका थिए । फलफूलमा प्राय: कागती र सुन्तला थिए । बाँडिएका फलफूल स्थानीय जातका थिएनन् । विकासे थिए । हाइब्रिड थिए । यति विकासे बाँडिए, कति कागती त भोगटे भएर फले । पत्रकार खेम बुढा मगर सुनाउँदै थिए, ‘अनुदानको कागती भनेर रोपेको त भोगटे पो फल्यो ।’ खेमका अनुसार पश्चिम रोल्पाको कोर्चाबाङ र भाबाङ अनि दक्षिण रोल्पाको गैरीगाउँमा कागती भनेर रोपिएका कागती त भोगटे फलेका थिए ।

रोल्पा–रुकुममा तात्कालीन संयुक्त जनमोर्चा विरुद्ध ‘मुद्दा–खेती’ शुरु भएपछि जोत्ने महिला बढे । जनयुद्ध शुरु भएपछि त्यो संख्या चौगुनियो ।

पहिले पहिले हर घरधुरीले कम्तीमा एक हल भल्द पाल्थे । अंशबण्डालगत्तै हल भल्द जोड्थे । संवेगले सुनाए, ‘अहिले त दाजुभाइ छुट्टिए भने टेक्टर पो किन्छन् ।’ रोल्पा नगरपालिका र घर्तीगाउँ बजारसँग जोडिएको माडी गाउँपालिका वडा नम्बर ६ मा ४८ हल भल्द बचेका थिए (माडी गाउँपालिका वडा नं. ६ अध्यक्ष खर्कबहादुर पुनसँगको कुराकानी) । अध्यक्ष पुनका अनुसार ती भल्द पनि च्याङ्फाले जोत्न नसक्ने भिरालो कम्द जोत्नलाई बचेका थिए । ६ नम्बर वडामा ५७६ घरधुरी थिए । उनका अनुसार पहिले प्रत्येक घरधुरीले कम्तीमा १५/१६ वटा गाई भल्द पाल्थे । जसमा कम्तीमा एक हल त भल्द नै हुन्थे ।

अध्यक्ष पुनका अनुसार उनको वडामा १६ देखि २१ घरधुरीको एउटा कृषि समूह बनेको थियो । एउटा समूहमा तीन वटासम्म च्याङ्फा थिए ।

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?